१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
तिवारी यादव वीरगन्ज
२o८१ भदौ ९ आइतबार o८:११:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नारायणी रंगशालामा तीन मन्त्रीले निरीक्षण गरे, परेन बजेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार o८:११:oo

वीरगन्जको नारायणी रंगशालालाई गत आर्थिक वर्ष ०८०/८१ मा तीन मन्त्रीले अनुगमन तथा निरीक्षण गरे पनि बजेट अभावको कारण जीर्ण रहेको काम बन्न सकेका छैनन् । पूर्वअर्थमन्त्री प्रकाशशरण महत, पूर्वखेलकुदमन्त्री डिगबहादुर लिम्बू र निवर्तमान मन्त्री खेलकुदमन्त्री विराजभतm श्रेष्ठले अनुगमन तथा निरीक्षण गरे पनि रंगशाला निर्माण गर्न एकातिर बजेट विनियोजन गरिएको छैन भने अर्काेतिर चासो नै राखिएको छैन । पार्टीको कार्यक्रममा वीरगन्ज आएका उनीहरूले काठमाडौंको दशरथ रंगशालापछिको दोस्रो ठुलो रंगशाला अनुगमन र निरीक्षणका क्रममा स्तरोन्नति गर्न बजेट विनियोजना गर्ने आश्वासन  दिएका थिए । 

२५ चैतमा रंगशाला निरीक्षण गर्न आएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री श्रेष्ठले व्यक्तिवादी नभएर विधि बनाएर नीतिगत विकास गर्न आफूहरू नेतृत्वमा आएकाले रंगशालाको अवस्था परिवर्तन हुने बताएका थिए । ‘आजको दिनको खेलाडी राजनीतिक चंगुलमा गएकाले अब विधि बनाएर अगाडि बढेपछि मात्र खेल जगत्को विकास हुनेछ । अब, पूर्वाधारलाई वर्गीकरण गरेर प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ ।’

गत सालमा नै वीरगन्ज आएका मन्त्री महतले पनि जीर्ण रहेको रंगशालालाई पुनर्निर्माण गर्नका लागि बजेट हाल्न आश्वासन दिएका थिए । खेलकुदमन्त्री लिम्बूले पनि आफ्नो कार्यकालमा बजेट हाल्ने र यो रंगशालाको विकास गर्न आश्वासन दिए पनि हालसम्म कुनै काम बढ्न सकेको छैन । 

पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट ल्याए पनि खेलकुद क्षेत्रलाई खासै बजेटमा नसमेटिएको अवस्था छ । नारायणी रंगशालामा मात्र नभएर मधेश प्रदेशमा बजेट शून्य रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । परिषद्का अनुसार यो आर्थिक वर्षमा कर्णाली प्रदेशको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा बजेट मधेशमा पर्न सकेको छैन । 

प्रतियोगिता नहुँदा खेलाडीहरू निराश 
०४३ सालमा स्थापना भएको नारायणी रंगशाला अहिले स्थानीय तह, प्रदेश र संघीय सरकारको उदासीनताका कारण जीर्ण अवस्थामा पुगेको हो । तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा निर्माण गरिएको नेपालको दोस्रो नारायणी रंगशालाका पाराफिट संरक्षणको अभावमा जीर्ण बन्दा खेलाडीले गुनासो गरेका छन् । नारायणी रंगशाला र छेउमा रहेको क्रिकेट मैदान पनि ओझेलमा पर्दै गएको वीरगन्ज– १२ मुर्लीका मेराजुल हवारीले गुनासो गरे । ‘३५ वर्ष पुरानो फुटबल मैदान अहिले जीर्ण अवस्थामा पुगेको छ । सरकारले समयमा उचित मर्मत–सम्भार नगर्दा समस्या भएको हो,’ उनले भने । 

१८ बिघा क्षेत्रमा फैलिएको क्रिकेट र फुटबल मैदान जीर्ण बन्दै जाँदा वीरगन्जमा खेलकुद गतिविधिमा कमी आउनु र खेलप्रेमी निराश बन्नुको साथै राष्ट्रिय खेलाडी उत्पादनमा पनि समस्या बन्दै गएको फुटबल खेलाडी कृष्णा शाक्यले बताए । उनका अनुसार रंगशालालाई पुनर्निर्माणका लागि डिपिआर पनि तयार गरिएको छ, तर त्यो डिपिआरअनुसार काम भने हुन सकेको छैन ।

जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको छ : टंकलाल घिसिङ, सदस्यसचिव, राखेप
कतारका राजाले नेपाल भ्रमणको समयमा खेलकुदमा सहयोग गर्न देखाएको इच्छाअनुसार नै मधेश प्रदेशको नारायणी रंगशालालाई पूर्ण निर्माण गर्न सहयोग मागिएको छ । यहीँ रंगशाला निर्माण गर्न जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको छ । केही हप्ता मै परराष्ट्र मन्त्रालयमार्फत खेलकुद मन्त्रालय र परिषद्लाई जानकारी आउनेछ ।