सन् १९१६ मा अमेरिकी व्यापारी जोन डी. रकफेलर विश्वको पहिलो डलर बिलिनियर बनेका थिए । त्यसयता कसैले पनि त्योभन्दा माथिको हैसियत बनाउन सकेका छैनन् ।
धनाढ्यको धनसम्पत्तिमाथि निगरानी राख्ने एक अन्तर्राष्ट्रिय समूहको नयाँ रिपोर्टले एलोन मस्क सन् २०२७ सम्ममा विश्वको पहिलो ट्रिलिनियर (दश खर्बपति) बन्न सक्ने देखाएको छ । मस्कको धनसम्पत्ति बर्सेनि ११० प्रतिशतले बढेको हिसाबमा उनी आगामी तीन वर्षमा ट्रिलिनियर बन्न सक्ने ‘इनफोर्मा कनेक्ट एकाडेमी’को उक्त खोजले देखाएको हो । मस्क हाल विद्युतीय कार कम्पनी टेस्ला, निजी रकेट कम्पनी स्पस–एक्स र सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर)लगायत व्यवसायको नेतृत्व गरिरहेका छन् । फोर्ब्स पत्रिकाले निकाल्ने विश्वका धनाढ्यहरूको वार्षिक सूचीअन्तर्गत सन् २०२४ मा मस्क २४३ अर्ब डलरसहित सबैभन्दा शीर्ष स्थानमा छन् ।
इनफोर्मा कनेक्ट एकाडेमीको विश्लेषणले भारतीय व्यापारी गौतम अडानी मस्कपछि दोस्रो ट्रिलियनर हुने सम्भावना देखाएको छ । अडानीको धन बर्सेनि १२३ प्रतिशतका दरमा बढिरहेको र यही दर कायम रहे उनी सन् २०२८ मा ट्रिलिनियर बन्न सक्ने सम्भावना रहेको एकाडेमीले बतायो । त्यस्तै, प्रविधि फर्म ‘एनभिडिए’का प्रमुख कार्यकारी अधिकृत जेनसेन ह्आङ र इन्डोनेसियाको ऊर्जा तथा खानी व्यापारी प्रजोगो प्यानगेस्टुको पछिल्लो वर्षका सम्पत्ति वृद्धिको दर कायम रह्यो भने उनीहरू पनि सन् २०२८ भित्रै ट्रिलिनियर बन्न सक्ने एकाडेमीले बतायो । त्यस्तै सन् २०३० सम्ममा लुई भिटोजस्ता विलासी उत्पादन बिक्री गर्ने ‘एलएचएमएच’का मालिक बर्नाड आर्नोल्ट र फेसबुकको अभिभावक कम्पनी मेटाका सिइओ मार्क जुकरबर्ग सो समूहमा पर्न सक्छन् ।
पछिल्लो समय विश्वका ठुला कम्पनीको बजार मूल्यांकन दश–खर्ब (ट्रिलियन) डलर पुग्न थालेको स्थितिमा छिट्टै अरू व्यक्तिहरू पनि त्यस समूहमा पुग्ने सम्भावना बढेर गएको छ । गत अगस्टमा चर्चित अर्बपति वारेन बफेट नेतृत्वको ‘वर्कसायर हाथावे’ १० खर्ब डलर बजार मूल्य हुने कम्पनी बनेको थियो । त्यसअघि नै माइक्रोसफ्ट, एनभिडिए, एप्पल, अल्फाबेट (गुगलको अभिभावक कम्पनी), अमेजन, ‘साउदी अरामको’ र मेटा यस विशिष्ट समूहमा प्रवेश गरेका छन् ।
सन् १९१६ मा अमेरिकी पेट्रोलियम पदार्थमा झन्डै एकाधिकार बनाएका व्यापारी जोन डी.रकफेलर विश्वको पहिलो डलर अर्बपति बनेका थिए । त्यसयता कसैले पनि अर्बपतिभन्दा माथिको हैसियत बनाउन सकेका छैनन् । तथापि, विज्ञहरूले सीमित व्यक्तिमा अथाह धन जम्मा हुँदा धेरै सामाजिक बेथिति सिर्जना हुने औँल्याएका छन् । एक गणनाअनुसार विश्वका धनाढ्य एक प्रतिशत मानिसले आयका तल्लो तहमा रहेका ६६ प्रतिशतले भन्दा बढी कार्बन उत्सर्जन गर्छन् ।