१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार o६:२४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेसमा महामन्त्रीद्वय दबाबमा : गगनको प्रस्ताव सच्याइने, विश्वको हटाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार o६:२४:oo

कांग्रेसका दुई महामन्त्रीको प्रस्ताव ‘अस्वीकार’ गर्दै केन्द्रीय समितिबाट निर्णय लिने तयारी भएको छ । आगामी निर्वाचनमा गठबन्धन नगर्ने महामन्त्री गगन थापाको सच्याउने र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेताहरूको बहिर्गमनसम्बन्धी प्रस्ताव हटाएर निर्णय लिने तयारी छ । सभापति शेरबहादुर देउवा दुवै प्रस्तावको पक्षमा छैनन् । 

कांग्रेस उच्च स्रोतका अनुसार शनिबार साँझसम्म अनौपचारिक छलफलबाट शीर्ष नेताहरू यसका लागि सकारात्मक देखिएका छन् । महासमिति बैठकका प्रस्तावकर्ताहरू उपसभापति पूर्णबहादुर खड्का, महमन्त्रीद्वय थापा र शर्मा निरन्तर छलफलमा छन् । शीर्ष तहमा सहमति जुटेपछि पदाधिकारी बैठक बोलाएर छलफल गर्ने र केन्द्रीय समितिबाट निर्णय लिने तयारी छ । 

‘महामन्त्री गगन थापाको निर्वाचनअघि गठबन्धन नगर्ने प्रस्ताव भाषागत रूपमा मिलाएर सच्याउने र बहिर्गमनको विषय समसामयिक प्रस्तावसँग सम्बन्धित नभएको भन्दै निर्णयमा समावेश गर्ने विषयमा नेताहरू सकारात्मक हुनुहुन्छ । कसरी फेस सेभिङ गरेर जाने भन्ने छ,’ कांग्रेसका एक पदाधिकारीले भने । 

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेताहरूबीच अनौपचारिक छलफल जारी रहेको र निर्वाचनअघि गठबन्धनको विषय रणनीतिक बनाउने र नेताहरूको बहिर्गमनको प्रस्तावमा मध्यमार्गी निर्णयको प्रयास भएको छ । ‘महामन्त्रीद्वयको प्रस्ताव असान्दर्भिक भएको धारणा केन्द्रीय समितिमा देखिएको छ । सभापतिसहित नेताहरू सहमतिको प्रयासमा लागिरहनुभएको छ,’ उनले भने, ‘सबै विकल्पबारे छलफलमा भएको छ । सहमतिबाट मध्यमार्गी निर्णयमा पुग्नेछौँ ।’

स्रोतका अनुसार महामन्त्री थापाको प्रस्तावमा हालसम्मका अनुभवका आधारमा निर्वाचनपूर्व गठबन्धनले निकास दिन नसक्ने विषय उल्लेख गर्ने तयारी छ । ‘निर्वाचनपूर्व गठबन्धनले देशलाई सही दिशा र स्थायित्व दिन नसक्ने विगतको अनुभवले देखाएको छ । स्थायित्व र विकासका लागि कांग्रेसलाई आगामी निर्वाचन (०८४)मा एक्लै बहुमत ल्याउन सक्ने बनाउन संगठन निर्माणमा केन्द्रित हुने,’ शनिबार साँझसम्म नेताहरूबिच भाषागत रूपमा जुटेको सहमतिबारे स्रोतले भन्यो । 

बैठकमा १५ भदौदेखि २५ मंसिरसम्म सय दिने सांगठनिक अभियानको प्रस्तावबारे छलफल भइरहेको छ । यससँगै निर्णयमा अभियानको मिति र मोडल परिवर्तन गरेर सशक्त रूपमा लैजाने तयारी छ ।

सहमहामन्त्री जीवन परियारले छलफलबारे अनभिज्ञता प्रकट गरे । ‘शीर्ष तहमा छलफल भइरहेको होला । सहमहामन्त्रीहरूसँग छलफल भएको छैन्,’ उनले भने, ‘केन्द्रीय समितिको बैठक जारी नै छ । निर्णय आइसकेको छैन ।’

महामन्त्री शर्मा पनि प्रतिवेदन परिमार्जन गर्दै निर्वाचनपूर्व गठबन्धन नगर्ने पक्षमा उभिएका छन् । उपसभापति खड्काको प्रस्तावमा गठबन्धनको विषयमा मौनता छ । महामन्त्री शर्माको समसामयिक राजनीतिक प्रस्तावमा नेताहरूको बहिर्गमन प्रस्ताव छ । जसमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी हुन नपाउने व्यवस्थाको प्रस्ताव गरिएको छ । तर, नेतृत्वको बहिर्गमनको प्रस्ताव पार्टी विधानमा समावेश गर्नु घातक हुने भन्दै ‘एक्जिट पोलिसी’को विषयमा केन्द्रीय सदस्यहरूले असहमति राखेका छन् । 

जारी केन्द्रीय समिति बैठकमा महासमिति बैठकले ठोस निर्णय लिन नसकेको निर्वाचनमा गठबन्धनको विषय प्रमुख एजेन्डा बनेको छ । महासमिति बैठकका सुझाव समेटेर जारी केन्द्रीय समिति बैठकमा उपसभापति खड्काले नीति प्रस्ताव, महामन्त्री थापाले सांगठनिक र महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव परिमार्जनसहित राखेका छन् ।

कांग्रेस बैठकमा महासमिति बैठकको निर्णय पारित गर्ने, सरकार गठनका सम्बन्धमा भएको सहमति अनुमोदन, १५ भदौदेखि २५ मंसिरसम्मको सयदिने सांगठनिक अभियान सुरु गर्ने, अनुशासनको कारबाही, तीनै तहमा रिक्त स्थानका पदपूर्ति, भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समिति गठन, क्रियाशील सदस्यता वितरण (नयाँ र नवीकरण) प्रक्रिया, जनसम्पर्क समिति, नियमावली संशोधन प्रस्ताव ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका तयार गर्ने र समसामयिक विषय एजेन्डाका रूपमा छन् ।