१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ५ बुधबार
  • Friday, 13 September, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ भदौ ५ बुधबार o६:२२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुरक्षा थ्रेट भएको भन्दै त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रार बिदामा

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ५ बुधबार o६:२२:oo

समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति गर्ने विषयमा विद्यार्थी नेताहरूले आपत्ति जनाएपछि सुरु भयो विवाद, पदाधिकारी कार्यालय नजाँदा प्रशासनिकलगायत काम प्रभावित 

सुरक्षा ‘थ्रेट’ देखाउँदै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू लामो बिदामा बसेका छन् । अहिले उपकुलपति, रेक्टर र रजिस्ट्रार बिदामा छन् । पदाधिकारीहरू बिदामा बस्नुको मुख्य कारण समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा हो । मानविकी तथा समाजशास्त्र संकायकी डिन कुसुम शाक्यले विभागमा टीकाराम गौतमको नाम सिफारिस गरेकी छिन् । तर, विभिन्न विद्यार्थी संगठनले यसलाई मानेका छैनन् । 

विभिन्न विद्यार्थी संगठनको धम्कीका कारण त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल १५ दिनदेखि बिदामा छन् । रेक्टर प्रा.डा. खड्ग केसी गत बुधबार र रजिस्ट्रार प्रा.डा. केदार रिजाल बिहीबारदेखि कार्यालयमा उपस्थित छैनन् । पदाधिकारी कार्यालय नजाँदा प्रशासनिकलगायत काम प्रभावित भएका छन् । 

बिदा बसेका पदाधिकारीले सुरक्षा थ्रेट र स्वास्थ्यमा समस्या भएको बताएका छन् । सुरक्षा प्रबन्ध भए कार्यालय जान सक्ने उनीहरूको भनाइ छ । २० दिनअघि प्रहरी वृत्त कीर्तिपुरले पदाधिकारीलाई ख्याल गरेर आउजाउ गर्न सुझाव दिएको थियो । 

त्रिविका रेक्टर प्रा.डा. केसीले समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख कसलाई बनाउने भन्नेबारे धम्की आएको र प्रहरीले सुरक्षा थ्रेट भएको बताएपछि बिदामा बसेको बताए । ‘समाजशास्त्र केन्द्रीय विभागमा विभागीय प्रमुखमा कसलाई लैजाने भन्ने विवादका कारण हामीमाथि थ्रेट भयो । सुरक्षा निकायले थ्रेट छ भनेपछि हामी जान छाडेका हौँ,’ उनले भने, ‘सुरक्षा प्रबन्ध भयो भने बुधबारदेखि उपस्थित हुन्छौँ ।’ 

कार्यालय जान सुरक्षा थ्रेट भएको भन्दै उपकुलपति, रजिस्ट्रार र रेक्टर मंगलबार उपकुलपतिको निवासमा बैठक बसेका थिए । उनीहरूले प्रहरीले सुरक्षा दिए मात्रै कार्यालय जाने निष्कर्ष निकालेका छन् ।

आफूहरूले तोकेको व्यक्ति विभागीय प्रमुख नभए कारबाही गर्ने धम्की विद्यार्थी नेताले दिएका छन् । विद्यार्थी नेताबाट धम्की आउन थालेपछि यसबारे त्रिविले शिक्षा मन्त्रालयलाई पनि जानकारी गराइसकेको छ । 

त्रिवि उपकुलपति प्रा.डा. बरालले सुरक्षा थ्रेट तथा आफू बिरामी भएकाले कार्यालय जान छाडेको बताए । ‘म बिदा बस्न लागेको १५ दिन भयो, विद्यार्थीका धम्की आइरहेका छन्, पार्टटाइम शिक्षकहरूको पनि चर्को दबाब छ,’ उनले भने, ‘कतिपयले मलाई बारम्बार फोन गरिरहेका छन्, तर मैले फोन उठाएको छैन । बिदा बस्नुको अर्को कारण डेंगु लागेर पनि हो ।’ उपकुलपति प्रा.डा. बराल बिदा बसे पनि उनले कार्यवाहक जिम्मेवारी अरूलाई दिएका छैनन् । 

त्यस्तै, रेक्टर र रजिस्ट्रारले पनि बिदा बसेकोबारे पत्र वा विज्ञप्ति जारी गरेका छैनन् । त्रिवि रजिस्ट्रार प्रा.डा. रिजालले आफू शुक्रबारदेखि बिदा बसेको र बुधबारदेखि कार्यालय जाने बताए । ‘विद्यार्थी नेताहरूबाट दबाब नआएको होइन, अब बुधबारदेखि कार्यालय जान्छु,’ उनले भने । 

तर, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँले उपकुलपति, रेक्टर र रजिस्ट्रार लामो समय बिदा बस्नु वा सुरक्षा थ्रेट छ भनेर कार्यालय जान छाड्नु सही विकल्प नभएको बताए । ‘पाँच लाख विद्यार्थी पढ्ने विश्वविद्यालयको केन्द्रीय कार्यालय बन्द गरेर बस्नु भनेको राम्रो होइन,’ उनले भने, ‘भिसीले बाहिर बसेर होइन, कार्यालयमा बसेर काम गर्नुपर्छ । यदि थ्रेट छ भने पनि जिम्मेवार व्यक्ति कार्यालय जानुपर्छ ।’ 

त्रिवि स्ववियु सभापति श्यामराज ओझाले पदाधिकारीहरू बिदामा बसेकोबारे आफूलाई जानकारी नभएको बताए । ‘उहाँहरू बिदामा हुनुहुन्छ भन्नेबारे मलाई त जानकारी छैन,’ उनले भने, ‘पदाधिकारी भएर त्रिवि चलाउने हैसियत र समस्या समाधान गर्न नसक्ने भए कक्षाकोठामा पढाउन गए हुन्छ । सुरक्षा थ्रेटको कुरा हो भने उहाँको सुरक्षा ग्यारेन्टी हामी लिन्छौँ, त्रिविमा समस्या निम्त्याएर भाग्न पाइँदैन ।’ 

प्रहरी वृत्त कीर्तिपुरका डिएसपी भुवनेश्वरप्रसाद साहले हाल पदाधिकारीको सुरक्षामा थ्रेट नभएको बताए । ‘सुरक्षा पर्याप्त छ । त्रिविमा वर्षौँदेखि यस्तै चलेको छ । राजनीतिक कुरा थाहा भएन । प्रहरीले सुरक्षा दिइरहेको छ । सुरक्षामा कमी हुँदैन,’ उनले भने ।