१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ४ मंगलबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ४ मंगलबार o६:१५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुई अर्बको  सट्टेबाजी र  क्रिप्टो कारोबार

आरोपी युवकका परिवारदेखि पूर्वप्रेमिकासम्मलाई मुद्दा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ४ मंगलबार o६:१५:oo

दुई अर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो तथा सट्टेबाजी कारोबार गरेको आरोपमा पक्राउ परेका व्यक्तिका परिवारका सदस्यविरुद्ध समेत मुद्दा दायर भएको छ । आपराधिक कामबाट आर्जन गरेको सम्पत्ति परिवारको नाममा भेटिएपछि मुद्दा दायर भएको हो । 

काभ्रे मण्डनदेउपुर– ८ का २४ वर्षीय अनिल ढुंगानालाई तीन महिनाअघि प्रहरीले पक्राउ गरी विस्तृत अनुसन्धान गर्दा उनले सम्पत्ति शुद्धीकरणसमेत गरेको पुष्टि भएको छ । जिल्ला अदालत, भक्तपुरले गत साता उनलाई सट्टेबाजी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कारागार पठाएको छ । मुद्दामा प्रहरीले १२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । जसमा उनका परिवारका सदस्य, पूर्वप्रेमिका र साथीहरू छन् । 

सो मुद्दामा ११ जनालाई फरार प्रतिवादी बनाइएको छ । जसमा काभ्रेका अच्युत नेपाल, राजीव ठकुरी, मनबहादुर तामाङ, विष्णुप्रसाद ढुंगाना, अस्मिता ढुंगाना तथा सीतादेवी ढुंगाना छन् । विष्णुप्रसाद अनिलका बुबा, सीतादेवी आमा र अस्मिता उनकी बहिनी हुन् । अपराधबाट कमाएको सम्पत्ति उनीहरूको नाममा राखेको भेटिएपछि आमा–बुबासमेत अपराधमा तानिएका हुन् । उनको बैंक खाताबाट बुबाको खातामा ३१ लाख तथा बहिनीको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको थियो भने आमाको नाममा भक्तपुरको सूर्यविनायकमा जग्गा खरिद गरेका थिए । अच्युत, राजीव र मनबहादुर उनीसँग मिलेर अनलाइन सट्टेबाजी धन्दामा संलग्न रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै, काठमाडौं– १ की आरती गुरुङ, मोरङका राजन पोखरेल, झापाका धीरेन सापकोटा, मोरङका अर्विन मेहता र नुवाकोटका विवेक रिमाललाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूमध्ये आरती आफ्नो पूर्वप्रेमिका भएको र उनले एक करोड रुपैयाँ जग्गा किन्न भनेर लगेर फिर्ता नगरेको अभियुक्त ढुंगानाको आरोप छ ।

पैसा फिर्ता माग्दा आफ्नो कामबारे बाहिर बताइदिने भनेर ब्ल्याकमेल गर्नुका साथै गुन्डागर्दीमा संलग्न व्यक्ति लगाएर धम्क्याएको उनको बयानमा उल्लेख छ । अनुसन्धानको क्रममा आरतीको सातवटा बैंक खातामा उनीबाट नौ करोड चार लाख ४४ हजार रुपैयाँ जम्मा भएको थियो । धुम्बाराहीको सोसाइटी अपार्टमेन्टमा बस्ने आरती पनि फरार छिन् । 

ढुंगानाले अनलाइन बेटिङबापत विभिन्न ५६ वटा बैंक खातामा ६१ करोड ६४ लाख ५९ हजार एक सय २० रुपैयाँबराबरको कारोबार गरेको प्रहरीले जनाएको छ । एक अर्ब ३४ करोड ५२ लाख रुपैयाँबराबरको क्रिप्टोे करेन्सीको कारोबार गरेका थिए । त्यस्तै, डिजिटल वालेटहरू इसेवा, आइएमई पेमार्फत उनले दुई वर्षको अवधिमा पाँच करोड नौ लाख तीन हजार रुपैयाँबराबरको कारोबार गरेको प्रहरी अभियोग छ । यसरी उनले दुई खर्ब एक अर्ब १८ लाख रुपैयाँबराबरको अवैध कारोबार देखिएको भन्दै सोहीबराबर बिगो कायम गरी मुद्दा दायर गरिएको छ । 

प्रतिवादी ढुंगानाले आफूले क्रिप्टो र अनलाइन बेटिङको कारोबार गरेको स्वीकार गरेका छन् । सुरुमा वानएक्सबेटमा सट्टेबाजी खेल्दा १२ लाख हारेको र पछि एजेन्ट बनेर काम गरेको उनले खुलाएका छन् । वानएक्सबेटबाट आफूले ८० लाख रुपैयाँ कमाएको उनले बताएका छन् । बयानमा भनेका छन्, ‘म वानएक्सबेट कम्पनीको मास्टर एजेन्ट हुँ, मभन्दा मुनी ८–१० वटा सबएजेन्ट छन् ।’ धेरैवटा डिजिटल वालेट चलाउन उनले ३८ वटा सिमकार्ड प्रयोग गर्दै आएका थिए । आफूले १० लाख डलरबराबरको क्रिप्टो करेन्सी बिक्री गरेको पनि उनले स्वीकार गरेका छन् । 

चार वर्षअघि बिगो लाइभमा आरती गुरुङलाई देखेको र चिनजान हुँदै आर्थिक कारोबार भएको उनले खुलाएका छन् । बिगो लाइभ बस्दा आउने डलर उनको पायोनियर अकाउन्टमा आउने र त्यसबराबरको नेपाली रुपैयाँ उनले गुरुङलाई दिने गरेका थिए । प्रेम सम्बन्धमा भएको वेला आरतीलाई एक करोड पाँच लाख दिएको, तर उनले फिर्ता नगरेको बताएका छन् । ढुंगानालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत ३० वैशाखमा पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरले उनीमाथि थप अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।