Skip This
चप्पलमै १० किमी दौडिए १३ वर्षीय सफल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Friday, 04 October, 2024
चप्पलमा १० किलोमिटर दौडिएका भोजपुर रामप्रसाद राई गाउँपालिकाका– ७ का १३ वर्षीय सफल राई
२o८१ असार २२ शनिबार o६:o५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चप्पलमै १० किमी दौडिए १३ वर्षीय सफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार o६:o५:oo

१० किलोमिटर दौड । सहभागी सबैको खुट्टामा जुत्ता । तर, भोजपुर रामप्रसाद राई गाउँपालिकाका– ७ का १३ वर्षीय सफल राई भने चप्पलमै १० किलोमिटर दौडिए । 

आर्थिक रूपमा विपन्न सफल जुत्ता किन्ने पैसा नहुँदा चप्पलमै झापा दमकदेखि केर्खास्थित सहिद गेटसम्मको १० किलोमिटर दूरी पार गरे । खुला दौड प्रतियोगितामा पुरुषतर्फ सहभागीमध्येकै सबैभन्दा कान्छा प्रतिस्पर्धी थिए, उनी ।

‘दौडँदै गर्दा कति ठाउँमा त चप्पल चिप्लिएर समस्या भयो । जुत्ता भएको भए अलिक राम्रो गर्न सक्ने थिएँ,’ उनी भन्छन्, ‘दिदीकोमा गएपछि दाइ (प्रशिक्षक प्रशान्त राई)ले नै सहयोग गर्दै आउनुभएको छ । दमकसम्म पनि उहाँले नै ल्याउनुभएको हो ।’

आमाको निधनपछि सफललाई आर्थिक समस्याले गाँज्यो । गरिबीले विद्यालय जान सक्ने अवस्था नभएपछि सफलकी दिदीले उनलाई उदयपुरबाट आफ्नै घर भोजपुर रामप्रसाद राई गाउँपालिका– ७ मा लगिन् । आफन्त प्रशान्त राई एथलेटिक्सका जिल्लास्तरीय  प्रशिक्षक हुन् । एक वर्षदेखि उनी प्रशान्तसँग म्याराथन प्रशिक्षण लिइरहेका छन् । एक वर्षको यो अवधिमा उनले विभिन्न प्रतियोगितामा भाग लिए । तर, गरिबीकै कारण उनीसँग खेलकुद सामग्रीसमेत छैन । खेलकुद सामग्रीविना नै पनि उनी दौडिरहेका छन् । 

शुक्रबार मानव हित संरक्षण मञ्च नेपालको आयोजना र अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा दमकमा भएको खुला सडक दौड प्रतियोगितामा उनी चप्पलमै सहभागी भए । त्यसअघि बुधबार मात्र मोरङमा आयोजना भएको मदन भण्डारी सडक दौड प्रतियोगितामा पनि उनी यसरी नै चप्पलमै दौडिएका थिए । त्यहाँ पनि सफलले पाँच किलोमिटर दूरी सहजै पार गरे । 

उनलाई एथलेटिक्सतर्फ आफ्नो नाम विश्वसामु चिनाउने रहर छ । तर, आर्थिक अवस्था नै बाधक बन्ने हो कि भन्ने डर छ । ‘मलाई दौडिएर आफ्नो नाम राख्ने मन छ । तर, दौडनका लागि चाहिने सामान किन्ने पैसा नहुँदाचाहिँ त्यो सकिँदैन कि जस्तो लाग्छ,’ उनले भने । 

प्रशिक्षक प्रशान्तले सफललाई खेलमा उत्साहित गरिरहेका छन् । पूर्वमा हुने विभिन्न प्रतियोगितामा उनलाई सहभागिता गराइरहेका छन् । ‘सफलले राम्रो प्रदर्शन गरिरहेको छ । विराटनगरमा भएको पाँच किलोमिटर दौडमा पनि टप टेनभित्र पर्‍यो,’ उनले भने, ‘दमकको खुला प्रतियोगितामा देशभरबाट राम्रा धावक आउँछन् भन्ने थाहा थियो । तर, उसको कन्फिडेन्ट बढोस् भनेर नै ल्याएको हुँ । उसले राम्रो गर्‍यो । झन्डै ४० मिनेटमा दूरी पार गर्‍यो । उसले म्याराथनमा राम्रो गर्ने संकेत देखाएको छ ।’

खुला महिलातर्फ १२ वर्षीया बालिका तेस्रो
प्रतियोगितामा खुला महिलातर्फ १० किलोमिटर दौडमा १२ वर्षीया बालिका तेस्रो भइन् । भोजपुर रामप्रसाद राई गाउँपालिका–७ की १२ वर्षीया जुही राई ४५ मिनेट ५० सेकेन्डमा १० किलोमिटर पार गर्दै तेस्रो भइन् । महिलातर्फकी उनी सबैभन्दा कान्छी प्रतियोगी भएको खेल संयोजक समुन्द्रा लामाले बताइन् । उनका पनि प्रशिक्षक प्रशान्त राई नै हुन् । तेस्रो हुँदै उनले नगद १५ हजार प्राप्त गरिन् । 

यस्तै, खुला महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले उपाधि जितिन् । उनले १० किलोमिटर ३९ मिनेट ४६ सेकेन्डमा पूरा गर्दै नगद ५० हजार हात पारिन् ।भोजपुरकी विनिता राई दोस्रो भइन् । उनले ४५ मिनेट १२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै नगद २५ हजार पुरस्कार पाइन् । १३ वर्षीया विनिताका प्रशिक्षक पनि प्रशान्त नै हुन् । 

पुरुषतर्फ बैतडीका रावल प्रथम
१० किलोमिटर खुला सडक दौड प्रतियोगितामा पुरुषतर्फ बैतडीका नरेन्द्रसिंह रावल प्रथम भए । उनले ३१ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै नगद ५० हजार जिते । यस्तै, ३१ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै बझाङका करण रावल दोस्रो भए । उनले नगद २५ हजार प्राप्त गरे । ३२ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गर्दै ओखलढुंगाका मिङ्मार सिंगी तामाङ तेस्रो हुँदै नगद १५ हजार प्राप्त गरे । 

स्थानीयतर्फ सिंह र राई प्रथम
नेकपा माओवादी केन्द्र दमक र कमल गाउँपालिकाको व्यवस्थापनमा भएको सडक दौड प्रतियोगितामा स्थानीयका लागि पाँच किलोमिटर दौड प्रतियोगिता राखिएको थियो । स्थानीय पुरुषतर्फ सरोज सिंह प्रथम, ओसन राई दोस्रो र पवनकुमार साह तेस्रो भए । उनीहरूले क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार पुरस्कार पाए । 

यस्तै, पाँच किलोमिटर स्थानीय महिलातर्फ सुनकला राई प्रथम, नुसा लिम्बू दोस्रो र समीक्षा दर्जी परियार तेस्रो भए । उनीहरूले क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार पुरस्कार पाए ।