१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
२o८१ असार १५ शनिबार o५:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मिश्री भारतका नयाँ विदेशसचिव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार o५:४९:oo

भारत सरकारले उपराष्ट्रिय सुरक्षा सल्लाहकार विक्रम मिश्रीलाई नयाँ विदेशसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद्को नियुक्तिसम्बन्धी समितिले मिश्री विदेशसचिव नियुक्त भएको शुक्रबार जनाएको छ । 

मिश्रीले ३१ असारदेखि भारतको विदेशसचिवको कार्यकाल प्रारम्भ गर्नेछन् । प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा निजी सचिवका रूपमा काम गरेको अनुभवसमेतका आधारमा उनलाई विदेशसचिव नियुक्त गरिएको छ । 

हालका विदेशसचिव विनयमोहन क्वात्राको म्याद गत मार्चमा ६ महिनाका लागि थपिएको थियो । उनको म्याद पुनः ३१ असारसम्मका लागि थप भएको छ । भारत सरकारले त्यसअघि नै उनलाई अमेरिकाका लागि राजदूत बनाउने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

नवनियुक्त विदेशसचिव मिश्री चीन, स्पेन र म्यानमारका लागि भारतीय राजदूत भइसकेका छन् । यसैगरी, उनले प्रधानमन्त्री नरेन्द्र मोदी तथा तत्कालीन प्रधानमन्त्रीद्वय डा. मनमोहन सिंह र आइके गुजरालको निजी सचिवका रूपमा काम गरिसकेका छन् । 

कूटनीति र सुरक्षाको अनुभव रहेका मिश्री भारतीय विदेश मन्त्रालयमा चीनविज्ञका रूपमा चिनिन्छन् । चिनियाँ भाषाको विज्ञतासमेत लिएका मिश्रीले दुई छिमेकी चीन र म्यानमारमा राजदूतको अनुभव लिएका छन् । राजदूतभन्दा तल्लो ओहोदामा श्रीलंका र पाकिस्तानस्थित भारतीय उच्च आयोग (राजदूतावास)मा काम गरेको अनुभव छ । उनले नेपालसँग सम्बन्धित उत्तरी डिभिजन वा नेपालस्थित भारतीय राजदूतावासमा भने काम गरेका छैनन् । 

भारतको कस्मिरमा ७ नोभेम्बर १९६४ मा जन्मेका मिश्री १९८९ मा विदेश सेवामा प्रवेश गरेका थिए । उनी ५ मे २०२० मा भारत–चीन सीमा क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच तनाव हुँदा चीनका लागि भारतीय राजदूत थिए । उनी २०१९ को सुरुवातदेखि २०२१ को अन्तिमसम्म चीनका लागि भारतीय राजदूत थिए । त्यसअघि उनले स्पेन र म्यानमारका लागि भारतीय राजदूतको अनुभव लिएका छन् । त्यसो त उनी २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवका रूपमा कार्य गरेको अनुभव र निकटता दुवै छ । 

मोदीसँग मात्र नभएर उनी इन्द्रकुमार गुजराल र डा. मनमोहन सिंहका पालामा पनि प्रधानमन्त्रीको निजी सचिव थिए । २०१८ देखि २०२१ मा चीनका लागि उनी राजदूत भएर फर्केपछि मिश्रीलाई सरकारले उपराष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । 

विदेश सेवाको दौरान उनले बेल्जियम, पाकिस्तान, अमेरिका, श्रीलंका र जर्मनीमा काम गरेको अनुभव छ । यद्यपि, उनले नेपालसँग सम्बन्धित महाशाखा वा नेपालस्थित भारतीय राजदूतावासमा कहिल्यै काम गरेनन् । 

नरेन्द्र मोदीको तेस्रो कार्यकालको सुरुवातमा राज्यसंयन्त्रका महत्वपूर्ण पद विदेशसचिव र सेनाध्यक्षमा चीनविज्ञ ल्याइएको छ । आइतबारदेखि भारतीय सेनाको नेतृत्व लिन लागेका जनरल उपेन्द्र द्विवेदी पनि चीनविज्ञका रूपमा चिनिन्छन् । 
उनीसँग चीनसँग जोडिएका सैनिक कमान्डको नेतृत्व सम्हालेको अनुभव छ भने चीनसँग उच्चस्तरीय सैन्य वार्तामा पटकपटक सहभागी भएका छन् । चिनविज्ञका रूपमा रहेका नवनियुक्त विदेशसचिव मिश्रीले उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सुरक्षा र रणनीतिक मामिला सञ्चालनको अनुभव हासिल गरेका छन् ।

प्राथमिकतामा छिमेक नीति
दोस्रोपटक पदभार ग्रहण गरेको दिन २८ जेठमा भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकरले साउथ ब्लकको बाहिरपट्टि पत्रकारहरूलाई भारतको विदेश नीतिको आगामी तीन प्राथमिकता सुनाए । पहिलो, भारत प्रथम । दोस्रो, वसुदैव कुटुमबकम् अर्थात् विश्व एक परिवार । तेस्रो, विश्वबन्धु भारत । 

जयशंकरले विदेश नीति वा छिमेक नीति यही सूत्रमा सञ्चालन हुने सन्देश दिए । र यसैअनुसार जयशंकरले पहिलो भ्रमण छिमेक (श्रीलंका)बाटै प्रारम्भ गरेका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपटक शपथ ग्रहण गर्दा उनले खास मानेका छिमेकी देशका समकक्षीलाई निमन्त्रणा गरे । २०१४ मा उनले पहिलोपटक प्रधानमन्त्रीको शपथ लिँदा सार्क प्लस (मोरिसस र निर्वासित तिब्बत सकारका प्रधानमन्त्री)लाई निमन्त्रणा गरे । 

२०१९ मा दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिँदा उनले बिमस्टेक सदस्य मुलुकका कार्यकारी प्रमुख तथा मोरिसस र किर्गिस्तानका प्रधानमन्त्रीलाई बोलाए । वालाकोट र उरी क्षेत्रमा भएको आतंककारी हमलापछि भारत–पाकिस्तान सम्बन्ध चिसिएसँगै मोदीले पाकिस्तानलाई बोलाएनन् । उनी बिमस्टेकतिर मोडिए, जहाँ पाकिस्तान सदस्य छैन । यसो गर्दा पहलो शपथग्रहणमा सहभागी भएको अफगानिस्तान दोस्रोपटक छुट्यो ।

तेस्रो कार्यकालमा मोदीले पाकिस्तान, अफगानिस्तानलाई बोलाएनन्, पाँच नजिकका छिमेकी र दुई सामुद्रिक रूपमा महत्वपूर्ण मित्रदेशलाई बोलाए । यसपटक नेपाल, माल्दिभ्स, बंगलादेश, भुटान, श्रीलंका तथा सेसेल्स र मोरिससका कार्यकारी प्रमुखहरू मोदीको निम्तालुका रूपमा २६ जेठमा नयाँदिल्लीको राष्ट्रपति भवनमा सहभागी भए । 

मोदीले निम्तालु मुलुकका सबै कार्यकारी प्रमुखसँग भेटवार्ता गरे । प्रधानमन्त्री प्रचण्डसँग पनि मोदीको यही मेसोमा भेटवार्ता भयो । प्रधानमन्त्री प्रचण्डले २७ जेठमा नेपाली राजदूतावाससँग तीनजना नेपाली पत्रकारसँगको कुराकानीमा मोदीसँग नेपाल र भारतका सबै संयन्त्र सक्रिय बनाउन प्रस्ताव गरेको र मोदी सहमत भएको सुनाए । 

उनको व्याख्याअनुसार सबै संयन्त्र भन्नाले नेपालको जोड सुस्ता र पश्चिम नेपालको सिमाना (कालापानीदेखि लिम्पियाधुरा) समाधानका विषयमा वार्ता गर्ने परराष्ट्रसचिवस्तरीय संयन्त्रलाई पनि संयन्त्र गरौँ भन्ने हो । उनको भनाइमा मोदीले सहमत जनाए । भारतले यसबारेमा विगतदेखि भन्दै आएको छ, ‘स्थापित द्विपक्षीय संयन्त्रमा र विषयमाथि राजनीतीकरण नगरीकन सीमाका विषयमा वार्ता तथा छलफल गर्न भारत तयार छ ।’ 

तेस्रो कार्यकाल सुरु गरेपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबीच भएको पहिलो छलफल नै त्यही हो । शपथग्रहणपछि मोदीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई राजकीय भ्रमणमा बोलाइसकेका छन् । विदेशमन्त्री जयशंकर श्रीलंकाको औपचारिक भ्रमणमा गइसकेका छन् । प्रधानमन्त्री प्रचण्डले पनि मोदीलाई नेपालको औपचारिक भ्रमणमा निमन्त्रणा गरिसकेको र मोदीले भ्रमण गर्नेमा आफू विश्वस्त रहेको सार्वजनिक गर्दै आएका छन् । 
 

ad
ad
ad
ad