मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
टेकराज थामी काठमाडाैं
२o८१ माघ २६ शनिबार o६:२२:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अन्तरजातीय बिहे अस्वीकार गर्दा निम्तिएका गम्भीर अपराध 

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार o६:२२:oo

नेपालको संविधान २०७२ मा छुवाछुत तथा भेदभावविरुद्धको हकलाई मौलिक हकअन्तर्गत राखिएको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐनअनुसार अन्तरजातीय विवाहमा रोक लगाउन पाइँदैन । तर, व्यवहारमा पटक–पटक समस्या आएका छन् । यतिसम्म कि अन्तरजातीय विवाह अस्वीकार हुँदा त्यसले अपराधसमेत निम्त्याउने गरेको छ । कतिपयले अन्तरजातीय विवाहकै कारण ज्यान गुमाएका छन् ।

अन्तरजातीय विवाहमा समस्या आउनुमा समाजमा विद्यमान मनोसामाजिक र मनोसांस्कृतिक कारण मुख्य रहेको मानव अधिकारीवादी अभियन्ता जेबी विश्वकर्मा बताउँछन् । ‘सुरुमा युवायुवती भावनामा बहकिएर विवाह गर्छन् । कतिपय सन्दर्भमा यी नैसर्गिक अधिकारका सवाल पनि होलान् । तर, यसले उनीहरूको सम्बन्धमा बिस्तारै समस्या पैदा गराउँदै लैजान्छ । व्यक्तिभित्र अन्तरनिहित विभेदका अंश प्रस्फुटन हुनु यसको मुख्य कारण हो,’ उनी भन्छन्, ‘उसले भन्न त जात मान्दिनँ भन्छ, तर जब आफैँलाई पर्छ अनि ऊ जाति प्रथामा समाहित हुन्छ । यस किसिमको मनोसामाजिक र मनोसांस्कृतिक पक्ष समाजमा अझै जीवित छ । अहिले भएको त्यही हो ।’ 

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा ११ मा उमेर पुगेका वरबधुबाट मञ्जुर भएको अन्तरजातीय विवाहलाई रोक लगाउन नहुने उल्लेख छ । कसुर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । तर पनि अन्तरजातीय विवाह सामाजिक रूपमा कहीँकतै अस्वीकार्य छ र यसले गम्भीर अपराधसमेत निम्ताएका उदाहरण छन् ।

अन्तरजातीय विवाह अस्वीकार गर्दा बुबाआमाकै हत्या 
ताप्लेजुङमा एक युवाले आफ्नो अन्तरजातीय बिहे अस्वीकार गरेपछि बुबाआमाकै हत्या गरेका थिए । फक्ताङलुङ– ६ का ऐतराज लिम्बू गाउँकै देविका राईसँग प्रेमविवाह गर्न चाहन्थे । तर, ऐतराजको प्रस्ताव बुबा बिर्खबहादुर र आमा पिपरानीले मानेनन् । विवाहका लागि मनाउन अनेक प्रयत्न गरे पनि सफल भएनन् । केही सीप नलागेपछि उनले देविकासँग ०७८ चैतमा आफूखुसी विवाह गरे, तर बुबाआमाले विवाह स्विकारेनन् । विवादबिच ऐतराजको दिमागमा अपराध अंकुरायो । मदिरा पिएको सुरमा उनले २२ वैशाख ०७९ को साँझ बुबाआमामाथि खुकरी प्रहार गरे । अन्ततः उनीहरूको ज्यान गयो । 

अन्तरजातीय विवाह विवादमा रुकुममा भएको थियो ६ जनाको हत्या
अन्तरजातीय विवाहको विवादले रुकुम पश्चिममा चार वर्षअघि ६ युवाको हत्या भएको थियो । जाजरकोट भेरी– ४ का नवराज विक रुकुम पश्चिम चौरजहारी– ८ सोतीकी किशोरीसँग प्रेममा थिए । तर, दुईबिचको सम्बन्ध किशोरीको परिवार रुचाइरहेका थिएन । नवराज १० जेठ ०७७ मा बेहुली लिन किशोरीको घर पुगे । उनीसँग गाउँका अन्य युवा पनि थिए । जब नवराज गाउँ प्रवेश गरेको खबर किशोरीका परिवारले थाहा पायो, उक्त खबर चौरजहारी– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ललाई सुनाइयो । मल्लले गाउँका युवालाई भेला हुन लगाए । दुवै पक्षबिच विवाद भयो । घटनाअनुसार स्थानीयले नवराज र उनीसँगै गएका युवालाई आक्रमण गरे । घाइते भएका र उनीसँगै गएका युवामाथि लखेटी–लखेटी आक्रमण भयो । र, घाइतेलाई भेरी नदीमा धकेलियो । घटनामा नवराजसहित ६ युवाले अनाहकमा ज्यान गुमाए । 

परिवारले अस्वीकार गर्दा अन्तरजातीय विवाहले निम्त्याएको थियो हत्या र आत्महत्या
परिवारको सहमतिविनै स्याङ्जा किचनासका सञ्जीव नेपाली र पौवेगौडेका सोनम रेग्मीबिच विवाह भयो । विवाहको तीन वर्षपछि सञ्जीव वैदेशिक रोजगारका लागि दुबई गए । यही मौकामा सोनमका परिवार दुईबिचको सम्बन्ध टुटाउन सक्रिय बन्यो । सोमनलाई अस्ट्रेलिया पठाउने प्रलोभन दिइयो । सोनम पोखरामा कोठा लिएर छुट्टै बस्न थालिन् । सम्बन्ध जोगाउन सञ्जीव बिदा लिएर नेपाल आए, तर सफल भएनन् । दिमागमा अपराधको मनोविज्ञान जन्म्यो । उनले ३२ साउन ०७३ मा धारिलो हतियार प्रहार गरी सोनमको हत्या गरे र आफूले पनि आत्महत्या गरे । 

अन्तरजातीय विवाहका कारण सप्तरीका मनोज राम कारागार पुर्‍याइएका थिए
एक वर्षअघि सप्तरीका मनोज राम र बबिता इसरले अन्तरजातीय विवाह गरेपछि उनीहरू सामाजिक अन्यायको सामना गर्न बाध्य भएका थिए । विष्णुपुर गाउँपालिका– ६ का मनोजकुमार रामले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसरसँग ०७९ कात्तिकमा प्रेमविवाह गरेका थिए । तर, बबिताका परिवारले अन्तरजातीय विवाह अस्वीकार गर्दै बबिताको किर्ते जन्मदर्ता बनाएर मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दायर गरे । यस आधारमा सप्तरी जिल्ला अदालतले मनोजलाई पुर्पक्षका लागि कारागार चलान गर्‍यो । जबकि कपिलवस्तु जिल्ला अदालतले मनोज र बबिताको विवाह विधिसम्मत रहेको भन्दै विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिसकेको थियो । अन्ततः पीडितले सर्वोच्च अदालतबाट न्याय पाए । 

प्रेमविवाह असफल भएपछि सप्तरीमा दलित युवतीले गरेकी थिइन् आत्महत्या
परिवारबाट प्रेमविवाह अस्वीकार भएपछि सप्तरीको सुरुंगा नगरपालिका– ७ पोखरियाकी २० वर्षीया दलित युवतीले प्रेमविवाह अस्वीकार भएपछि आत्महत्या गरेकी थिइन् । तीन वर्षअघि उनी गाउँकै कृष्ण मिश्रासँग प्रेममा थिइन् । प्रेममा रहेकी २० वर्षीया ज्योति पासवानलाई गाउँकै कृष्ण मिश्राले ९ फागुन ०७७ मा घरबाटै भगाएर मन्दिरमा विवाह गरेका थिए । तर, विवाहपछि कृष्णको परिवारले अन्तरजातीय सम्बन्ध अस्वीकार गर्‍यो । परिवारको दबाबका कारण कृष्णले समेत बेवास्ता गर्न थालेपछि ज्योतिले गम्भीर मानसिक तनाव भोग्नुपर्‍यो । ज्योतिका बुबा प्रमोद पासवानका ६ असार ०७८ मा कृष्णले ज्योतिलाई लहानस्थित पुष्पाञ्जली गेस्टहाउसमा छाडेर ‘कोठा खोज्न जान्छु’ भन्दै हिँडेका थिए । तर, धेरै दिनसम्म कृष्ण सम्पर्कविहीन भएपछि ज्योति परिवारको सम्पर्कमा आइन् । अभिभावकले प्रहरी र महिला अधिकारकर्मीको सहयोगमा उनलाई उद्धार गरे । तर, मानसिक तनाव झेलिरहेकी ज्योतिले अन्ततः २३ साउन ०७८ मा घरमै झुन्डिएर आत्महत्या गरिन् । 

जेबी विश्वकर्मा : मानव अधिकारवादी अभियन्ता
सुरुमा युवायुवती भावनामा बहकिएर विवाह गर्छन् । कतिपय सन्दर्भमा यी नैसर्गिक अधिकारका सवाल पनि होलान् । तर, यसले उनीहरूको सम्बन्धमा बिस्तारै समस्या पैदा गराउँदै लैजान्छ । व्यक्तिभित्र अन्तरनिहित विभेदका अंश प्रस्फुटन हुनु यसको मुख्य कारण हो । उसले भन्न त जात मान्दिनँ भन्छ, तर जब आफैँलाई पर्छ अनि ऊ जाति प्रथामा समाहित हुन्छ । यस किसिमको मनोसामाजिक र मनोसांस्कृतिक पक्ष समाजमा अझै जीवित छ । अहिले भएको त्यही हो ।