१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
वीणा झा
२o८१ असार २ आइतबार o९:४२:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विद्यार्थीकेन्द्रित कति छ हाम्रो विद्यालय शिक्षा ?

Read Time : > 4 मिनेट
वीणा झा
नयाँ पत्रिका
२o८१ असार २ आइतबार o९:४२:oo

समाजमा रहेका अनेक पारम्परिक सीप र कथालाई शिक्षणमा जोड्दै विद्यार्थीको सिकाइप्रतिको रहर र जिज्ञासा बढाउन जरुरी छ

विद्यालय तहका शैक्षिक भेला, प्रशिक्षण र छलफलमा प्रायः दोहोरिइरहने शब्दावलीमा ‘विद्यार्थीकेन्द्रित शिक्षा’ पनि एक हो । तर, वास्तवमा विद्यार्थीकेन्द्रित शिक्षा भनेको के हो ? यसको मूल मर्मलाई आफ्नो परिवेशमा कसरी आत्मसात् गर्न सकिन्छ ? यसलाई कसरी बुझ्ने र बुझाउने अनि कसरी प्रभावकारी रूपमा प्रयोगमा ल्याउने भन्नेबारे भने खासै छलफल र बहस भएको भेटिँदैन । जसले गर्दा स्पष्टताको अभावमा विद्यालयहरूले आ–आफ्नै बुझाइको धरातलमा रही विद्यार्थीकेन्द्रित शिक्षाको अवधारणालाई प्रयोग गरेको भेटिन्छ ।

अहिले जताततै गुणस्तरीय शिक्षाको अभिलाषामा शिक्षक प्रशिक्षणले प्राथमिकता पाउँदै गरेको अवस्थामा सही अर्थमा विद्यार्थीकेन्द्रित शिक्षाको अवधारणाबारे सम्बन्धित पक्षहरू प्रस्ट हुन जरुरी छ । ताकि विद्यालय शिक्षालाई सही अर्थमा विद्यार्थीकेन्द्रित बनाउन सकियोस् र विद्यार्थीलाई तिनका वरिपरि रहेको सामाजिक र प्राकृतिक वातावरणसँग जोड्दै ज्ञान खोज्न जिज्ञासु बनाउन सकियोस् । 

वास्तवमा विद्यार्थीकेन्द्रित शिक्षा भनेको सिकाइका लागि उपयोग गरिने हरेक आधार र विधिको केन्द्रमा विद्यार्थीसँग रहेको पूर्वज्ञान, क्षमता र सीपलाई प्राथमिकतासाथ राखिनुपर्छ भन्ने अवधारणा हो । जसले गर्दा ती विद्यार्थीको आत्मविश्वास बढोस् र तिनको सिकाइ सीपमा थप निखार ल्याउन सकियोस् । अथवा, यसलाई यसरी पनि बुझ्न सकिन्छ, कुनै पनि विद्यार्थी विद्यालय पुग्दा ऊ पूर्ण रूपमा खाली मस्तिस्कसाथ पुगेको हुँदैन । उसले आफ्नो घरबाट, आफ्नो वरिपरिबाट साथै आफ्नो छरछिमेकका साथीबाट समेत विविध किसिमका ज्ञान आर्जित गरिसकेको हुन्छ, सन्तुलित भई हिँड्ने, बोल्ने, सोच्ने, बुझ्ने अनि अनुभूति गर्ने र मौखिक रूपमा व्यक्त गर्ने इत्यादि । जसमा उसको भाषाको ज्ञान, समाजको उमेरअनुसारको व्यवहारगत अपेक्षा, समय, अवस्था र परिवेशका आधारमा आर्जित अन्य विविध ज्ञान र सीपलाई पनि लिन सकिन्छ । अब विद्यार्थीकेन्द्रित शिक्षा भनेको उसको आर्जित पूर्वज्ञान र सीपलाई पाठ्यपुस्तकसँग जोड्दै निखार ल्याउन राष्ट्रिय पाठ्यक्रमको उद्देश्य पूरा हुने गरी निर्माण गरिने सम्पूर्ण शैक्षिक क्रियाकलाप र शिक्षण विधि नै विद्यार्थीकेन्द्रित शिक्षा हो । 

त्यसैले विद्यार्थीकेन्द्रित शिक्षा ठाउँ, परिवेश, विषय र समयअनुसार फरक–फरक हुनुपर्छ । काठमाडौंमा अवस्थित कुनै सुविधासम्पन्न विद्यालयका लागि एउटा तरिका उपयुक्त हुन सक्छ भने रौतहट वा कर्णालीका विद्यालयका लागि अर्कै तरिका आवश्यक पर्न सक्छ, किनकि विद्यालय अवस्थित रहेको समुदायको भौगोलिक वातावरण, त्यहाँ पढ्न आउने विद्यार्थीका पारिवारिक, सामाजिक, सांस्कृतिक र आर्थिक पृष्ठभूमि अनि शिक्षकको शिक्षण कला फरक फरक रहेको हुन्छ । त्यसैगरी विद्यालयमा भर्ना हुने बखत विद्यार्थीका सिकाइको तह पनि फरक रहेको हुन सक्छ । कुनै ठाउँमा नांग्लोको बनोटलाई आधार मान्दै गणित सिकेको हुन सक्छ भने कतै प्रोजेक्टरको माध्यमले कुनै सफ्टवेयरलाई उपयोग गरी सिकेको हुन सक्छ । 

जस्तो कि पहाडमा बस्ने विद्यार्थीले गुटुटु गर्दै उकाली ओराली क्षणभरमै पार गर्छन् भने तराईमा बस्ने विद्यार्थी सललल साइकल कुदाउन सक्छन् । तिनका समुदायमा जीवनशैली फरक–फरक होलान् अनि समाजमा जिउँदा कथाव्यथा पनि फरक–फरक पात्रले भरिएका होलान् । यस्तोमा विद्यार्थीकेन्द्रित शिक्षाले उकालो चढ्दा ओरालो झर्ने तुलनामा बढी समय र थकान लाग्नुको पछाडि रहेको विज्ञानसँग जोडेर ती विद्यार्थीलाई बुझाउनुपर्छ त्यसैगरी साइकल चलाउँदा कसरी सन्तुलित भई अगाडि बढ्छ, यसलाई विज्ञानको कुन ज्ञानसँग जोड्न सकिन्छ भनेर तिनलाई बुझाउनुपर्छ भन्ने अवधारणा विद्यार्थीकेन्द्रित शिक्षाको मूल मर्म हो । यसका साथै समाजमा रहेका अनेक पारम्परिक सीपदेखि लिएर कथालाई पनि शिक्षणमा जोड्दै विद्यार्थीको सिकाइप्रतिको रहर र जिज्ञासा बढाउन सकिन्छ ।

त्यसैगरी कुनै विद्यार्थीमा निर्धक्कसाथ बोल्ने क्षमता हुन सक्छ भने कोही नाच्नमा राम्रो हुन सक्छ । कोही क्षणभरमै सिर्जना गर्दै दोहोरी गाउने शब्द रचना गर्न सक्ने होलान् । त्यसैगरी कसैसित गाईभैँसी दुहुने सीप हुन्छ त कसैलाई ठेकीमा मोही पार्न सक्ने सीप । कोहीमा एक्लैले १०–१५ वटा खसीबाख्रालाई एउटा दिशामा लगेर चराउन र फर्काएर सुरक्षितसाथ घर ल्याउन सक्ने क्षमता हुन सक्छ भने कसैमा इन्टरनेटमा विभिन्न रमाइला विषयवस्तु खोज्न र त्यसलाई प्रस्तुत गर्न सक्ने खुबी हुन सक्छ । यी सम्पूर्ण सीपका पछाडि तिनका पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक र भौगोलिक पृष्ठभूमि रहेको हुन्छ । यस्तो नेपालभरिका विद्यार्थीका लागि विद्यार्थीकेन्द्रित शिक्षाका नाममा अपनाइने कुनै एउटा तरिका सबैका लागि कसरी उपयुक्त र पर्याप्त हुन सक्ला त ? विद्यार्थीकेन्द्रित शिक्षाको मर्म विद्यार्थीमा भएका ज्ञान, सीपलाई पाठ्यपुस्तकको गोरेटो समात्दै पाठ्यक्रमसँग जोड्दै राष्ट्रिय शैक्षिक उद्देश्य प्राप्त गर्न उल्लिखित सीप सिकाउन सक्नुपर्छ भन्ने स्पष्ट छ । 

विद्यालयमा विद्यार्थीकेन्द्रित शिक्षाको मूल मर्म भनेकै विद्यार्थीमा आफ्नो समाज, संस्कृति र दैनिकीका अभ्यासप्रति विश्वास जगाउँदै सिकाइप्रति अभिरुचि बढाउनु हो । जसले गर्दा तिनका कल्पना गर्ने शक्ति, समस्या पहिचान गर्ने, विश्लेषण र समाधान खोज्न सक्ने क्षमताको विकास अनि समाजको स्पन्दन बुझ्दै त्यहाँभित्रको सम्भाव्यता र चुनौती खोज्ने क्षमताको समेत विकास गर्नुपर्ने हुन्छ । 

प्रायजसो विद्यालयले गर्ने अभ्यासलाई गहिरिएर हेर्ने हो भने विद्यार्थी जब कक्षाकोठामा पुग्छन्, सर्वप्रथम उसले जानेका बुझेका बुझाइ, जस्तो कि बोल्ने भाषा, हिँड्ने तरिका, लगाउने पहिरन, उसको समुदायमा मनाइने उत्सवका तरिकाजस्ता विषयवस्तुमाथिको उसको विश्वासलाई पूर्ण सम्मानसाथ स्विकारिएको देखिँदैन, जसले गर्दा उसलाई विद्यालय पुग्नासाथ पहिलो झट्का लाग्छ, आफ्नो बुझाइप्रतिको विश्वास डगमगाउनमा । उसको बोल्नेदेखि लिएर उसको हाँस्ने अनि हिँड्ने तरिकासम्मलाई अनुशासनका नाममा एउटा फ्रेममा अटाउने प्रयास गरिन्छ । अनि विद्यार्थीकेन्द्रित शिक्षाका नाममा कुनै ‘प्रोजेक्ट वर्क’ दिँदै जिम्मेवारी पूरा गरेको आभास विद्यालयले दिने कोसिस गर्छन् । जहाँ ती विद्यार्थीको सिकाइ एक संकुचित वातावरणमा सुरु गरिन्छ, परिणामस्वरूप कागजको खोस्टामा पाउने परिणाम भव्य देखिए पनि वास्तविक जीवनमा आवश्यक ज्ञान खोज्ने प्रक्रिया र जीवनोपयोगी सीप सिकाउन सकेको देखिन्न । जस्तो कि आफ्नै वरिपरि रहेका हजारौँ विषयवस्तुबारे आफ्नो स्वतन्त्र अवधारणा बनाउन सक्दैन, सहकार्य गर्न जान्दैनन् । कसैले भनेअनुसार आफ्नो विचार निर्माण गर्न थाल्छ, जीवनमा आउने समस्याको समाधान खोज्नुको सट्टा त्यसबाट भाग्न खोज्छ अनि निराशाको चपेटामा पर्ने सम्भावना बढ्छ ।

त्यसो भए विद्यार्थीकेन्द्रित शिक्षालाई कसरी प्रयोगमा ल्याउने भनेर सोच्ने हो भने यसले विविध विकल्प दिन्छ । सर्वप्रथमतः विद्यालयले आफ्नो स्वरूप र संरचना, विद्यालय संस्कृति, शैक्षिक गतिविधि र सिकाइ संस्कारलाई समुदायअनुकूल बनाउनुपर्छ । अर्थात्, जुन ठाउँमा विद्यालय अवस्थित छ, त्यसको सामाजिक, सांस्कृतिक, भौगोलिक, आर्थिक, शैक्षिक र राजनीतिक अवस्था कस्तो छ, त्यसको अध्ययन जरुरी हुन्छ । त्यसपछि उक्त विद्यालयलाई नेतृत्व गर्ने व्यक्तिले ती सम्पूर्ण पक्षलाई ध्यानमा राख्दै नेपालको राष्ट्रिय पाठ्यक्रमको आधारमा टेकेर विद्यालयको वार्षिक एकीकृत मेगा कार्यक्रम बनाउनुपर्छ । जुन विद्यार्थीको समुदाय समेटिएको अनुभूति गराउने किसिमको हुनुपर्छ । 

तर, विडम्बना नै भन्नुपर्छ, विद्यालयको भौतिक संरचनादेखि लिएर शैक्षिक वातावरणमा समेत समुदायको छनक प्रायः भेटिँदैन । समाजको स्पन्दन नबुझेकाहरू नै समाजका लागि पुस्ता तयार गर्ने कार्यमा नेतृत्वदायी भूमिकामा देखिन थाल्छन् र विभिन्न सिद्धान्तको अलापमा जुट्दै आफ्नो परिधि र परिवेश भुल्दै सिकाइका आधार नै खोक्रो बनाइने कार्य सुरु हुन्छ । 

विविधताले भरिएको नेपाली समाजभित्र रहेका ज्ञान सिक्ने, ज्ञान खोज्ने प्रक्रिया ओझेलमा पारिँदै हिरा छोडी कोइलाको खोजीमा व्यग्र रहेको एक ठूलो जमात छ । जसले विद्यालयका शिक्षक जो वर्षौंदेखि पढाउँदै छन्, तिनलाई क्षमताविहीन देख्छ, टुरिस्ट प्रशिक्षकका रूपमा विद्यालयमा छिर्छ वा शिक्षकलाई प्रशिक्षण दिने क्रममा तिनको मनोबल गिराउन कुनै कसर बाँकी राख्दैनन् । सिकाइसँग सम्बन्धित केही सिद्धान्त कण्ठ पारी हरेक सिकाइ तिनै सिद्धान्तअनुरूप हुनुपर्छ भन्नेहरू स्वयं असाध्यै भ्रमित छन् । तिनले यो पनि सोच्दैनन् कि ती स्थापित सिद्धान्तको निर्माण कहाँ, कहिले र कसरी भयो ? ती सिद्धान्त प्रतिपादनमा नेपाली समाजको अध्ययन गरिएको थियो वा थिएन ? नेपालका सन्दर्भमा ती सिद्धान्त मात्रै पर्याप्त छन् वा सिकाइका विधिलाई समुदायसँग जोड्दै नयाँ सिद्धान्त पनि निर्माण गर्न सकिन्छ ? 

विद्यालय शिक्षामा यति धेरै भ्रम किन र कसले स्थापित गर्दै छन् ? त्यो एउटा छुटै अध्ययनको विषय होला तर वास्तवमा हेर्ने हो भने कक्षा ३ सम्मका विद्यार्थीलाई प्राकृतिक रूपमा सिक्न सक्ने शैक्षिक वातावरण बनाउन सकियो भने यो नेपालको विद्यालय शिक्षाको कायापलटमा एउटा कोसेढुंगा साबित हुन सक्छ । तिनले सिक्ने हरेक विषयलाई तिनका शिक्षकको सहयोगले तिनका दैनिकी, घर, समुदाय र विद्यालयसँग जोड्दै तिनको सिकाइ प्रवृत्ति र क्षमता दुवैलाई निखार्न सकिन्थ्यो विद्यार्थीकेन्द्रित शिक्षाका नाममा अर्को विकृत अभ्यास पनि भेटिन्छ, जस्तो कि विद्यार्थीलाई यस्तो उत्पादन कार्यमा लगाइदिने, जसको न भविष्य छ, न स्थानीय बजारको माग, न त अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने कुनै योजना । यस्ता सिकाइ आफैँमा त नराम्रो होइन, किनकि सिकाइ भनेको सिकाइ नै हो । तर, यस्ता सिकाइले भोलिको दिनका लागि कुनै आशा वा सम्भावना जन्माउन सक्दैन ।

यदि राज्य थोरै गम्भीर भइदिने हो भने विद्यालय तहको शिक्षाका लागि धेरै रुमल्लिनुपर्ने अवस्था हुँदैन । हरेक स्थानीय तहका सम्पूर्ण विद्यालयलाई राष्ट्रिय पाठ्यक्रमका आधारमा समुदाय र प्रविधिलाई जोड्दै राष्ट्रिय पाठ्यक्रमलाई राम्रोसँग अनुकरण गर्दै शिक्षकलाई विद्यालयभित्र सक्रिय रूपमा सिकाइलाई सहज बनाउन तल्लीन रहनुपर्ने अवस्था सिर्जना गर्न एक असल शैक्षिक नेतृत्व दिन सक्ने हो भने विद्यालय शिक्षालाई राम्रो बनाउन सकिन्छ । कक्षा ३ सम्म राम्रो आधार बनाइदिने हो भने माथिल्ला कक्षाका सिकाइ अवस्था पनि राम्रै हुँदै जाने सम्भावना रहन्छ । 

(झा समाजशास्त्री हुन्)

ad
ad
ad
ad