दक्षिण कोरियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएका सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गरेका छन्।
मानव अधिकारवादी नेतासमेत रहेका प्याकुरेललाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस गरेको थियो।
राजदूतमा नियुक्तिका लागि सिफारिस गर्नुअघि आफूसँग कुनै सरसल्लाह नभएको भन्दै उनले सिफारिस फिर्ता लिन प्रधानमन्त्री कार्यालयमा पत्र दर्ता गराएका हुन्।
‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेतसमेत दिइएन्,’ उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘राजदूतजस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु।’
राजदूत पदका लागि गरिएको सिफारिस फिर्ताका लागि आफूले प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराइसकेको उल्लेख गर्दै उनले सरकारले आफूप्रति देखाएको विश्वासका लागि धन्यवाद प्रकट गरेका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्याकुरेलसहित विभिन्न आठजनालाई विभिन्न आठ देशमा राजदूतका लागि सिफारिस गरेको थियो।
गत २४ जेठमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारले प्रमुख सत्तासाझेदार दल एमाले, माओवादी र रास्वपाबीचको सहमतिका आधारमा ती मुलुकका लागि राजदूत नियुक्ति सिफारिस प्रक्रिया थालेको थियो।
सोही क्रममा शुक्रबार मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा एमालेको प्रस्तावअनुसार आठ देशमा राजदूत सिफारिस भएको थियो। प्याकुरेल एमालेको कोटामा राजदूत सिफारिस भएका थिए।