१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ९ आइतबार १७:४२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सहकारीमा सुधार नआए बैंकको खराब कर्जा घट्दैनः गभर्नर अधिकारी

बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार १७:४२:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने धारणा राखेका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्त्वपूर्ण भएको बताउँदै उनले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन नसक्ने धारणा राखे।

‘सहकारीको विषयमा सोच्ने वेला भइसकेको छ। अर्थतन्त्रमा सहकारको भूमिका ठूलो छ। सहकारीहरू बैंकजस्तो भएर अगाडि बढ्दा समस्या देखिएको हो। हामीले सहकारीमा दोस्रो तहको नियामक आवश्यक छ भनेर २० वर्षअगाडिदेखि भन्दै आएका थियौँ। तर, कार्यान्वयन हुन नसक्दा समस्या आएको हो,’ उनले भने, ‘यो समस्या समाधान नहुँदासम्म बैंकको खराब कर्जा पनि घट्दैन, अर्थतन्त्रमा पनि सुधार आउँदैन।’

उनले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि दक्ष जनशक्तिसहितको संस्था र अन्य सहकारीको व्यवस्थापनका लागि दोस्रो तहको नियामक आवश्यक रहेको बताए।

यस्तै, उनले बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा पनि खराब कर्जा बढेको बताए। उनले अर्थतन्त्र चलायमान हुन नसक्दा, आर्थिक सिथिलता, रिकभरीमा समस्या र व्यवसायीमा मनोबल घटेका कारण खराब कर्जा बढेको धारणा राखे।

अहिले राष्ट्र बैंकले क्रेडिट स्कोरमा पनि प्राथमिकता दिइरहेको भन्दै उनले ऋण नतिर्दा पनि हुन्छ भन्ने गलत मानसिकताका कारण पनि बैंकको खराब कर्जा बढेको र अब त्यसको न्यूनीकरणका लागि राष्ट्र बैंकले क्रेडिट स्कोरलाई प्राथमिकता दिइरहेको जानकारी गराए।

उनले आर्थिक स्थिरताका लागि राजनीतिक स्थिरता पनि आवश्यक हुने धारणा राखे।

‘अन्य देशमा राजनीतिक स्थिरता भएकोले आर्थिक स्थायित्व हुन सकेको हो। नेपालमा राजनीतिक अस्थिरता हुँदा समस्या देखियो,’ उनले भने। उनले बैंकको नाफा बढी भएको भन्दै बजारमा हल्ला भइरहेको बताए पनि आठ प्रतिशतको औसत नाफा बढी नभएको तर्क दिए।

यस्तै, नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बढ्दै गएको खराब कर्जाले अर्थतन्त्रमा ठूलो समस्या सिर्जना गरिरहेको बताए।

‘राष्ट्र बैंकले ५ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्थाले बैंकरलाई दबाब छ,  बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा बढी हुन सक्छ,’ उनले भने, ‘खराब कर्जा अझैं पनि बढ्न सक्छ, यसले अर्थतन्त्रमा धेरै असर गर्छ।’

उनले इक्विटीभन्दा पनि रिजर्व बढाउनतर्फ बैंकले ध्यान दिनुपर्ने बताए। त्यसले बैंकलाई बलियो बनाउन टेवा पुग्ने उनको भनाइ छ। यस्तै, उनले बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिमा प्राथमिकता दिएर खर्च घटाउनतर्फ पनि ध्यान दिनुपर्ने धारणा राखे।