
गुल्मेली समाज जापानले गुल्मीका ७० घर अग्निपीडितलाई सात लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरवास गुमाएका प्रतिपरिवारलाई नगद १० हजारका दरले सहयोग गरिएको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिए।
आगलागी घटनाबाट जिल्लामा सबैभन्दा बढी प्रभावित इस्मा गाउँपालिकाका २८, मदाने गाउँपालिकाका दश, मुसिकोट नगरपालिकाका आठ, रुरुक्षेत्र गाउँपालिकाका सात र गुल्मीदरबार गाउँपालिकाका पाँच घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ।
त्यसैगरी, धुर्कोट गाउँपालिकाका पाँच तथा रेसुंगा नगरपालिका, छत्रकोट गाउँपालिका र मालिका गाउँपालिकाका दुई–दुई र कालीगण्डकी गाउँपालिकाका एक गरी कुल ७० घरपरिवारलाई समाजले आर्थिक सहयोग प्रदान गरेको हो।
समाजले अग्निपीडितको सहयोगको लागि जापानमा सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। संकलित रकम गुल्मीका पत्रकार जनार्दन घिमिरेको नेतृत्वमा विभिन्न पालिकाका पीडितसमक्ष पुर्याइएको हो।
केही स्थानमा आफैँ पुगेर र केही स्थानमा जनप्रतिनिधिमार्फत सहयोग पठाइएको घिमिरेले जानकारी दिए। गुल्मेली समाज जापानले जिल्लामा बाढीपहिरो, आगलागी, गम्भीर प्रकारका रोग र कोभिड महामारीलगायतका विपदमा सहयोग र सहजीकरण गरिरहेको छ।
कोभिड महामारीका वेला समाजले जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्था र गुल्मी अस्पताललाई १५ लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो।
सो अभियानमा नेपाल पत्रकार महासंघ गुल्मीले समाजलाई सहजीकरण गरेको थियो। आफूहरूको शरीर परदेशमा भए पनि मनमा मातृभूमि रहेकाले संस्थामार्फत लामो समयदेखि जिल्लावासीलाई सहयोग गर्दै आएको संस्थाका अध्यक्ष महेन्द्रकुमार अधिकारीले बताए।
गुल्मेली समाज जापानले अग्निपीडितहरुलाई पठाएको सहयोग रकम हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले गुल्मेली समाज जापानको सामाजिक कामको उच्च प्रशंसा गरे।
गुल्मेली समाज जापानले पठाएको उक्त रकम पालिकाका प्रमुख, उपप्रमुख एवं वडाध्यक्षहरूको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो।