१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
काठमाडौंस्थित सिटी सेन्टरमा खाली भएपछि भाडामा दिन टु–लेट लेखिएका सटर । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका
२०८० चैत १५ बिहीबार ०९:०५:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

खस्कियो भाडाको व्यवसाय : घर तथा सटर भाडाको मूल्यवृद्धिदरमा संकुचन

Read Time : > 3 मिनेट
२०८० चैत १५ बिहीबार ०९:०५:००

व्यावसायिक भवन, मल, सटर, फ्ल्याट तथा कोठाभाडाको मूल्यवृद्धिदरमा संकुचन देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८०/८१ को माघ महिनामा यस्तो भाडाको मूल्यवृद्धिदर २.७५ प्रतिशत मात्रै रहेको छ । गत आवको माघ महिनाको तुलनामा यो ७.०३ प्रतिशत विन्दुले कम हो । गत आवको माघ महिनामा भाडाको मूल्यवृद्धिदर ९.७८ प्रतिशत थियो ।  

कोरोना काल सुरु भएको आव ०७६/७७ मा यस्तो वृद्धिदर ४.७४ प्रतिशत थियो । कोरोनाले पूर्ण रूपमा प्रभावित आव ०७७/७८ मा भने भाडाको मूल्यवृद्धिदर ०.९७ प्रतिशत मात्रै थियो । त्यसबाहेकका आवहरूमा यस्तो भाडाको मूल्यवृद्धिदर ५–६ प्रतिशतभन्दा माथि थियो । तर, चालू आवमा पुनः भाडाको मूल्यवृद्धिदर घटेको राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ भन्छन्–

हामी चार सय ९६ वटा वस्तु तथा सेवाको मूल्यमा हुने परिवर्तनका आधारमा समग्र मुद्रास्फीति गणना गर्छाैँ । त्यसमा भाडाको भारित हिस्सा सबैभन्दा बढी अर्थात् २०.३० प्रतिशत छ, त्यो अवस्थामा भाडाको मूल्यवृद्धिदरमा आउने परिवर्तनले समग्र मुद्रास्फीतिलाई प्रभावित गरेको हुन्छ । अहिले मुद्रास्फीति घट्नुको कारण भाडाको मूल्यवृद्धिदरमा आएको कम पनि हो ।

राष्ट्र बैंकले विभिन्न चार सय ९६ वटा वस्तु तथा सेवाको मूल्यमा हुने परिवर्तनका आधारमा समग्र मूल्यवृद्धिदर गणना गर्छ । त्यसमा भाडाको भारित हिस्सा सबैभन्दा बढी अर्थात् २०.३० प्रतिशत छ । यसमा खानेपानी र विद्युत्को समेत मूल्यवृद्धि समावेश छ । आमउपभोक्ताले गर्ने खर्चमा भाडाबापत हुने खर्च पनि उच्च हुन्छ । तसर्थ, मूल्यवृद्धिदरमा यसको भारित हिस्सा धेरै राखिएको छ । भाडाको वृद्धिदरमा हुने परिवर्तनले औसत मूल्यवृद्धिदर नै प्रभावित हुने गर्छ ।

राष्ट्र बैंकका अनुसार ०७९ माघमा ७.८८ प्रतिशत रहेको समग्र मूल्यवृद्धिदर गत माघमा ५.०१ प्रतिशतमा सीमित छ । रुस–युक्रेन युद्धलगायतका कारण गत आवमा बढेको मूल्यवृद्धिदर अहिले घट्दै गएको छ । त्यसलाई घटाउन भाडाको इन्डेक्सले पनि महŒवपूर्ण योगदान दिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए ।

‘हामीले चार सय ९६ वटा वस्तु तथा सेवाको मूल्यमा हुने परिवर्तनको आधारमा समग्र मुद्रास्फीति गणना गर्छाैँ । त्यसमा भाडाको भारित हिस्सा सबैभन्दा बढी अर्थात् २०.३० प्रतिशत छ,’ उनले भने, ‘त्यो अवस्थामा भाडाको मूल्यवृद्धिदरमा आउने परिवर्तनले समग्र मुद्रास्फीतिलाई प्रभावित गरेको हुन्छ । अहिले मुद्रास्फीति घट्नुको कारण भाडाको मूल्यवृद्धिदरमा आएको कम पनि हो ।’

किन संकुचन भयो वृद्धिदर ?
पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण भाडाको मूल्यवृद्धिदरमा संकुचन आएको कार्यकारी निर्देशक डा. श्रेष्ठ बताउँछन् । बजारमा वस्तु तथा सेवाको माग कम हुँदा व्यवसायीहरू पलायन भएका छन् । साथै, नयाँ व्यक्ति तथा व्यवसायी आएर पनि व्यवसाय सुरु गर्न सकेका छैनन् । त्यसले गर्दा व्यापार तथा व्यवसायका लागि दिइने सटरहरूको माग न्यून भएको छ । शिक्षा तथा रोजगारीका लागि युवाहरू बाहिरिँदा आवासयीय कोठा तथा फ्ल्याटको माग पनि कम हुँदै गएको छ । त्यसको असरले भाडाको मूल्यवृद्धिदर कम हुँदै गएको श्रेष्ठ बताउँछन् । 

‘ठाउँ–ठाउँमा सटरहरू खाली भएका छन् । भाडा घटाउँदा पनि नयाँ व्यवसायीहरू आउन सकेका छैनन् । अझै पनि ठाउँ–ठाउँमा ‘सटर भाडामा छ’, ‘पसल बिक्रीमा छ’जस्ता सार्वजनिक सूचना देखिन्छन्,’ उनले भने, ‘युवाहरू विदेश पलायन हँुदा पनि फ्ल्याट तथा कोठाको माग न्यून छ । यी यस्ता कारण भाडाको मूल्यवृद्धिदर खुम्चिँदै गएको छ ।’ 

अनलाइन सपिङको कल्चर बढ्दा पनि यस्तो अवस्था आएको उनको भनाइ छ । अहिले अनलाइनमार्फत अर्डर गरेर घरमै वस्तु तथा सेवा पाउन सकिन्छ । त्यो अवस्थामा सटरहरूको प्रयोग घट्न थालेको छ । ‘अहिले व्यवसायीले अनलाइनबाटै कपडालगायतका वस्तुहरू बिक्री गर्न थालेका छन् । कुनै ठाउँमा स्टोरमा सामान राख्छन् र अनलाइनमार्फत अर्डर लिएर सामान बिक्री गर्दै आएका छन् । त्यसले गर्दा व्यावसायिक तथा व्यापारिक सटरहरूको माग न्यून भएको छ,’ उनले भने, ‘खाने कुराहरू पनि अनलाइनबाटै अर्डर गर्दा घरसम्मै आउँछ । रेस्टुरेन्टमा बसेर खाने प्रचलन न्यून हुँदै गएको छ । त्यसले गर्दा रेस्टुरेन्टका लागि प्रयोग हुने ठाउँमा माग कम भएको छ । यसरी प्रविधिको प्रयोग बढ्दा पनि भाडाको वृद्धिदर न्यून भएको छ ।’ 

यस्तो मूल्यवृद्धिदर घट्नु सकारात्मक, व्यवसायको खर्च घट्ने 
भाडाको मूल्यवृद्धिदर घट्नुलाई सकारात्मक रूपमा लिइएको छ । घरधनीले मनपरी रूपमा भाडाको मूल्य तोक्दै आएका थिए, अहिले त्यसमा संकुचन आउनु सकारात्मक भएको सरोकारवाला बताउँछन् । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठले पनि यसका कारण व्यवसायको खर्च घटाउन ठूलो सहयोग पुग्ने बताए । ‘अधिकांश व्यवसायमा भाडाबापत हुने खर्च धेरै नै हुन्छ । सोही भाडाको मूल्यवृद्धिदर खुम्चिनु एकदमै राम्रो पक्ष हो,’ उनले भने, ‘यसले व्यवसायमा हुने खर्च घटाउन सहयोग पु¥याउँछ ।’

प्राइम लोकेसनका घर पनि महिनौँसम्म खाली 
काठमाडौं उपत्यकाभित्रका न्युरोड, दरबारमार्ग, कमलादी, पुतलीसडक, हात्तीसार, कलंकी, कालीमाटीजस्ता व्यावसायिक क्षेत्रमा सटर तथा कार्यालय प्रयोेजनका लागि फ्ल्याट पाउनुलाई भाग्यमानी नै मानिन्थ्यो । घर बन्नुअघि नै तथा खाली हुनुपूर्व नै सटर र फ्ल्याट बुक भइसकेको हुन्थ्यो । तर, अहिले खाली भएका सटर तथा फ्ल्याट भाडामा लगाउन घरबेटीलाई धौधौ परिरहेको छ । प्राइम लोकेसनको घरमा सार्वजनिक सूचना नै टाँस्दा पनि महिनौँसम्म सटर तथा फ्ल्याट भाडामा गएको छैन । भाडाको मूल्य घटाउँदा पनि सटर र फ्ल्याट भाडामा नगएको घरबेटी बताउँछन् । 

आर्थिक शिथिलताका कारण केही व्यापारी तथा व्यवसायीहरू व्यवसायबाट पलायन भएका छन् । उनीहरूले छाडेपछि खाली भएका सटर भाडामा लगाउन मुस्किल भएको छ । न्युरोडका घरधनी मनमोहन श्रेष्ठकोे घरको फ्ल्याट तथा सटर भाडामा नगएको एक महिनाभन्दा बढी भइसक्यो । व्यापार राम्रो नभएपछि यसअघिका व्यापारीले सटर र फ्ल्याट खाली गरेका थिए । त्यसपछि सटर र फ्ल्याट भाडामा लगाउन नसकेको उनको भनाइ छ । उनले आफ्नो घरको ग्राउन्ड, पहिलो र दोस्रो तला भाडामा दिने भनेर सूचना टाँसेको महिना दिनभन्दा बढी भयो । तर, अझै कुनै व्यवसायी नआएको उनले बताए । बल्ल–बल्ल सटर भाडामा गए पनि सम्बन्धित व्यापारीले दुई–तीन महिनामै व्यापार भएन भन्दै छाड्ने गरेका छन् ।  

मुख्यतः आर्थिक शिथिलताकै कारण यस्तो समस्या आएको उनको भनाइ छ । ‘पहिला–पहिला सटर र फ्ल्याट खाली हुनै पाउँदैनथे । अहिले महिना दिनसम्म पनि भाडामा लगाउन सकिएको छैन,’ उनले भने, ‘व्यापार भएन भनेर पहिलाका व्यापारीले छाडेर गए । अहिले नयाँ आउन सकेका छैनन् । बीचमा एक–दुईजना आएका पनि थिए । तर, व्यापार भएन भन्दै दुई–तीन महिनामै छाडेर गए ।’ 

पहिलाको भन्दा सस्तोमा दिन्छु भन्दा पनि ग्राहक पाउन नसकेको उनले बताए । ‘पहिलाको भन्दा सस्तो मूल्यमा सटर र फ्ल्याट भाडामा दिन्छु भनेका छौँ । तैपनि, ग्राहक पाउन सकिएको छैन,’ उनले भने । न्युरोड क्षेत्रमा पार्किङ अभावका कारण पनि सटर भाडामा लगाउन मुस्किल परेको उनी बताउँछन् । अर्का न्युरोडकै घरधनी किरण श्रेष्ठको घरको सटर पनि एक महिनादेखि खाली छ ।

दरबारमार्गको एक व्यावसायिक भवनको दोस्रो तला पनि एक महिनादेखि खाली छ । सात सय ८० वर्गफिटको उक्त फ्ल्याट भाडामा लगाउन नसकेको सम्पर्क व्यक्ति अम्रिस त्रिपाठीले बताए ।