मटिहानी नगरपालिका– ७ घर भएकी रागनी ठाकुरका श्रीमान् उमेश ठाकुरले मटिहानी बजारमै कपाल काट्ने सैलुन खोलेका छन्। आमाबुबा, श्रीमती र तीन सन्तानको भरणपोषण उमेशले सोही सैलुनको कमाइले गर्दै आएका छन्। तर, सैलुनको कमाइले घरको सबै व्यवहार मिलाउन भने सहज छैन। श्रीमानले एक्लै घर व्यवहार चलाउनुपरेको असहजतालाई सहज बनाउन रागनीले आफूले समेत अर्थोपार्जन गर्नुपर्ने भन्दै युएसएआइडी लोकल वर्कर्स परियोजना महोत्तरीअन्तर्गत प्रकोप व्यवस्थापन अध्ययन केन्द्र मटिहानीले सञ्चालन गरेको अगरबत्ती बनाउने तालिम लिइन्।
तालिमपश्चात् अगरबत्ती बनाउन पोख्त भएकी रागनीले आफैँ अगरबत्ती बेच्न पनि सुरु गरिसकिन्। अगरबत्ती लिन अहिले छिमेकीहरू उनको घरमै आइपुग्छन्। हातले नै बनाउँदा समय धेरै लाग्ने भएकाले उनले अपेक्षाकृत आर्जन गर्न सकेकी छैनन्, तैपनि उनले बनाएका अगरबत्तीलाई बजारको अभाव छैन। अगरबत्ती बनाउने मेसिन उपलब्ध भए अहिले घरमै सीमित रहेको अगरबत्तीको व्यापारलाई बजारसम्म पुर्याउने उनको योजना छ।
मटिहानी– ७ कै मरनीदेवी सहनीको घरको आर्थिक अवस्था पनि रागनीको भन्दा फरक छैन। उनलाई समेत श्रीमानले नै आर्जन गरेको पैसाले घरव्यवहार मिलाउनुपर्दा समस्या थियो। तर, सोही संस्थाले सञ्चालन गरेको चुडी (चुरा) बनाउने तालिमपछि उनी घरमै विभिन्न कलात्मक चुडी बनाउन पोख्त भएकी छिन्। रागनी र मरनीदेवी दुवैले तालिमपश्चात् संस्थाबाट बिउ पुँजीको रूपमा १५ हजारका दरले रकम पाएका थिए। सोही पैसाले दुवैजनाले अगरबत्ती र चुडी बनाउन आवश्यक सामग्री खरिद गरी आफ्नो व्यवसाय बढाउन लागिपरेका छन्। घरेलु उद्योगजस्तो चलाएर घरको आर्थिक अवस्था सुधार गर्न सकिए व्यवसायलाई निरन्तरता दिनु उपयुक्त हुने उनीहरूको भनाइ छ।
रागनी भन्छिन्, ‘सैलुनमा उहाँ (श्रीमान्)को आम्दानी तोकिएको हुँदैन। कुनै दिन ग्राहक भए राम्रै पैसा हुन्छ। कुनै दिन रित्तो हात फर्कनुहुन्छ। अहिले मैले बेचेको अगरबत्तीले भने घरमा रासनपानी चलाउन सहज भएको छ। उहाँ पनि मैले काम गरेको देख्दा खुसी हुनुभएको छ।’
यता मरनीदेवीलाई उनकी जेठी छोरीले समेत काममा सहयोग गर्न थालेकी छिन्। पैसाकै कारण पढाइलाई निरन्तरता दिन समस्या भएपछि आमासँगै काम गर्न थालेकी उनको अध्ययनमा समेत अहिले केही आर्थिक सहयोग पुगेको छ। ग्राहक घरमा समेत आउने र बजारमै पनि चुडी राम्रोसँग बिक्री भइरहेको मरनीको भनाइ छ। उनी थप्छिन्, ‘पुँजी अझै भए व्यापारलाई अरू बढाउन सकिने भए पनि तत्काल जे छ, त्यसमै राम्रो गर्ने प्रयास गर्दै छु। आशा छ मेरो पनि योगदानले घरको आर्थिक अवस्था सुध्रँदै जानेछ।’
यी दुई उदाहरणका पात्र मात्र हुन्। मटिहानी नगरपालिकाको वडा नं. १, ७ र ९ का ३२७ जना महिला र पुरुषले विगत दुई वर्षको अवधिमा प्रकोप व्यवस्थापन अध्ययन केन्द्रको सहयोगमा बगर खेती तालिम, कुखुरापालन तालिम, करेसाबारी तालिम, च्याउखेती, नर्सरी खेती, खनिज ढिक्का बनाउने, मोटरसाइकल मर्मत, इलेक्ट्रिसियन, तयारी खाना बनाउने, बाँसको सामग्री तथा अगरबत्ती बनाउने, मास्क बनाउने, मोबाइल मर्मत र लाहचुरा बनाउने तालिम प्राप्त गरिसकेका छन्। जसमध्ये अधिकांशले ६ हजार र १५ हजारका दरले बिउ पुँजीसमेत लिएर व्यवसाय सुरु गरिसकेका छन्। तालिम लिएकामध्ये अधिकांश तालिमअनुसारकै व्यवसाय गरेर आर्थिक आर्जन गर्दैआएका छन्।
विगत दुई वर्षको अन्तरालमा मटिहानीको तीनवटै वडाका सयौँ जोखिममा रहेका समुदाय, घरधुरी र व्यक्तिहरूलाई उनीहरूको रुचिका विषयको तालिम प्रदान गरी बिउ पुँजीसमेत प्रदान गरेर आयआर्जन गर्न सक्ने बनाइएको र यो आफ्नो कार्यक्रमको ठूलो उपलब्धि रहेको युएसएआइडी लोकल वर्कर्स महोत्तरी परियोजनाका कार्यक्रम व्यवस्थापक राजेश राई बताउँछन्।
उनले अधिकांश स्थानमा तालिमपश्चात् तालिम लिएकाहरूले सोही काम नगर्ने र तालिम व्यर्थ जाने देखिए पनि मटिहानीमा त्यस्तो नभएको भन्दै खुसी व्यक्त गरे।