कपिलवस्तुमा चालू आर्थिक वर्षमा ३३ जना औलो रोगी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार निवारणमा चुनौतीपूर्ण मानिएको औलो रोग स्थानीयभन्दा आयातित बढी भएको रहेको पाइएको छ।
कपिलवस्तु जिल्ला अस्पतालका औलो रोग फोकल पर्सन उदयचन्द्र चौरसियाका अनुसार यो सरुवा रोग एनोफोलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुन्छ। औलो रोग लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा परजीवी पनि चुस्छ र लामखुट्टे संक्रमित हुन्छ। त्यही संक्रमित लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा औलो (मलेरिया) सर्छ।
स्थानीय रूपमा औलो रोग सार्ने लामखुट्टे नभए पनि समुदायका व्यक्ति आफ्नो घर छोडी टाढा जाँदाको अवस्थामा संक्रमण भएर फर्किएको अवस्थालाई आयातित औलो भनिन्छ। कपिलवस्तुमा संक्रमित ३३ मध्ये २४ जनामा आयातित संक्रमण फेला परेको फोकल पर्सन चौरसियाले बताए।
कपिलवस्तु नगरपालिकामा आयातित संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। आयातित केसमा ७० प्रतिशतभन्दा बढी छिमेकी मुलुक भारतका विभिन्न सहरबाट आएका नेपालीहरूमा संक्रमण दर बढी देखिएको उनको भनाइ छ।
गत वर्ष कडा खालका २ जना र नरम खालका ११ जना १३ जनामा औलो फेला परेको थियो। चालू आर्थिक वर्षको ९ महिनामा औलो संक्रमितको संख्या झन्डै तेब्बर पुगेको छ। कपिलवस्तुमा चालू आवमा ५ हजार ७ सय ६७ जना बिरामीहरूको औलो रोगसम्बन्धी रगत परीक्षण गरिएको छ।
औलो रोग परीक्षण तथा उपचारका लागि कपिलवस्तुका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरूमा निःशुल्क व्यवस्था रहेको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले विश्व औलो रोग दिवसका अवसरमा ‘औलोविरुद्धको लडाइँलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ,’ भन्ने नारासहित अभियान सञ्चालन गरेको छ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले सरकारको सन् २०२५ भित्र औलो रोग उन्मूलन अभियानलाई सफल बनाउन, औलो जोखिम क्षेत्र पहिचान गरी रगत परीक्षणका कार्यक्रमहरू सञ्चालन गरेको, सीमा नाका तथा समुदायमा सचेतना अभियान सञ्चालन गरेको, जोखिम क्षेत्रहरूका झुल वितरण तथा कीटनाशक औषधिहरूको प्रयोग बढाएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख डा. नारायण चौधरीले बताए।