दुर्व्यसनी सुधार केन्द्रमा राखिएका एक युवकको मृत्यु भएको घटनामा अनुसन्धानका लागि प्रहरीले सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिएको छ।
घोडाघोडी नगरपालिका–४, भालुफाँटामा रहेको नयाँ बाटो सुधार केन्द्रमा राखिएका २५ वर्षीय सुनील शाहीको बुधबार राति मृत्यु भएको थियो।
घटना शंकास्पद देखिएको भन्दै प्रहरीले सुधारगृह सञ्चालक, सञ्चालक समितिका अध्यक्ष र सुधार केन्द्रमा राखिएकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो। नियन्त्रणमा लिएकाहरूसँग घटनाबारे सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिएकी छिन्।
सुधार केन्द्रका सञ्चालक बल खत्री, सञ्चालक समितिका अध्यक्ष होम तामाङ तथा सुधार केन्द्रमा राखिएका १५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना शंकास्पद देखिएकोले प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताइन्।
प्रहरीका अनुसार मृतक शाहीको कम्मर, दुवै हात, निधार र घाँटीमा घाउ र चोटपटक देखिएको छ। सुधार केन्द्रले भने भाग्नका लागि एकतले भवनको छतबाट राति हाम फालेपछि शाहीको मृत्यु भएको दाबी गरेको प्रहरीले जनाएको छ। घाइते शाहीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी चार महिनादेखि सुधारगृहमा थिए।
मृतकका आफन्तले घटना शंकास्पद रहेकाले छानबिन हुनुपर्ने माग गरेका छन्। सुधार केन्द्रले २५ दिनदेखि सुनीलसँग भेट्न र कुराकानी गर्न नदिएको आफन्तले जनाएका छन्।
आफन्तबाट किटानी जाहेरी भने नआएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ।