१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Thursday, 20 June, 2024
यम बम काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बर्खामा देशभर धेरै वर्षाकोे प्रक्षेपण

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:२५:oo

असार–साउनमा औसतभन्दा कम पानी पर्ने, त्यसपछि धेरै पानी पर्ने मौसम विभागको आकलन

यो बर्खामा देशभर समग्रमा धेरै पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । अघिल्लो वर्ष बर्खामा औसतभन्दा कम पानी परेको थियो । 

यसपटक भने मध्यनेपालमा कास्की, स्याङ्जा, लमजुङ, मनाङ, मुस्ताङको दक्षिणी भेग, म्याग्दी र बागलुङको पूर्वी क्षेत्र,  गुल्मीको पूर्वी–उत्तरी तथा तनहुँ र गोरखाको पश्चिम र उत्तरी भेगमा धेरै पानी पर्ने सम्भावना छ । त्यस्तै, पूर्वी नेपालमा सप्तरी, सिराहाको आधाभन्दा धेरै भाग, सर्लाही, महोत्तरी र धनुषाको दक्षिणी क्षेत्र, सुनसरीको पश्चिमी र उदयपुरको दक्षिणी क्षेत्रमा धेरै वर्षाको आकलन गरिएको छ ।

औसत पानी पर्ने आकलन गरिएका क्षेत्रमा पश्चिम नेपालमा दार्चुला, बैतडी  र बझाङको पूरै क्षेत्र, बाजुरा र हुम्लाकोे पश्चिमी क्षेत्र, डोटीको उत्तरी भेग, डडेल्धुराको पश्चिम–उत्तर क्षेत्र  रहेका छन् । त्यस्तै, मध्य र पूर्वी नेपालमा रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा र उदयपुरमा औसत वर्षाको सम्भावना छ । काभ्रेको पूर्वी, ताप्लेजुङ र तेह्रथुमको पश्चिमी, संखुवासभा, सोलुखुम्बु, दोलखा र रामेछापको दक्षिणी क्षेत्र, सर्लाहीको पूर्वी तथा महोत्तरी, धनुषा, सिराहा र सुनसरीको उत्तरी क्षेत्रमा पनि औसत वर्षाको सम्भावना देखिन्छ ।

‘औसत  र औसतभन्दा पनि धेरै पानी पर्नेबाहेक क्षेत्रमा औसतभन्दा केही धेरै वर्षा हुने देखिएको छ । वर्षा औसतभन्दा धेरै भए पनि अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा बढी हुने देखिन्छ,’ विभागका मौसमविद् सुदर्शन हुमागाईंले भने ।

नेपालले सम्भाव्यतामा आधारित आकलन गर्ने भएकाले कति प्रतिशत वर्षा हुन्छ भनेर भन्दैन । ‘परिमाणात्मक आकलन गर्न हामीसँग प्रविधि र दक्षता पनि छैन,’ हुमागाईंले भने, ‘अध्ययन, अनुसन्धान र प्रविधिको खाँचो हुन्छ । ग्लोबल मोडलले दिने तथ्यांक सहजै पाउन सक्दैनौँ । अन्य मुलुकसँग औपचारिक रूपमा मौसमसँग सम्बन्धित तथ्यांक आदान–प्रदान हुन सकेको छैन ।’ 

नेपाल मात्र होइन, यसपटक दक्षिण एसियाली मुलुकमै औसतभन्दा धेरै वर्षाको आकलन दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ) ले गरेको थियो । नेपालले सन् २०२० देखि विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपको आकलन, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा आकलन गर्ने प्रारूप र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा मनसुनी प्रक्षेपण गर्ने गरेको छ । 

गत वर्ष मनसुन सिजनमा प्रशान्त महासागरमा एलनिनोको अवस्था विकसित हुँदा वर्षा कम भएको थियो । अघिल्लो बर्खामा आकलन गरेअनुसार नै औसतभन्दा कम वर्षा भएको थियो । एक हजार ४७२ मिलिमिटर (८५.५ प्रतिशत) वर्षा भएको थियो । नेपालमा वार्षिक वर्षाको ८०.५% अर्थात् एक हजार ३७४.१ मिलिमिटर वर्षा हुन्छ । सामान्यतः जेठ अन्तिम साता अर्थात् १३ जुनमा मनसुन भित्रिन्छ भने २ अक्टोबरसम्म रहन्छ । तर, कहिले मनसुन भित्रिन्छ र सुरुवाती अवस्था कस्तो हुन्छ भनेर पनि नेपालले प्रक्षेपण गर्न सकेको छैन ।

वर्षा धेरै हुने तर गर्मी किन ?
यसपटक बर्खामा औसतभन्दा धेरै पानी पर्ने आकलन गरिए पनि गर्मी भने धेरै खेप्नुपर्नेछ । अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने आकलन छ । मौसमविद् सुदर्शन हुमागाईं भन्छन्, ‘यसको अर्थ मनसुनको उत्तरार्धमा पानी धेरै पर्छ भन्ने हो । सुरुका दुई महिनामा अलि कम पानी पर्ने देखिन्छ ।’

हाल एन्सो तटस्थ अवस्थामा छ, अगस्ट पहिलो सातादेखि लालिनाको अवस्था विकसित हुने अन्तर्राष्ट्रिय प्रारूपहरूले देखाएको छ । भूमध्यरेखीय पूर्वी प्रशान्त महासागरको तापक्रम सरदरभन्दा कम हुुनुलाई लालिना भनिन्छ । बर्खामा लालिनाको सक्रियता बढ्यो भने त्यसले नेपाल–भारतलगायत देशमा वर्षा बढी गराउँछ । लालिना ढिलो सक्रिय हुने कारण त छँदै छ । 

गर्मी वा सुक्खा हुन सक्ने अर्काे कारण हो, मनसुनको प्याटन । पछिल्ला वर्षहरूमा बर्खामा एकनासको पानी पर्न छाडेको छ । जस्तो, गत वर्ष औसतभन्दा एक दिन ढिलो ३१ जेठमा पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो, लगत्तै पूर्वी नेपालमा बाढीपहिरोको वितण्डा मच्चियो । तर, पश्चिम नेपालमा भने आगलागीका घटना थिए । मनसुन देशभर फैलन नै २२ दिन लागेको थियो । बीचबीचमा मनसुन निष्क्रिय बन्दा तराई–मधेशमा बर्खामै खडेरीको अवस्था थियो । 

‘यसपटक पनि विषम मौसमी घटनाको सम्भावना छ । छोटो समयमा धेरै पानी पर्ने र धेरै दिनसम्म सुक्खा हुने प्रवृत्ति देखिन सक्छ,’ मौसमविद् हुमागाईंले भने । त्यही भएर मौसम विज्ञान विभागले ब्याड धान रोपाइँका लागि समग्र मनसुन सिजनको प्रक्षेपण नभई छोटो अवधिका (तीन दिन, कृषि मौसम बुलेटिन)लाई हेर्न आग्रह गरेको छ । 

विज्ञान विभागका वरिष्ठ मौसमविद् विभूति पोखरेलले नेपाललगायतका देश जलवायु परिवर्तनको चरम मारमा रहेको बताइन् । वायुमण्डलमा तीव्र परिवर्तन, नेपालमा उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा मापन केन्द्र निकै कम हुनुले पनि मौसमी प्रणाली यकिन गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ । ‘गत वर्ष समग्रमा औसत हाराहारी पानी परेको थियो । तर, रोपाइँ गर्ने वेला पानी परेन । असाधारण भइरहेको छ,’ हामीले सिजनभरको प्रक्षेपण गर्ने गर्छाैँ । हामीले भनेकै हुन्छ भन्ने हुँदैन ।’  

वर्षा बढी हुँदा यो वर्ष पनि बाढीपहिरोका घटना बढ्न सक्ने आकलन पनि गरिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बर्खामा सबैभन्दा बढी क्षति बाढीपहिरोबाट हुने गरेको र यसपालि औसतभन्दा धेरै वर्षा हुँदा जोखिम अझ बढेको बताए । ‘हामी मनसुनको पूर्वतयारी कार्ययोजना बनाउने चरणमा छौँ,’ उनले भने, ‘तर, वर्षाको सिजनल प्रक्षेपण गरेर मात्र क्षति घटाउन सकिँदैन । कहाँ, कस्तो खालको पानी पर्छ भनेर प्रभावमा आधारित प्रक्षेपणको आवश्यकता छ ।’
 

ad
ad
ad
ad