2025-09-16-02-24-04.jpeg)
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेन–जी आन्दोलनका क्रममा आगजनीमा खण्डहर बनेका प्रदेशका मन्त्रालय र धनगढीस्थित सरकारी कार्यालयहरूको निरीक्षण गरेका छन्। घटनाको करिब एक सातापछि मुख्यमन्त्री शाह सार्वजनिक रूपमा निस्किएका हुन् । नेपाली सेनाको संरक्षणमा रहेका उनले सोमबार आफ्नो पार्टी कांग्रेस संसदीय दलको बैठक गरेका थिए । मुख्यमन्त्री शाहले आगजनीले क्षतिग्रस्त बनेका प्रदेश मन्त्रालय, जिल्ला अदालतलगायत निकायको निरीक्षण गरे ।
केही मन्त्रीसहित मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, प्रदेश सभा, सामाजिक विकास मन्त्रालयसहित अन्य कार्यालयको निरीक्षण गरेका मुख्यमन्त्री शाहले कार्यालयहरूबाट सेवा सञ्चालनका लागि सरकारले सहयोग गर्ने बताए ।
उनले आगजनी र तोडफोड भएका संरचना सरसफाइ र व्यवस्थापन गरेर सेवा सञ्चालन गर्न कर्मचारीहरू खटिरहेका बताए । छिटोभन्दा छिटो सेवा सुरु गर्न निर्देशन दिइएको पनि मुख्यमन्त्री शाहको भनाइ छ । जेन–जीको आन्दोलनका क्रममा कैलालीमा दर्जनौँ सरकारी संरचनामा तोडफोड तथा आगजनी भएको छ ।
आन्दोलनकारीले आगो लगाउँदा मुख्यमन्त्री कार्यालयभित्रका सबैजसो सामान जलेर नष्ट भएका छन् भने अन्य मन्त्रालयमा पनि क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलालीमा १३७ भन्दा बढी सरकारी कार्यालयमा आन्दोलनकारीले क्षति पुर्याएका छन् ।