
दुई महिनादेखि गुल्मीको जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुखविना नै चलिरहेको छ । ३ असार ०७५ मा कार्यालय प्रमुखका रूपमा आएका डिल्ली विक गत १० माघमा सरुवा भएर गए । त्यसयता कार्यालय सहयोगीका भरमा दैनिक कार्य सञ्चालन भइरहेको छ । प्रतियोगिताका लागि पत्राचार गर्ने काम समितिका पदाधिकारीले गरिरहेका छन् ।
दुई महिनादेखि कार्यालय प्रमुख र प्रशिक्षक नभएको जानकारी राष्ट्रिय खेलकुद परिषद्मा समेत दिएको जिल्ला विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले बताएका छन् । तर, सम्बन्धित निकायबाट अहिलेसम्म जवाफ नपठाएको उनले बताए । ‘हामीले रिक्त रहेको पदबारे राखेपका सम्बन्धित पदाधिकारीलाई जानकारी गराएका थियौँ, तर अहिलेसम्म कार्यालय प्रमुख र प्रशिक्षक यहाँ कहिले आउने टुंगो नै लागेको छैन ।’
समितिमा लेखा अधिकृत र कम्प्युटर अप्रेटर नभएको उनले बताए । पदाधिकारीले कार्यालयको कार्यसम्पादन गर्न नसक्ने भएकाले एक महिनादेखि अस्थायी कर्मचारी राखेको उनले जनाए । ‘अहिले कार्यालय प्रमुख छैनन्, हामीले दैनिक काम गर्न अस्थायी कर्मचारी राखेका छौँ,’ उनले भने, ‘यसैअनुरूप खेलको व्यवस्थापन भइरहेको छ ।’ जिल्लाको खेलकुद विकासको क्षेत्रमा काम गर्ने विकास समिति कार्यालय प्रमुखको भरमा चल्ने उनले बताए ।
विगतका समयमा कार्यालय प्रमुखले लेखाको कामसँगै पत्र लेख्ने, दर्ता–चलानी गर्ने र पत्र पुर्याउनेसमेतको काम गर्नुपर्ने बाध्यता रहेको गिरीप्रसादले जनाए । दुई महिनादेखि कार्यालय प्रमुख नहुँदा चिठीपत्र, प्रशासन, लेखा र क्लबका सिफारिसलगायत काम प्रभावित बनिरहेको उनले बताए ।
अर्घाखाँचीमा कार्यालय सहयोगीसमेत छैनन्
गुल्मीमा कार्यालय प्रमुखविना नै समिति चलिरहेको छ । अर्घाखाँचीको खेलकुद विकास समितिमा कार्यालय सहयोगीसमेत छैनन् । समितिले अस्थायी नियुक्त गरेका एकजना कर्मचारी शिक्षक सेवा आयोगमा नाम निकालेपछि उतै गए । आठ महिनादेखि कार्यालयमा कर्मचारी नै नहुँदा दैनिक कामकाजमा प्रभाव परेको अध्यक्ष विष्णु क्षेत्रीले बताए । आफ्नै भवन नहुँदा कोठा लिएर समितिले काम गरिरहेको उनको भनाई छ ।
‘पहिले भाडामा कार्यालय सञ्चालन भएको थियो, अहिलेभाडा तिर्न सक्ने अवस्था नभएपछि जिल्ला समन्वय समितिमा कोठा मागेर कार्यालय सञ्चालन भइरहेको छ,’ क्षेत्रीले भने, ‘कार्यालयको आफ्नै जग्गा भए पनि आर्थिक स्रोत नहुँदा भवन निर्माण गरिएको छैन ।’ राष्ट्रपति रनिङ सिल्ड हुँदा समितिका पदाधिकारी र शिक्षकहरू व्यवस्थापन गरिएको क्षेत्रीले बताए । उनले प्रतियोगिताबाहेक दैनिक सेवाप्रवाहको काम खेलकुद विकास समितिका पदाधिकारीबाटै हुँदै आएको जानकारी उनले दिए । ‘स्रोत र साधनविना काम गर्न मुस्किल छ । कार्यालय सहयोगीसमेत राख्न सक्ने अवस्था छैन,’ उनले भने, ‘उल्टो प्रतियोगिता गर्दा बर्सेनि डेढदेखि दुई लाख ऋण पनि बोकिरहेका छौँ ।’
पाल्पामा कर्मचारी छन्, तलब छैन
पाल्पाको खेलकुद विकास समिति पनि बिजोग छ । विकास समितिले खुमबहादुर बैइम्बू कार्यालय प्रमुखका रूपमा अस्थायी नियुक्त गरेको छ । तर, समितिसँग पारिश्रमिक खुवाउने आर्थिक स्रोत नै छैन । लामो समयदेखि कर्मचारीलाई पारिश्रमिक दिने अवस्था नभएको समितिका अध्यक्ष दीपक घिमिरेले जानकारी दिएका छन् । पाल्पाको खेलकुद विकास समितिमा वर्षौँदेखि स्थायी कर्मचारी छैनन् । दरबन्दीको व्यवस्था भए पनि समितीमा कर्मचारी नभएको उनले बताए । मासिक १५ हजार भाडा तिरेर खेलकुद विकास समितिले काम गरिरहेको छ ।
गत वर्ष कार्यालय सञ्चालनको पर्याप्त बजेटसमेत नआएकाले प्रतियोगिता आयोजना गर्दा आफूहरूले ठूलो संकट खेपेको घिमिरेले गुनासो पोखेका छन् । ‘प्रतियोगिता गर्दाको ऋणले विकास समितिका पदाधिकारी पद लिनु न छोड्नुको अवस्थामा छन्,’ उनले भने, ‘जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड गर्न तीन लाख बजेट आएको थियो, तर प्रतियोगिताका सबै काम गर्दा करिब नौ लाख खर्च भयो ।’ उनका अनुसार राष्ट्रपति रनिङ सिल्डमा रेफ्री खर्च, खेलाडीको खानाखाजा, यातायात र पोसाकसहितको खर्च नै नौ लाख भएको हो ।