१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
आर्मीलाई ३–१ को सेटमा हराएपछि एभरेस्ट भलिबल क्लबका खेलाडी
रमेश सुवेदी काठमाडाैं
२०८० चैत ६ मंगलबार ०६:५९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनभिए भलिबल च्याम्पियनसिप : आर्मीविरुद्ध एभरेस्टको पहिलो जित

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० चैत ६ मंगलबार ०६:५९:००

एभरेस्ट भलिबल क्लबले विभागीय टोलीविरुद्ध पहिलो जित निकालेको छ । दशरथ रंगशालाको कभर्ड हलमा चलिरहेको आठौँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ एभरेस्टले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेट गुमाएको एभरेस्टले उत्कृष्ट पुनरागमन गर्दै तीन अंक जोडेको हो ।

बुटबलको एभरेस्ट क्लबको इतिहासमा पहिलोपटक विभागीय टोली (आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लब) विरुद्ध ऐतिहासिक सफलता निकाल्न सफल भयो । घरेलु भलिबलमा विभागीय टोली बलिया छन् । राष्ट्रिय टोलीका नयाँ तथा पुराना खेलाडीको मिश्रण नै विभागीय रहन्छ । जागिरसँगसँगै खेल्न पनि पाइने हुँदा अधिकांश खेलाडीको रोजाइ विभागीय टोली नै हो । 

एभरेस्टकै उत्पादक पुनम चन्द अहिले नेपाल पुलिस क्लब र नेपालको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिरहेकी छिन् । विभागीयपछि महिला भलिबलमा पछिल्लो दशकमा न्यू डायमन्ड एकेडेमी क्लब सशक्त देखिन्छ । राष्ट्रिय खेलाडी उत्पादन गर्नमा महत्वपूर्ण भूमिका खेलेको न्यू डायमन्डलाई एभरेस्टले एकपटक हराइसकेको छ । कुनै पनि विभागीय टोलीलाई हराएको यो पहिलोपटक हो । ‘विभागीय टोलीविरुद्ध हाम्रो ऐतिहासिक जित हो । न्यू डायमन्डलाई एकपटक हराएका छौँ । तर, विभागीय टोलीलाई हालसम्म हराउन सकेका थिएनौँ । यसपटक सफल भएका छौँ,’ एभरेस्टका प्रशिक्षक अर्जुन घिमिरेले भने । 

कभर्डहलमा सोमबारको पहिलो खेलमा एभरेस्टले पहिलो सेट २४–२६ ले गुमाएको थियो । एभरेस्टले त्यसपछिका तीन सेट २५–१७, २५–१९ र २५–२२ ले जित्यो । लगातार दोस्रो जित निकाल्दै समूह ‘ए’को एभरेस्टले ६ अंक जोडेको छ । पहिलो खेलमा एभरेस्टले कर्णाली प्रदेशलाई २५–१२, २५–७ र २५–११ ले हराएको थियो । महिलातर्फ समूह ‘ए’मा एभरेस्ट, पुलिस, आर्मी र कर्णाली छन् । लगातार दोस्रो जितपछि एभरेस्टको सेमिफाइनल सम्भावना बलियो बनेको छ । अन्तिम खेलमा एभरेस्टले मंगलबार अर्काे विभागीय टोली पुलिसको सामना गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने हुँदा पनि यो खेल जित्नैपर्ने रहेको छ । ‘हाम्रो लक्ष्य पुलिसलाई पनि हराउने हो । त्यसका लागि खेलाडी तयार छन्,’ प्रशिक्षक घिमिरे भन्छन् । 

कप्तान अरुणासहित तीन भारतीय खेलाडी 
राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीसँगै एभरेस्टले तीन भारतीय राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गरेको छ । चार खेलाडीले सानदार प्रदर्शन गरेपछि एभरेस्टले पहिलोपटक प्रतियोगितामा लगातार जित निकालेको हो । अरुणाले टोलीमा पुनरागमन गरेकी छिन् । यसअघि छैटौँ संस्करणमा उनले एभरेस्टबाटै खेलेकी थिइन् । सोही समय न्यू डायमन्डलाई हराउँदै एभरेस्ट चौथो भएको थियो । अरुणासँगै भारतीय खेलाडीहरू सूर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोन्सनलाई एभरेस्टले अनुबन्ध गरेको हो । अरुणा र भारतीय तीनै खेलाडीले १९औँ एसियाली खेलकुद प्रतियोगिता खेलेका थिए । 

प्रशिक्षक घिमिरे यसपटक सहयोगी हात बढेकाले राम्रो टोली बनाउन सफल भएको बताउँछन् । ‘एभरेस्ट बोर्डिङ माध्यमिक स्कुलसँगै लुम्बिनी प्रदेश खेलकुद परिषद्ले पनि सहयोग गर्ने वाचा गरेपछि ठूलो आँट गरेको हो,’ घिमिरे भन्छन् । टोलीमा चार खेलाडीसँगै लिबेरो रिचा थापा, निशा चौधरी, आरती चौधरी, अनुशा चौधरी, मिना सुनार, प्रमिला जिसी, रितु पुन र रुचि थापा छन् । 

पश्चिमाञ्चलको टिमबाट राष्ट्रिय भलिबल प्रतियोगिता सुरु गरेका घिमिरेले संघीयतासँगै एभरेस्ट भलिबल क्लब दर्ता गराएका हुन् । त्यसपछि टोलीले पाँचौँ संस्करणबाट लगातार राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ । तर, हालसम्म उपलब्धि हात पार्न सकेको छैन । यसपटक एभरेस्टले चार खेलाडी अनुबन्ध गरी च्याम्पियन हुने लक्ष्य राखेको हो । यसपटक टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । प्रशिक्षक घिमिरे भन्छन्, ‘उपाधि जित्ने लक्ष्य लिएर काठमाडौं आएका हौँ । त्यहीअनुसार खेलाडी अनुबन्ध गरेका छौँ,’ क्लबका अध्यक्षसमेत रहेका घिमिरेले भने, ‘एकेडेमीका खेलाडीले राम्रो गर्न सके भने उपाधि लिएर फर्कनेछौँ ।’ 

च्याम्पियन हुने लक्ष्य छ 
अर्जुन घिमिरे, प्रशिक्षक, एभरेस्ट भलिबल

विभागीय टोलीविरुद्ध हाम्रो ऐतिहासिक जित हो । न्यू डायमन्डलाई एकपटक हराएका छौँ । तर, विभागीय टोलीलाई हालसम्म हराउन सकेका थिएनौँ । यसपटक हामी सफल भयौँ । उपाधि जित्ने लक्ष्यका साथ काठमाडौं आएका हौँ । त्यहीअनुसार खेलाडी अनुबन्ध गरेका छौँ । एकेडेमीका खेलाडीले राम्रो प्रदर्शन गर्दा उपाधि लिएर फर्कनेछौँ ।