
विभागीय टोली नेपाल एपिएफ क्लबलाई स्तब्ध पार्दै गण्डकी प्रदेश आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बुधबार भएको दोस्रो क्वार्टरफाइनलमा गण्डकीले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो सेट गण्डकीले २५–१७ ले बाजी मारेको थियो । तुलनात्मक रूपमा दोस्रो सेट रोमाञ्चक बन्यो । एपिएफले दोस्रो सेटमा सुधारिएको प्रदर्शन गर्दा गण्डकीले सहज जित निकाल्न सकेन । दोस्रो सेटमा गण्डकी ३०–२८ ले विजयी भयो । तेस्रो सेटमा गण्डकीले २५–२३ ले जित्दा एपिएफ क्वार्टरफाइनलबाटै बाहिरियो ।
गण्डकीले फाइनल प्रवेशको खेलमा साबिक विजेता टप हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ । हेल्प नेपालले बुधबार भएको अर्को क्वार्टरफाइनलमा बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा निराश पारेको थियो । यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब र न्यु डायमन्ड विजयी भएका छन् । समूह ‘ए’मा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हरायो । जितसँगै पुलिस समूह विजेता बनेको छ । आर्मी र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिए ।
तीन भारतीय खेलाडी सम्मिलित एभरेस्ट भलिबल क्लब समूह ‘ए’को उपविजेता बन्यो । एभरेस्टले मधेश प्रदेशलाई ३–० ले हरायो । न्यु डायमन्ड समूह ‘बी’को उपविजेता बन्यो । महिलातर्फमा पुलिस, न्यु डायमन्ड, एपिएफ र एभरेस्ट सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदूरपश्चिम, बुढानीलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौँ एनभिए महिला तथा पुरुष भलिबल लिगका लागि छनोट भएका छन् । प्रतियोगितामा पुरुष तथा महिलातर्फका विजेताले समान पाँच लाख, उपविजेताले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।