१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ४ आइतबार ११:५८:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आयोजक जितपुरसिमरालाई पराजित गर्दै पर्सा ७७ रनले विजयी

Read Time : > 1 मिनेट
२०८० चैत ४ आइतबार ११:५८:००

आयोजक जितपुरसिमरा क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा क्रिकेट संघले प्रथम जितपुरसिमरा क्रिकेट कप प्रतियोगितामा विजयी सुरुवात गरेको छ। औराहस्थित सेज क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा पर्साले आयोजकलाई ७७ रनले पराजित गरेको हो।

पर्साको जितमा अकिब अन्सारी र अनुज चौहानले उत्कृष्ट ब्याटिङ गरेका थिए। टस जितेर ब्याटिङ रोजेको पर्साले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो।

पर्साका लागि अकिबले ६३ रन जोड्दै अर्धशतक बनाए। आयोजकका कप्तान सुरज लामाको बलमा पेभेलियन फर्किनुअघि अकिबले ५४ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए।

यसैगरी अनुज चौहानले ३५ बलमा ३७ रन बनाउँदा पर्साका अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन्। १४ रनमै तीन विकेट गुमाएको पर्सालाई अकिब र अनुजले सम्हाल्दै सम्मानजनक स्थितिमा पुर्‍याएका थिए।

आयोजकका लागि कप्तान सुरज लामाले चार ओभरमा १८ रन खर्चिएर चार विकेट लिए भने अजय पटेलले दुई ओभर बलिङ गर्दै २२ रन खर्चिएर तीन विकेट लिएका थिए। आयोजकका लागि आजाद अन्सारीले दुई विकेट लिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका खेलाडी सम्मिलित पर्साविरुद्ध १३७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आयोजक ५९ रनमै समेटियो। आयोजकका लागि इर्साद अख्तरले १३ र अनिल खड्काले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन्।

पर्साका अल्फाज अन्सारी, सम्साद मन्सुरी, अरबाज अन्सारी र अकिब अन्सारीले समान दुई-दुई विकेट लिए। पर्साका अकिब प्लेयर अफ दि म्याच घोषित भए। अकिबलाई शुभारम्भ कलेजका प्रमुख शम्भु मण्डलले दुई हजार नगद र ट्रफी प्रदान गरेका थिए। शुभारम्भ कलेजले प्लेयर अफ दी म्याचको पुरस्कार प्रायोजन गरेको थियो।

प्रतियोगिताअन्तर्गत आइतबार पर्सा क्रिकेट संघ र कलैया क्रिकेट क्लबबीच खेल हुनेछ। अभियान नेपालको आयोजना र जितपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन्।

चैत १० गतेसम्म आयोजना हुने प्रतियोगितामा ६ टिमको सहभागिता छ। राउन्ड रोबिनका आधारमा सञ्चालन भएकाे प्रतियोगिताको समूह विजेताले उपाधिका लागि भिडन्त गर्नेछन्। प्रतियोगिता आयोजनाका लागि मधेश प्रदेश क्रिकेट संघ, बारा क्रिकेट संघ, पथलैया क्रिकेट क्लब र सिमरा क्रिकेट क्लबले व्यवस्थापकीय सहयोग गरिरहेको छ।

यसअघि प्रतियोगिताको उद्घाटन नगर प्रमुख राजन पौडेलले ब्याटिङ र उपप्रमुख भोलाप्रसाद अधिकारीले बलिङ गर्दै गरेका थिए। प्रतियोगिता संयोजक सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जितपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, राजनीतिक दलका प्रतिनिधि, क्रिकेट संघका विभिन्न तहका पदाधिकारी, सामाजिक तथा शैक्षिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण श्रीराम रेग्मीले गरेका थिए भने उद्घाटन समारोहमा त्रिलोकविक्रम शाहले स्वागत मन्तव्य राखेका थिए।