१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाउँदै । आयोगमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराई सदस्य थिए ।
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण ५ शनिबार ०५:५८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बालकुमारी गोलीकाण्डबारे जाँचबुझ आयोगको निष्कर्ष : हचुवाकै भरमा गोली प्रहार, यातायातमन्त्री पनि गैरजिम्मेवार

मन्त्री ज्वालाको गाडी जल्नुअघि नै गोली चलेको समेत जाँचबुझ आयोगको निष्कर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण ५ शनिबार ०५:५८:००

डेढ महिनाअघि ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवकको मृत्यु भएको घटनामा प्रहरीले अनावश्यक बल प्रयोग गरेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाउँदै यातायातमन्त्री प्रकाश ज्वालाको गैरजिम्मेवारपन र प्रहरीले वस्तुस्थितिको सही मूल्यांकन नगरी गोली चलाएको औँल्याएको हो । 

आयोगले फिल्डमा खटिएका डिएसपी उमेश लम्साल तथा मन्त्री ज्वालाका पिएसओ सइ बोधराज दनुवारलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । दुवैजना हाल निलम्बनमा छन् । 

डिएसपी लम्सालले तहगत रूपमा बल प्रयोग गर्नुपर्नेमा एक्कासि गोली चलाउन आदेश दिएको प्रतिवेदनमा उल्लेख छ । मन्त्रीको गाडी जल्नुअघि नै मन्त्रीमाथि आक्रमण भएको अनुमान गरेर गोली चलाउनु गलत भएको औँल्याइएको छ । साथै समितिले मन्त्री ज्वालाको गाडी जल्नुअघि नै गोली चलेकोसमेत निष्कर्ष निकालेको छ । 

गत १३ पुमा ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । शाहको गोली लागेर तथा रावतको अश्रुग्यास लागेर मृत्यु भएको यकिन गरिएको छ । 

घटनापछि ललितपुरका सिडिओ रुद्र पण्डित र एसएसपी सिद्धिविक्रम शाहलाई हटाइएको थियो । आयोगले उनीहरूलाई भने कारबाहीको सिफारिस गरेको छैन ।मन्त्री ज्वालाका पिएसओले भिड रहेको स्थानमा मन्त्रीलाई जान दिन नहुनेमा नरोकेको भन्दै कारबाही सिफारिस भएको छ । 

मन्त्री ज्वालाको गैरजिम्मेवारी औँल्याइएको छ । एकातर्फ आन्दोलन भइरहेको स्थानमा जान नहुने र अर्काेतर्फ उनले गाडी एकतर्फी बाटोमा समेत लगिएको औँल्याइएको छ । घटनामा मन्त्रीको पनि जिम्मेवारी औँलयाए पनि उनीमाथि कारबाहीको विषयमा भने प्रतिवेदनमा केही नबोलिएको स्रोत बताउँछ । 

प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्वान्वयन गरिने बताएका छन् । आयोगमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराई सदस्य थिए ।