१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बालकुमारी घटना : ललितपुरका सिडिओ, एसएसपी र इपिएस शाखाका निर्देशक जिम्मेवारीमुक्त

जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी र मन्त्री प्रकाश ज्वालाका पिएसओ निलम्बनमा

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३३:oo

- मृतकका परिवारलाई जनही १० लाख क्षतिपूर्ति
- न्यायिक छानबिन समिति चाहिने पीडित परिवारको माग

सरकारले प्रहरीको गोली लागेर दुई युवाको ज्यान गएको बालकुमारी घटनामा ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुखसहित पाँचजनालाई कारबाही गरेको छ । घटना छानबिनका लागि नेपाल प्रहरीका डिआइजी लालमणि आचार्यको संयोजकत्वमा समिति गठन गरेको सरकारले ललितपुरका सिडिओ रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाएको हो ।

पण्डितलाई गृह मन्त्रालय र शाहलाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । त्यस्तै, इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई पनि जिम्मेवारीमुक्त गरेकोमा घटना नियन्त्रणमा कमान्ड गर्न नसकेका जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी उमेश लम्साल र भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाका पिएसओ बोधराज दनुवारलाई निलम्बन गरिएको छ । 

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘घटनाको छानबिन गर्न समिति गठन भएको छ । छानबिनमा सहजता होस् भन्ने उद्देश्यले ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख र जिल्ला प्रहरी प्रमुखलाई पदीय जिम्मेवारीबाट हटाइएको छ । त्यस्तै, एक डिएसपी र मन्त्रीका पिएसओलाई पनि निलम्बन गरिएको छ ।’

दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै शुक्रबार युवाहरूले ललितपुरको बालकुमारीमा आन्दोलन गरेका थिए । आन्दोलनमा प्रहरीको गोली लागेर २३ वर्षका दुई युवा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । प्रहरीको अश्रुग्यास र लाठीचार्जबाट दर्जनभन्दा धेरै युवा घाइतेसमेत भएका छन् । 

त्यस्तै, सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १० लाखका दरले क्षतिपूर्ति दिने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ‘शुक्रबारको झडपमा मृत्यु भएका दुई युवाका परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय भएको छ,’ गृहप्रवक्ता भट्टराईले भने । घाइतेको पनि निःशुल्क उपचार गर्ने निर्णय भएको उनले बताए ।

न्यायिक छानबिन समिति चाहिने पीडित परिवारको माग
बालकुमारी घटना छानविनका लागि सरकारले डिआइजीको नेतृत्वमा गठन गरेको समितिप्रति असन्तुष्टि जनाउँदै पीडित परिवारले न्यायिक छानविन समितिको माग गरेका छन् । पीडित परिवार र उनीहरूको क्षेत्रमा प्रतिनिधित्व गर्ने सांसदले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर डिआइजी नेतृत्वको समिति खारेज गरेर न्यायीक समिति गठन गर्न माग गरेका हुन् । अछामबाट प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले न्यायीक छानविन समितिको माग गरिएको बताए । ‘सरकारको तर्फबाट कमीकमजोरी भएको भनेर प्रधानमन्त्रीले पनि स्वीकार गर्नुभएको छ । सरकार मातहतको निकायका व्यक्तिले गरेको छानबिनको निस्पक्षतामा प्रश्न उठ्न सक्छ,’ कुँवरले भने, ‘त्यही भएर न्यायिक वा मानवअधिकार क्षेत्रबाट नेतृत्व रहनेगरी स्वतन्त्र छानबिन समितिको माग गरेका हौँ । यस विषयमा प्रधानमन्त्रीले थप छलफल गरेर अघि बढ्ने आवश्वासन दिनुभएको छ ।’

घटनाका दोषीमाथि कडा कारबाही हुनुपर्ने, मृतकलाई सहीद घोषणा गरिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने र मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग पनि गरेका छन् । त्यस्तै, घाइतेको उपचारको निशुल्क व्यवस्था हुनुपर्ने, पक्राउ परेकालाई निसर्त रिहा गर्नुपर्ने, आन्दोलनको सुरुवातको कारण पत्ता लगाउनुपर्ने, घटनाको बेलाको सिसिटिभी फुटेज सुरक्षित राखेर छानबिनको आधार बनाउनुपर्ने र मृतकको दाहसंस्कार आफन्तको इच्छाअनुसार  गर्न दिनुपर्ने माग पनि राखेका छन् ।

दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
बालकुमारी घटनाका दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको मागसहित काठमाडौंसहित विभिन्न ठाउँमा शनिबार प्रदर्शन भएको छ । युवाहरूले शनिबार दिउँसो माइतीघरमा प्रदर्शन गरे । निषेधित क्षेत्रमा आन्दोलन गरेको भन्दै प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । स्थानीय प्रशासनले माइतीघरलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गर्दै ललितपुरको बालकुमारीस्थित ईपीएस शाखाअगाडि प्रदर्शन गरेको छ । सांसद तोसिमा कार्कीसहितले प्रदर्शन गरेका हुन् ।  

त्यसैगरी, पीडितलाई न्यायदिनुपर्ने, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्नेलगायतमाग राखेर दैलेखमा युवाहरूले सदरमुकाम दैलेख बजारमा प्रदर्शन गरे । सुर्खेतमा प्रदश ‘युवा विद्रोह’ नाम दिएर युवाहरू बालकुमारी घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरूले सडकमा टायर बालेर ‘युवा विद्रोह’ नाम दिएर प्रदर्शन गरेका थिए । सरकारको कार्यशैलीले देशमै सुरक्षा वातावरणको ग्यारेन्टी नभएको भन्दै विरोध गरिएको छ । 

गम्भीर अनुसन्धान गरेर दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवाको ज्यान गएको बालकुमारी घटनामाथि गम्भीर अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार काठमाडौंमा सुरु छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटनमा प्रचण्डले घटना छानबिन गर्न समिति बनेको र राजनीतिक तहमा पनि छलफल गरेर कदम चालिसकेको बताए । ‘इपिएस शाखाबाट कमजोरी भएको छ, हाम्रो मन्त्रीजीको पिएसओले परिस्थितिको राम्रो आकलन नगरी गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटि भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ,’ प्रचण्डले भने, ‘गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ ।’ 

ad
ad