१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ४ शुक्रबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण ४ शुक्रबार o८:३१:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

माओवादीको नयाँ विधान पारित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण ४ शुक्रबार o८:३१:oo

- १९९ सदस्यीय केन्द्रीय समिति, त्यसको एकतिहाइ स्थायी समिति र ११ सदस्यीय पदाधिकारी, आयोगहरू १५ सदस्यीय

- स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरमा निर्वाचनबाट समिति चयन गर्ने र उक्त समितिले पदाधिकारी चयन गर्ने

सत्तारुढ दल माओवादीको विधान परिमार्जनसहित पारित भएको छ । राजधानीको प्रज्ञा भवनमा बिहीबार सम्पन्न तीनदिने विधान अधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विधान संशोधनसहित पारित गरेको हो ।

विधान मस्यौदामाथि २० वटा समूह बनाएर छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझाव समावेश गर्दै विधान पारित भएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । विधानलाई समृद्ध बनाउन महत्वपूर्ण सुझाव आएको भन्दै प्रचण्डले पार्टी नयाँ ढंगले अगाडि बढ्ने बताए । अब महाधिवेशन हुने र विचारमाथि बृहत् छलफल हुने उनको भनाइ छ । 

परिमार्जित विधानअनुसार माओवादीको केन्द्रीय समिति १९९ सदस्यीय हुने भएको छ । विधान मस्यौदामा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएकामा समूहगत छलफलको क्रममा ९९ वा १९९ सदस्यीय बनाउन सुझाव आएको थियो । समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले १९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको एकतिहाइ स्थायी समिति र ११ सदस्यीय पदाधिकारी बनाउने निर्णय भएको बताए । आयोगहरू १५ सदस्यीय बनाउने निर्णय भएको छ । 

विधान अधिवेशनले महाधिवेशनका लागि निकै राम्रो आधार तयार भएको सापकोटाले दाबी गरे । ‘अब माथिबाट महाधिवेशन हुन्छ । महाधिवेशनबाट १९९ सदस्यीय कमिटी बन्छ अनि तलसम्म जान्छ,’ सापकोटाले भने । महाधिवेशनको मिति भने तोकिएको छैन । उनका अनुसार केन्द्रीय सदस्यको योग्यता र कार्यविधिबारे नियमावलीमा प्रस्ट गरिनेछ । विधान छोटो बनाउने र सबै कुरा नियमावलीमा उल्लेख गरिने उनले बताए । प्रवक्ता सापकोटाले विधानको प्रस्तावना  खँदिलो र ओजपूर्ण बनाउने सुनिश्चित भएकोे बताए । ‘वैचारिक, सैद्धान्तिक, दार्शनिक बहस धेरै माथिल्लो स्तरबाट भएको छ । त्यसमा सबभन्दा बढी जोड दिएर प्रस्तावनामाथि छलफल भएको छ । प्रस्तावना खँदिलो र ओजपूर्ण बनाउने कुराको सुनिश्चित भएको छ,’ सापकोटाले भने ।

स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरमा निर्वाचनबाट समिति चयन गर्ने र उक्त समितिले पदाधिकारी चयन गरिने भएको छ । प्रत्यक्ष निर्वाचित समिति र उक्त समितिले पदाधिकारी चयन गर्ने निष्कर्षमा माओवादी पुगेको छ । ‘हरेक कमिटी प्रत्यक्ष निर्वाचनद्वारा गरिनेछ । प्रत्यक्ष निर्वाचनको ढोका खुलेको छ । सबै कमिटीमा प्रत्यक्ष निर्वाचन हुन्छ । केन्द्रीय कमिटीको निर्वाचन भइसकेपछि पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्छ ।’ सापकोटाले भने । प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा जनवादी अभ्यास पनि भुल्न नहुनेमा प्रचण्डले जोड दिएका छन् । ‘जनवादी केन्द्रीयतामा जनवाद र केन्द्रीयता दुवैै, अनुशासन र स्वतन्त्रता दुवै, वैयक्तिक चित्तप्रसन्नता र सामूहिक चिन्तन प्रणालीलाई विकास गर्ने भनिएको छ,’ सापकोटाले भने ।

प्रचण्डले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई कारबाही गर्ने पनि बताएका छन् । पुरस्कार र कारबाहीमा अघि नबढेसम्म पार्टी प्रभावकारी ढंगले अघि बढ्न नसक्ने निष्कर्ष प्रचण्डले सुनाएका छन् । १८ वर्ष पुगेकालाई पार्टीको साधारण सदस्य र संगठित सदस्य दिने पनि उनले बताए । सबै जनवर्गीय संगठनको सम्मेलन गर्ने र पुनर्गठन गर्ने निर्णय भएको पनि सापकोटाले जानकारी दिए । भारत, मध्यपूर्व र बाँकी विश्वमा तीनवटा प्रदेशस्तरीय समितिहरू बनाउने निर्णय पनि भएको छ । 

नाम र चुनावचिह्न तत्काल नफेर्ने
समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा २० समूहमध्ये धेरैले नाम र चुनावचिह्न फेर्नुपर्ने सुझाव दिए पनि माओवादीले तत्काल नाम र चुनावचिह्न नफेर्ने भएको छ । अधिवेशनको समापनमा अध्यक्ष प्रचण्डले तत्कालै नाम र चुनावचिह्न नफेर्ने निष्कर्ष सुनाएका हुन्  । समाजवादी आन्दोलन समाजवादी पार्टीमार्फत सम्पन्न गर्नुपर्ने निष्कर्ष अधिकांश समूहको थियो । ‘नाम र चुनावचिह्नबारे व्यापक रूपमा छलफल भयो । नाम सन्दर्भ मिलाएर बदल्न पनि सक्छौँ । तर, आजै बदल्ने निर्णय भएको छैन,’ सापकोटाले भने, ‘चुनावचिह्न पनि अलिकति लामो भयो, दुई अक्षरको बनाउनुपर्छ भन्ने छ । त्यो पनि आवश्यकताअनुसार सन्दर्भ आएपछि सोच्न सकिन्छ भन्ने भएको छ ।’

चैत र वैशाखमा दुई अभियान
माओवादीले आगामी चैत र वैशाखमा दुई अभियान सञ्चालन गर्ने भएको छ । १ देखि १५ चैतमा तराई मधेश जनजागरण अभियान र १ देखि १५ वैशाखमा उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने घोषणा प्रचण्डले गरेका छन् । मधेश जागरण अभियान हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइनेछ ।  

कम्युनिस्ट पार्टीको पुनर्गठन अपरिहार्य
समग्र वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन गरेर अगाडि बढ्ने सापकोटाले बताए । ‘समग्र वामपन्थी एकीकरण पनि गर्ने, त्यसका साथसाथै कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने । पहिला बनेको नेकपालाई रक्षा गर्न सकिएन । अब फेरि कम्युनिस्ट पार्टीको पुनर्गठन पनि गर्ने,’ सापकोटाले भने, ‘संविधानमा हामीले भनेको समाजवादी राज्य व्यवस्था लागू गर्नका लागि यो अनिवार्य छ । सामाजिक न्यायसहितको वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्नका लागि वामपन्थी एकता र कम्युनिस्ट पार्टीको पुनर्गठन अपरिहार्य छ ।’