त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइटका लागि शुक्रबार बोलपत्र आह्वान गरेको हो ।
प्यारापिटका लागि एक करोड ६२ लाख र फ्लडलाइटका लागि एक करोड ७३ लाख रुपैयाँ धरौटी तोकिएको छ । बोलपत्र पेस गर्न २०–२० हजार रुपैयाँ दस्तुर लाग्नेछ । बोलपत्र पेस गर्ने म्याद आगामी ६ माघको दिउँसो १२:३० बजेसम्म छ । सोही दिन दिउँसो साढे एक बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ । यसअघि फ्लडलाइट जडानका लागि आह्वान गरिएका बोलपत्र दुईपटक रद्द भएका थिए ।
आर्थिक वर्ष ०७९/८० को बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कीर्तिपुर मैदानको स्तरोन्नति र फ्लडलाइट जडानको प्रक्रिया अघि बढाउन २० करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । मैदान स्तरोन्नतिका लागि १० करोड र फ्लडलाइट जडानका लागि १० करोड छुट्याएकामा फ्लडलाइटको १० करोड खर्च नभई फिर्ता भएको थियो । आर्थिक वर्ष ०८१/८२ को बजेटमा त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ।
प्रधानमन्त्री केपी ओलीले भनेका छन्
क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौं। यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्का सहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्यौँ । त्यसबेला क्यानका पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं भन्ने सल्लाह दिनु भएको थियो। जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचे भन्दा बढी समय लाग्यो। त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो । आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ। अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ। यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहने छ। काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्छु।