सार्वजनिक ऋणको साँवा–ब्याजबापत मंसिरमा ६२ अर्ब ४५ करोड २९ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यसमा ५८ अर्ब २४ करोड रुपैयाँ साँवा र चार अर्ब २१ करोड २९ लाख रुपैयाँ ब्याज भुक्तानी गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
मंसिरसम्मको तथ्यांकअनुसार समीक्षा महिनामा आन्तरिकतर्फ साँवा ५४ अर्ब ५० करोड रुपैयाँ र ब्याज तीन अर्ब ४३ करोड २९ लाख रुपैयाँ गरी ५७ अर्ब ९३ करोड २९ लाख रुपैयाँ ऋण भुक्तानी गरिएको छ ।
यस्तै, बाह्यतर्फ साँवा तीन अर्ब ७४ करोड रुपैयाँ र ७८ करोड रुपैयाँ ब्याज गरेर चार अर्ब ५२ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
विगतका महिनामा सरकारको ऋण भुक्तानी न्यून हुन्थ्यो । तर, मंसिरमा ऋण भुक्तानी उच्च देखिएको छ । सम्झौताअनुसार मंसिरमा तिर्नुपर्ने ऋण धेरै भएकाले भुक्तानी पनि बढी देखिएको कार्यालयको भनाइ छ ।
चालू आर्थिक वर्ष ०८१/८२ को पाँच महिनामा भने सरकारले कुल एक खर्ब ७० अर्ब ५९ करोड ८१ लाख रुपैयाँ ऋण चुक्ता गरेको छ । त्यसमा आन्तरिकतर्फ एक खर्ब २७ अर्ब २४ करोड साँवा र २२ अर्ब ४२ करोड ७५ लाख ब्याज गरेर कुल एक खर्ब ४९ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।