मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
२o८१ पौष ६ शनिबार १o:२२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बागमती प्रदेश सरकारले खेलकुदका विभिन्न विधामा स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दै

१२ विधाकाे खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्तिको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार १o:२२:oo

स्वयंसेवक प्रशिक्षकले सेवा गरे वापत मासिक २२ हजार रुपैयाँ पारिश्रमिक पाउने

बागमती प्रदेश सरकारले खेलकुदका विभिन्न विधामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको तयारी गरेको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदमार्फत् विभिन्न १२ विधाकाे खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्तिको तयारी गरेको हो ।

बुधबार बसेको स्वयंसेवक छनौट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषदले शुक्रबार स्वयंसेवक प्रशिक्षकको रुपमा सूचिकृत हुन सूचना समेत जारी गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वयंसेवक प्रशिक्षकहरु सूचिकृत गरी छनौट गर्नुपर्ने र कार्यक्षेत्रमा खटाउनुका लागि सूचना जारी गरेको प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले जानकारी दिए ।

उनका अनुसार स्वयंसेवक प्रशिक्षकका लागि इच्छुक योग्यता पुगेका खेलसंग सम्बन्धित खेलाडीहरुले १५ दिन भित्र व्यक्तिगत विवरणसहित निवेदन दिनुपर्ने हुन्छ । परिषदले कराँतेमा ४, उसुमा ३, एथलेटिक्समा १, तेक्वान्दोमा २, भलिबलमा १, फुटबलमा १, बक्सिडमा ३, टेबल टेनिसमा २, नेटबलमा २, व्याडमिन्टनमा २, फुलकन्ट्याक्ट करातेमा ४ र आई.टि.एफ. तेक्वान्दोमा १ जना स्वयंसेवक प्रशिक्षक नियुक्तिका लागि निवेदन माग गरेको छ । 

प्राप्त निवेदनका आधारमा लिखित परिक्षा तथा अन्तर्वार्ता मार्फत प्रशिक्षकहरु नियुक्त गरिने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार छनौट भएका प्रशिक्षकहरु नियुक्त गरि माग भएका जिल्लाहरुमा खटाइने छ । 

प्रदेशका १३ जिल्लामा खेलाडी प्रशिक्षणका लागि नियुक्त भएका स्वयंसेवक पशिक्षकहरु खटाइने उनको भनाई छ । स्वयंसेवक प्रशिक्षकले सेवा गरे वापत मासिक २२ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने मन्त्री महर्जनले बताए । 

छनौट भएका स्वयंसेवक प्रशिक्षकलाई ६ महिनाको करार नियुक्त गरिने र सो पश्चात आवश्यकताका अनुसार पुनः करार नविकरण गरिने उनको भनाई छ ।

स्वयंसेवक प्रशिक्षकका लागि नेपाली नागरिकले प्रशिक्षकको तालिम प्राप्त गरेको प्रमाणपत्र वा अनुमति पत्र, सम्बन्धित खेलको दक्षता, अनुभव भएको, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गरेको भए सो प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन पेश गर्न सक्ने व्यवस्था रहेको छ ।