मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
नवीन अर्याल काठमाडाैं
रमेश सुवेदी काठमाडाैं
२o८१ पौष ६ शनिबार o६:३४:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

धर्मराएको अर्थतन्त्रमा एनपिएलको टेको

दर्शकको उत्साहजनक सहभागिता, शनिबार हुने फाइनल खेलका सबै टिकट ‘सोल्ड आउट’

Read Time : > 6 मिनेट
नवीन अर्याल, काठमाडाैं
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार o६:३४:oo

एनपिएलले देशलाई क्रिकेटमय मात्रै बनाएन, खेलाडीलाई खेलकुदमै भविष्य खोज्न उत्प्रेरित र खेल पर्यटनप्रति आशावादी पनि बनाएको छ । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाएको छ, नैराश्यता बढिरहेको समाजमा आशा जगाइदिएको छ ।

ट्रफीसाथ सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सका कप्तान

पहिलोपटक भएको नेपाल प्रिमियर लिग (एनपिएल) देशको क्रिकेट क्षेत्र प्रवर्द्धन गर्ने महोत्सव मात्रै बनेको छैन, धर्मराएको अर्थतन्त्र सुधार्ने एउटा टेको पनि बनेको छ । एनपिएल अर्थतन्त्रको ठ्याक्कै हरहिसाब आउन बाँकी छ, तर अनुमानित कारोबार सय करोड रुपैयाँ (एक अर्ब)भन्दा माथिको छ । पारिश्रमिकबाट खेलाडीको आर्थिक सुधार, खेलाडी व्यवस्थापनमा हुने खर्चबाट होटेलले गरेको कमाइ, टिकट बिक्री र विज्ञापनबाट क्रिकेट टिमका मालिकले गर्ने आम्दानीजस्ता आर्थिक गतिविधि मात्रै होइन, क्रिकेट मैदानबाहिर सानातिना व्यापार गर्नेसम्मको अर्थतन्त्र सुधारमा एनपिएलले भूमिका खेलेको छ ।

भारत, पाकिस्तान, अस्ट्रेलियालगायत क्रिकेटका महारथी देशमा अर्थतन्त्र उकास्न क्रिकेटको अहम भूमिका छ । एनपिएलले निरन्तरता पाउँदा नेपालमा पनि खेल पर्यटन प्रवर्द्धन हुने विश्वास गरिएको छ । पहिलो एनपिएलमै त्रिवि क्रिकेट मैदानमा ४४ विदेशी खेलाडी सहभागी भए । विश्व क्रिकेटका महारथी देशका खेलाडीहरू भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल र जिमी निसम, अस्ट्रेलियाका वेन कटिङ र विलियम बास्टिटो, पाकिस्तानका साहेल तनवीरलगायतले क्रिकेट खेले भने छोरीसँगै एनपिएल खेल्न आएका विश्वचर्चित क्रिकेटर ब्रायन लारा सगरमाथासमेत हेर्न पुगे । भारतीय खेलाडी शिखर धवन पनि सगरमाथा आधार शिविर पुगे । यसले पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय भूमिका नै खेल्यो । 

‘हामीले अहिले लगानी गरेका हौँ, यसको प्रतिफल तत्काल आउँदैन, कुर्नुपर्छ,’ कर्णाली याक्सका सह–मालिक गृहेन्द्र घिमिरे भन्छन्, ‘केही वर्षपछि निकै प्रतिफल आउनेवाला छ ।’ उनले दुई–तीन सिजन प्रतिफलभन्दा पनि लगानीको रूपमा रहने बताए । 

नेपाल क्रिकेट संघ (क्यान) आयोजक रहेको एनपिएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज्, चितवन राइनोज्, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टिम छन् । सहभागीमध्येबाट फाइनलमा जनकपुर र सुदूरपश्चिम पुगेका छन् । टिम किन्न व्यावसायिक व्यक्तिहरूबीच प्रतिस्पर्धा चलेको थियो । बोलकबोलमा बढी रकम प्रस्ताव गर्ने व्यावसायिक व्यक्तिले टिम प्राप्त गरे । त्यसपछि टिमका मालिकहरूले मार्की खेलाडीलाई २० लाख र अन्यलाई दुईदेखि १५ लाखसम्ममा खरिद गरेर टिम तयार गरे । व्यवसायीहरूले एउटै फ्रेन्चाइज टिम खरिद गर्न तीन करोड ५७ लाख रुपैयाँसम्म लगानी गरेका छन् । हरेक टिमले फ्रेन्चाइज टिमदेखि खेलाडी खरिद र तिनको व्यवस्थापनसम्ममा १० देखि १२ करोडसम्म खर्च गरेको अनुमान छ । 

होटेल संघ नेपालका अध्यक्ष विनायक शाह एनपिएलले खेल पर्यटनको सम्भावना उजागर गरेको बताउँछन् । ‘एनपिएलले खेल पर्यटनको सम्भावना उजागर गरेको छ । भोलि अन्तर्राष्ट्रिय क्रिकेट पनि आयोजना गर्न सकिन्छ । इन्डिया र पाकिस्तानको खेल दुबईमा हुन्छ, त्यो त नेपालमै गर्न सकिन्छ । यहाँको मौसम पनि राम्रो छ । एनपिएल खेल्ने स्वदेशी तथा विदेशी खेलाडी र प्रशिक्षक पाँचतारे होटेलमा बसेका छन् । एनपिएल हेर्न आएका दर्शकहरू पनि होटेलमै बसे । एनपिएल अवधिभर होटेल, रेस्टुराँदेखि कीर्तिपुरमा चनाचटपटे र पानीपुरी बेच्नेसम्मले व्यापार गरेका छन्,’ उनले भने, ‘एनपिएलले नेपाली पर्यटन प्रवर्द्धनमा पनि सघाएको छ । एनपिएल स्टार टेलिभिजनबाट लाइभ भयो, जुन संसारभरका क्रिकेटप्रेमीले हेरे । विश्वमा लाखौँ फलोअर्स भएका ब्रायन लारा, शिखर धवनजस्ता चर्चित विदेशी खेलाडी सगरमाथा आधार शिविरसम्म पुग्दा नेपालको पर्यटन प्रवर्द्धन भएको छ ।’

एनपिएलमा धेरैजसो खेलमा दर्शकको घुइँचो थामी साध्य छैन । कीर्तिपुर मैदानको दर्शक क्षमता कम भएका कारण क्यानले १२ हजार हाराहारीभन्दा धेरै टिकट बिक्री गर्न सकेन । त्यसैले कयौँ दर्शकले टिकट पाएनन् । तर, सुस्ताएर बसेको अर्थतन्त्रलाई पहिलो एनपिएलले केही हदसम्म भए पनि उकासेको क्यानका सदस्य सदीप शर्मा बताउँछन् । 

पूर्वअर्थसचिव रामेश्वर खनालले एनपिएलले मान्छेलाई क्रियाशील बनाउन उत्प्रेरित गरेको बताए । ‘एनपिएलले मान्छेलाई क्रियाशील बनाउन उत्प्रेरित गरेको छ । मान्छेका नकारात्मक भाव पनि कम गरेको छ,’ उनले भने ।

अन्य घरेलुदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्शकको उपस्थिति हेर्दा केही वर्षयता नेपालमा क्रिकेट क्रेज बढिरहेकै थियो । एनपिएलले यो क्रेजलाई ह्वात्तै उकासिदियो । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपिएलमा विश्वका दिग्गज खेलाडीको समेत सहभागिताले दर्शकमा उत्साह थप्यो । एनपिएलका हरेक खेलमा पाँच हजारमाथि दर्शक उपस्थित भए । उद्घाटन र प्लेअफको पहिलो दिन टिकट सोल्ड आउट नै भयो । हरेक दिन दर्शकको उत्साहजनक उपस्थितिले क्यान हर्षित छ । 

टिम खरिदमा कर्पोरेट प्रतिस्पर्धा, कुल १६ करोड ८८ लाख खर्च 
एनपिएलमा सहभागी टिमको फ्रेन्चाइज खरिद गर्न कर्पोरेट क्षेत्रका हस्तीहरू प्रतिस्पर्धामै उत्रिए । व्यवसायीहरूले एउटै फ्रेन्चाइज टिम खरिद गर्न तीन करोड ५७ लाख रुपैयाँसम्म लगानी गरेका छन् । एनपिएलका आठ टिम खरिद गर्न मालिकहरूले कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ खर्च गरेका छन् । जसमा एक टिम एक करोडदेखि तीन करोड ५७ लाखसम्मका छन् । 

सबैभन्दा धेरै मूल्यमा नेपाल टी–२० क्रिकेट प्रालिले पोखरा एभेन्जर्स तीन करोड ५७ लाखमा खरिद गरेको छ । यसको टिम मालिक सुवोद त्रिपाठी हुन् । उनी आइटी र टेलिभिजनसँगै आल्मुनियम तथा युपिभिसी निर्माण सामग्री उत्पादन गर्ने व्यवसायी हुन् । 

काठमाडौं गुर्खाज्लाई कान्तिपुर पब्लिकेसन्सले तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा किनेको हो । यो टिमका मालिक कैलाश सिरोहिया, उपेन्द्र महतो, अरुण सर्राफ हुन् । सिरोहिया सञ्चार उद्यमी, महतो गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष र सर्राफ पाँचतारे होटेल व्यवसायी हुन् । जनकपुर बोल्ट्सका लागि ड्रिम स्पोर्टस् प्रालिले दुई करोड पाँच लाख खर्चियो । यो टिमको मालिक हुन् अमित श्रेष्ठ । म्यानपावर व्यवसायी श्रेष्ठको होटेलमा पनि लगानी छ । उनीसँगै अमेरिकामा व्यवसाय गर्ने व्यवसायीहरूको संयुक्त स्वामित्वमा बोल्ट्स नामको अन्तर्राष्ट्रिय फ्रेन्चाइज छ । उनी हाल पनि अमेरिकामै छन् । अन्तर्राष्ट्रिय फ्रेन्चाइज बोल्ट्सको नामबाट युएई, श्रीलंका, जिम्बावे र अमेरिकामा पनि यो टिमले विभिन्न प्रतियोगिता खेल्छ । 

लुम्बिनी लायन्सलाई फरच्युना हेल्थ केयर प्रालिले एक करोड ८६ लाख चार रुपैयाँ लगानी गर्‍यो । यो टिमका मालिक फरच्युना हेल्थ केयरका सञ्चालक ईश्वर जिसी हुन् । उनीसँगै होटेल एवं मेडिकल सामग्रीका व्यवसायी बाबुकाजी कार्की, भवानी राणाका छोरा देवांश, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका ज्वाइँ शिभांक थापा, बुद्ध एयरकै क्याप्टेन डिबी बस्नेतका छोरा करण बस्नेत, टुन्डी कन्स्ट्रक्सनका सञ्चालक सुशील शर्मा पनि यसमा साझेदार छन् । 

त्यस्तै, चितवन राइनोज्का लागि चितवन मेडिकल कलेज (सिएमसी)ले एक करोड ७६ लाख एक हजार खर्चिएको छ । यो टिमका मालिक सिएमसी सञ्चालक हरीशचन्द्र न्यौपाने र आयुष न्यौपाने हुन् । 

सुदूरपश्चिम रोयल्सलाई भने इम्पाइर स्पोर्टस् म्यानेजमेन्ट प्रालिले एक करोड ६८ लाख ८८ हजार ८८८ किनेको हो । यसका मालिक हुन् स्वतन्त्रप्रताप शाह । अस्ट्रेलिया एनआरएनएको सचिवसमेत रहेका उनी अन्तर्राष्ट्रिय युवा व्यवसायी महासंघको संस्थापक अध्यक्षसमेत हुन् । शाहले अस्ट्रेलियाका लागि नेपालको पर्यटन सद्भावना दूतको भूमिकामा काम गरिरहेका छन् । 

त्यस्तै, विराटनगर किंग्सलाई एमएडी ड्रिम्स स्पोर्टस् प्रालिले एक करोड ५१ लाखमा खरिद गर्‍यो । जसमा चार व्यावसायिक घराना एमएम ग्रुप, म्याजिक ग्रुप, अरिहन्त ग्रुप र देवेनारा ग्रुपको सामूहिक लगानी छ । एमडी ड्रिम्सका एक मालिक पारस लुनिया हुन् । उनी राष्ट्रिय क्रिकेट टिमका पूर्वअलराउन्डरसमेत हुन्, जो अहिले मोरङ उद्योग संगठनको कार्यकारी सदस्य पनि छन् । त्यस्तै, अर्का मालिक एमएम ग्रुपका सञ्चालक सुयस प्याकुरेल मोरङ उद्योग संगठनका निवर्तमान अध्यक्ष हुन् । 

त्यस्तै, कर्णाली याक्सलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले एक करोड ११ लाख ७० हजारमा किनेको छ । यसका मालिक झनकदत्त खनाल र सह–मालिक गृहेन्द्र घिमिरे हुन् । खनाल निर्माण व्यवसायी हुने भने घिमिरे फिल्म उद्योगमा संलग्न छन् । 

८० खेलाडीका लागि आठ टिमको झन्डै ६ करोड लगानी
हरेक टिमले सुरुमा आठ मार्की खेलाडी पाएका थिए । क्यानले मालिकसँग सहकार्य गर्दै मार्कीलाई सुरुमै २० लाख पाउने नियम बनायो । त्यसबाहेक आठ टिमले अक्सनबाट ८० खेलाडीका लागि पाँच करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च गरे ।  ‘ए’ श्रेणीले १० देखि १५ लाखसम्म पाए । ‘बी’ श्रेणीले पाँचदेखि १० लाखसम्म पाए भने ‘सी’ श्रेणीले दुईदेखि पाँच लाखसम्म पाएका छन् । अक्सनमा लुम्बिनी लायन्सले १० खेलाडी किन्न सर्वाधिक ८४ लाख ७५ हजार खर्च गर्‍यो । पोखराले ८० लाख, जनकपुरले ७९ लाख तथा सुदूरपश्चिम र कर्णाली याक्सले समान ७४ खर्च गरेका छन् ।  सबैभन्दा कम चितवन राइनोज्ले ६३ लाख खर्च गर्‍यो । 

पाँचतारे होटेलदेखि गेस्टहाउससम्म चलायमान
एनपिएलका खेलाडी, प्रशिक्षक र समर्थकहरूले काठमाडौंका होटेल चलायमान भएका छन् । आठवटै टिमका खेलाडी र प्रशिक्षकलाई पाँचतारे होटेलमा राखिएको छ । सुदूरपश्चिम टिम म्यारियट होटेलमा बसेको छ भने कर्णाली हिल्टनमा, काठमाडौं याक एन्ड यतीमा, पोखरा सोल्टीमा, जनकपुर र विराटनगर हायात प्लेस, लुम्बिनी र चितवन राइनोज् दुसित प्रिन्सेसमा बसेका छन् । त्यस्तै, समर्थन गरेको टिमको खेल हेर्न जिल्लातिरबाट आएका दर्शकहरू काठमाडौंका गेस्ट हाउसदेखि पाँचतारे होटेलसम्म बसे । 

एनपिएलले देशको पर्यटन प्रवर्द्धनमा राम्रै टेवा पुर्‍याएको नेपाल होटेल संघ (हान)का अध्यक्ष विनायक शाहले बताए । ‘खेलाडी र प्रशिक्षक फाइभ स्टारमा बसेका छन्, दर्शकहरू गेस्ट हाउसतिर बसेका छन् । यसरी गेस्ट हाउसदेखि तारे होटेलसम्मले बिजनेस पाए,’ उनले भने, ‘एनपिएलले हस्पिटालिटी क्षेत्रलाई पनि राम्रो गरेको छ ।’ म्यारियट होटेलका सञ्चालक शशिकान्त अग्रवाल एनपिएलले नेपालमा खेल पर्यटनको सम्भावना देखाएको बताउँछन् । ‘एनपिएलले विश्वका क्रिकेट प्रेमीहरूको नजर तानेको छ, क्रिकेटमार्फत खेल पर्यटनको विकास गर्न सकिने सम्भावना पनि देखियो, त्यो क्यास गर्न सक्नुपर्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरका खेलहरू आयोजना हुनेबित्तिकै पर्यटन क्षेत्र लाभान्वित भइहाल्छ ।’

एनपिएलका कर्पोरेट स्पोन्सर
सिद्धार्थ बैंकले वार्षिक २० करोड रुपैयाँका दरले पाँच वर्षका लागि एनपिएलको टाइटल स्पोन्सर खरिद गरेको बताइएको छ । यो हिसाबले सिद्धार्थले पाँच वर्षमा एक अर्ब रुपैयाँ खर्च गर्‍यो । एनपिएलको पावर्ड बाई एनसेल बनेको छ भने अफिसियल टिकट पार्टनर खल्ती छ ।

क्यानले एनपिएलमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई ओमोडा ई–५ विद्युतीय कार उपहार दिने घोषणा गरेको छ । सुदूरपश्चिम रोयल्सलाई ग्लोबल आइएमई बैंक, नेपाल टेलिकमलगायतले प्रायोजन गरेका छन् । महिन्द्रा कर्णाली याक्सको मुख्य प्रायोजक बनेको छ । लुम्बिनीलाई एनसेल, रिलायन्स फाइनान्सलगायतले प्रायोजन गरेका छन् । विराटनगरलाई एभरेष्ट बैंक, जनकपुरलाई डिएनए इन्टरनेसनल, काठमाडौं गुर्खाज्लाई बिवाइडी, चितवन राइनोज्लाई ब्लु स्टारले प्रायोजन गरेका छन् ।

त्यस्तै, ह्याप्पिडेन्ट, रेडबुल, भिभो स्मार्टफोन, नेपाल पे, अल्ट्रा भ्वाइलेट, ओमोडा, केएफसी, भिभोलगायत दर्जनौँ ब्रान्ड प्रायोजक बनेका छन् । हस्पिटालिटी, बिमा, ट्राभल कम्पनी पनि प्रायोजक छन् ।

पर्यटनको अन्तर्राष्ट्रिय प्रचार
एनपिएल खेल्नका लागि मात्रै होइन, हेर्नका लागि पनि विश्वका चर्चित खेलाडी नेपाल आए । वेस्ट इन्डिजका विश्वचर्चित क्रिकेटर ब्रायन लारा छोरीसँग एनपिएल हेर्न आइपुगे । उनी सर्वोच्च शिखर सगरमाथा हेर्न आधार शिविर पुगे । अघिल्लो शनिबार उनी कीर्तिपुर क्रिकेट मैदान पुगेका थिए । भारतका चर्चित ओपनर शिखर धवन, न्युजिल्यान्डका जिम्मी निसम, हङकङका बाबर हायत, रोहन मुस्तफा, न्युजिल्यान्डका मार्टिन गुप्टिल, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेम, ओमानका अकिब इलियास, जेसन मक्सुदलगायत ४४ विदेशी खेलाडी एनपिएल खेल्न आए । उनीहरूले नेपालको समेत प्रचार गरेका छन् । शिखर धवन पनि सगरमाथा आधार शिविरनजिक पुगेका थिए । विश्वभर लाखौँ फलोअर रहेका लारा र धवनले सामाजिक सञ्जालमा सगरमाथाका तस्बिरहरू राखे, जसले पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको छ । धवन अर्कोपटक परिवारसहित नेपाल घुम्न आउने वचन दिएर फर्किएका छन् । टिममा आबद्ध विदेशी खेलाडीसहितका सिंगो टोली लिएर  सुदूरपश्चिम, कर्णाली र जनकपुर बोल्ट्स चन्द्रागिरि पुगेका थिए । यी तीन टोलीमा १७ विदेशी खेलाडी छन् ।