१५औँ महाधिवेशनमा सभापतिका आकांक्षी डा. शेखर कोइरालाले जिल्ला तहका नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद थालेका छन्, केही दिनअघि गृहजिल्लामा भेला गरेका उनले शुक्रबार सभापति शेरबहादुर देउवाको गृहप्रदेश पुगेर नौ जिल्लाका अगुवा नेता–कार्यकर्तासँग परामर्श गरेका छन् । लगत्तै मधेश र राजधानीकेन्द्रित कार्यक्रम गर्ने उनको योजना छ ।
अर्को वर्ष हुने कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका आकांक्षी डा. शेखर कोइरालाले सक्रियता बढाएका छन् । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश पुगेका कोइरालाले धनगढीमा प्रदेशअन्तर्गतका नौ जिल्लाका अगुवा नेता–कार्यकर्तासँग भेटघाट र छलफल गरेका छन् ।
आगामी महाधिवेशनमा आफू सभापति नबन्ने शेरबहादुर देउवाले घोषणा गरिसकेका छन् । त्यसैले डा. कोइरालालाई १५औँ महाधिवेशनमा कांग्रेसका एक बलियो दाबेदारका रूपमा हेरिएको छ । डा. कोइरालाले १४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका थिए । कोइरालाले १४औँ महाधिवेशनलगत्तै जिल्ला–जिल्ला पुगेर कार्यकर्तासँग भेटघाट थालेका थिए ।
कार्यकर्ता भेटघाटका क्रममा कोइरालाले भने–
गठबन्धनको विकल्प छैन र दुई ठुला पार्टी मिलेकाले यो सरकार असफल हुने सुविधा छैन । मन्त्री भएकाहरूले सहकार्य गरेर जानुहुन्छ, ग्रासरुटमा रहेका तपाईंहरू एमालेसँग प्रतिस्पर्धा गरेर जानुपर्छ ।
शुक्रबार डा. कोइराला धनगढी विमानस्थलमा उत्रिएलगत्तै उनी पक्षका नेता–कार्यकर्ताले भावी सभापतिका रूपमा सांकेतिक सन्देश दिए । ठुलो संख्यामा उपस्थित नेता–कार्यकर्ताले कोइरालाको पक्षमा नारा लगाए । र, १५औँ महाधिवेशनमा सभापतिको शुभकामनासहित १५ किलोको माला लगाइदिए ।
स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार शुक्रबार कोइरालाले सुदूरपश्चिमका नौवटै जिल्लाका सभापति र नेता–कार्यकर्तासँग पार्टी र आगामी महाधिवेशनबारे छलफल गरेका छन् । डा. कोइराला तीन दिनसम्म धनगढीमै रहनेछन् ।
सभापति देउवालाई जानकारी गराएरै आफू सुदूरपश्चिम आएको उनको भनाइ थियो । सुदूरपश्चिम पुगेर उनले आफ्नो पार्टी सभापति देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नरहेको बताए । उनले १५औँ महाधिवेशनमा सभापतिमा आफ्नो दाबी स्वाभाविक रहने स्पष्ट गरे ।
‘१५औँ महाधिवेशनमा सभापतिमा दाबी स्वाभाविक रहन्छ । महाधिवशेनका लागि अब एक वर्ष मात्रै समय रहेकाले तयारीमा लागेको हुँ । उहाँ (देउवा) मेरो सभापति र नेता हुनुहुन्छ । उमेरले दाइसमानको हुनुहुन्छ । उहाँसँग कुनै असमझदारी छैन । उहाँलाई खबर गरेर नै आएको हुँ । उहाँलाई जानकारी दिएरै पार्टीका साथीहरूलाई भेट्न सुदूरपश्चिम आएको हुँ,’ डा. कोइरालाको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव थपलियाले भने ।
शनिबार धनगढीमा हुने नेपाल प्रजातान्त्रिक सेनानी संघको प्रदेश अधिवेशनका लागि कोइराला धनगढी पुगेका हुन् । कोइरालासँगै उनीनिकट नेताहरू सुनील शर्मा, हृदयराम थानी र सञ्जय गौतमलगायत नेता धनगढी पुगेका छन् ।
कोइरालानिकट नेता पूर्ण कुँवरका अनुसार यस क्रममा शुक्रबार कोइरालाले सुदूरपश्चिमका नौवटै जिल्लाका आफूूनिकट अगुवा नेता–कार्यकर्तासँग परामर्श गरेका हुन् । ‘आगामी महाधिवेशनमा शेखर पार्टी सभापतिको उम्मेदवार हो भन्ने आम भइसकेको छ, तर उहाँ आफैँले भन्नुभएको छैन । यहाँ नेता–कार्यकर्तासँग भेटघाटका क्रममा उहाँले नआत्तिनु, विचलित नहुनु, पार्टीमा म न्याय दिलाउँछु, संरक्षण गर्छु भन्नुभएको छ । यसको अर्थ उहाँ सभापतिको उम्मेदवार हो भन्ने बुझेका छौँ’, कुँवरले भने ।
कार्यकर्ता भेटघाटका क्रममा कोइरालाले अहिले गठबन्धनको विकल्प नरहेको बताएका छन् । ‘गठबन्धनको विकल्प छैन र दुई ठूला पार्टी मिलेकाले यो सरकार असफल हुने सुविधा छैन,’ कोइरालाको भनाइ उद्धृद गर्दै नेता कुँवरले भने, ‘मन्त्री भएकाहरूले सहकार्य गरेर जानुहुन्छ, ग्रासरुटमा रहेका तपाईंहरू एमालेसँग प्रतिस्पर्धा गरेर जानुपर्छ ।’
यसअघि कोइरालाले महाधिवेशनका लागि दबाब दिन २२ मंसिरमा कांग्रेसको कोशी प्रदेश सम्मेलनलाई टक्कर दिने गरी समूहका पालिका सभापतिहरूको भेला राखेका थिए । १८ मंसिरमा आयोजित भेलामा प्रदेशका १३७ मध्ये ११३ पालिका सभापति सहभागी थिए । सोही भेलामार्फत कोइरालाले आफू महाधिवेशनमा सभापतिको स्वाभाविक दाबेदार रहेको उद्घोषसहित १५औँ महाधिवेशनमा सभापतिको तयारीस्वरूप देश दौडाहा सुरु भएको घोषणा गरेका थिए ।
कोइरालाले गुट भेलाको जानकारीपछि कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति नै निकालेर पार्टीको कार्यक्रम नरहेको बताएको थियो । कोइरालाले गरेको भेलामा महामन्त्री थापा सहभागी थिएनन् । वरीयता नमिलेको भन्दै कोइरालाले कोशी प्रदेश सम्मेलन बहिष्कार गरेका थिए ।
त्यस दिन चितवन पुगेका कोइरालाले आफू सभापतिको तयारीमा लागेको महामन्त्री थापाको विषयमा आफूलाई जानकारी नभएको बताएका थिए । कोशी प्रदेश सम्मेलनमा महामन्त्री थापाले कोइरालाले बोलाएको भेला सही नभएको टिप्पणी गरेका थिए ।
यसलगत्तै कोइराला १३ पुसाम मधेश प्रदेशकेन्द्रित कार्यक्रममा सहभागी हुँदै छन् । संघीय क्षेत्र नम्बर ३ को सम्मेलन उद्घाटनका लागि महोत्तरीमा जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । त्यसपछिका कार्यक्रम भने राजधानी काठमाडौंकेन्द्रित हुनेछन् । ‘जाडोको समय भएकाले केही समय काठमाडौंकेन्द्रित कार्यक्रम हुनेछन् । त्यसपछि अन्य प्रदेश र जिल्ला दौडाहाको कार्यक्रम बनाउने तयारी छ,’ स्वकिय सचिव थपलियाले भने ।
गत २ कात्तिकमा कोइरालानिकट युवा नेताहरूको नेतृत्वमा १० बुँदे एजेन्डासहित ४ मंसिरसम्म मेची–महाकाली ‘युवा संकल्प यात्रा’ गरिएको थियो । अभियानमा संलग्न नेताहरूका अनुसार कोइरालाका पक्षमा माहोल बनाउन अभियान केन्द्रित थियो । त्यस्तै, २७ मंसिरमा उनीनिकट नेताहरूले अनामनगरमा ‘१५औँ महाधिवेशनकेन्द्रित सम्पर्क कार्यालय’ खोलेर औपचारिक दबाब अभियानको थालनी गरेका छन् । अभियानमा गुरुराज घिमिरे, डा. चन्द्र भण्डारी, देवराज चालिसे, सरिता प्रसाईंलगायत कोइरालानिकट नेताहरू छन् । अभियानको नेतृत्व गरेका नेता घिमिरे पार्टीले तयारी नगरेपछि ०८२ भित्र महाधिवेशनका लागि दबाब दिन अभियान थालिएको बताउँछन् ।
विधानको धारा १७ को व्यवस्थाअनुसार ०७८ मंसिरमा १४औँ महाधिवेशन भएको कांग्रेसको नियमित रूपमा १५औँ महाधिवेशन ०८२ मा हुनुपर्ने हुन्छ । यसबाहेक असाधारण परिस्थितिमा एक वर्ष बढाउने विधानको व्यवस्था छ । धारा ४३ मा भनिएको छ, ‘पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ ।’ यही व्यवस्थाका कारण संस्थापन समूहले एक वर्ष समयावधि थप्ने संशय शेखर समूहलाई छ ।