मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
२o८१ पौष ६ शनिबार o६:१o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सूर्यदर्शन सहकारी ठगीमा १९ विरुद्ध पूरक मुद्दा, जिबीमाथि थप तीन कसुर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार o६:१o:oo

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित १९ पदाधिकारी, कर्मचारीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ कायम गरी पूरक मुद्दा चलेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार जिबीविरुद्ध संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअन्तर्गत मुद्दा चलाएको हो । बाँकी १८ जनाविरुद्ध भने संगठित अपराधमा अभियोग दर्ता भएको जिल्ला अदालतका निमित्त स्रेस्तेदार खेमनारायण लामिछानेले बताए । 

जिबीले अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको भन्दै थप कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको निष्कर्ष थियो । प्रहरी अनुसन्धानमा उनीहरूको सम्पत्तिको स्रोत खुल्न सकेको थिएन । त्यही भएर सरकारी वकिलको कार्यालयले अभियोगपत्रमा सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअनुसार पनि कसुर समावेश गरेर अभियोग थप गरेको हो ।

संगठित अपराधअन्तर्गत बिगोअनुसार सात वर्षभन्दा माथि कैद र पाँच लाख नगद जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्य हेरी दुई वर्षदेखि दश वर्षसम्म कैद हुने व्यवस्था रहेको छ । 

संगठित अपराधअन्तर्गत बिगोअनुसार सात वर्षभन्दा माथि कैद र पाँच लाख नगद जरिवाना हुने कानुनी व्यवस्था छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्य हेरी दुई वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ । 

सरकारी वकिलको कार्यालयको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले अभियोगपत्रमा सूर्यदर्शनबाट कसले कति अपचलन गरेको छ र कति तिर्नुपर्छ भनेर स्पष्ट उल्लेख गरिएको बताइन् । ‘सूर्यदर्शन सहकारीबाट अपचलनमा मुख्य बिगोलाई क–कसले कति तिर्ने भनेर देखाएका छौँ । उनीहरूको कहाँ–कहाँ दुरुपयोगमा संलग्नता छ भन्ने पनि देखाइदिएका छौँ,’ उनले भनिन् । 

जिबीसँगै उनका दाई सहकारीका पूर्वअध्यक्ष भूपेन्द्र राई, वर्तमान अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, वर्तमान उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरुद्ध पूरक अभियोग दर्ता भएको हो । त्यस्तै, पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भवीश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धरसँगै कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध मुद्दा चलेको छ । 

उनीहरूविरुद्ध यसअघि १८ असोज ०८० मा सहकारी ठगी कसुरमा एक अर्ब ११ करोड १९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो । तर, शिवबहादुर गुरुङ, भवीश्वर अर्याल, कैलाशकुमार दर्लामी, कुमार रम्तेल र अनुज नकर्मी मात्र पुर्पक्षका लागि थुनामा छन् । बाँकी फरार छन् ।

फरार रहेकामध्ये ठगी मुद्दाका मुख्य प्रतिवादी सहकारीका पूर्वअध्यक्ष जिबी, उनका दाइ भ्रपेन्द्र र वर्तमान अध्यक्ष थानबहादुरविरुद्ध प्रहरीले इन्टरपोलमार्फत १२ माघ ०८० मा डिफ्युजन नोटिससमेत जारी गरेको थियो । 

गत भदौमा संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान गरेको प्रहरीले ५१ जनाविरुद्ध मुद्दा चलाउन १ पुसमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले यसअघि मुद्दा चलेका १९ जनाविरुद्ध पूरक अभियोजन लगेको हो । यसअघि सहकारी ऐन, २०७४ को दफा १२४ अनुसार आठदेखि १० वर्ष कैद सजाय माग गरिएको थियो । अब थप तीन कसुरमा पनि मुद्दा चलेको हो ।