नेपाल आयल निगमले धनगढी बजारमा रहेको डिपो सार्न फेरि हुलाकी राजमार्गछेउकै बस्ती विकास भइरहेकै क्षेत्र छनोट गरेको छ । तर, पुनर्वास नगरपालिकाको आइबिआरडी बजारनजिकै राष्ट्रिय आवास कम्पनीको २२ बिघा जग्गामा डिपो स्थानान्तरणको तयारी भएपछि त्यसले उत्पन्न गर्न सक्ने जोखिमलाई लिएर जनप्रतिनिधि र स्थानीयले विरोध गरेका छन ।
निगमले डिपो स्थानान्तरणका लागि छनोट गरेको क्षेत्रको ३४० मिटरनजिकै घर बनिसकेका छन् । डिपो स्थानान्तरण गर्न खोजिएको ठाउँबाट आइबिआरडी बजार दक्षिणमा र पूर्वतिर ‘ग’ गाउँ भानुबस्ती जोडिएको छ । त्यस्तै, उत्तरतिर पनि बस्ती विस्तार भइरहेको छ । हुलाकी सडक निर्माणको क्रममा रहेको र आइबिआरडी बजार विस्तार भइरहेकाले यहाँको बस्ती बाक्लो हुँदै गएको छ ।
०२८ मा प्राकृतिक विपत्मा परेका परिवारलाई यहाँको जंगल फाँडेर पुनर्वास गरिएको थियो, जुन कम्पनी ग्रामीण विकास हुँदै आवास कम्पनीमा रूपान्तरित छ । कम्पनीले यहाँको ४७ बिघा जग्गा यसअघि नै बेच्न खोजे पनि स्थानीय र राजनीतिक दलका नेताहरूले कृषि कलेज, मेडिकल कलेज, रंगशाला वा अन्य परियोजना ल्याउन सकिने भन्दै सहमति दिएका थिएनन् ।
पुनर्वास ३, ५ र ६ नम्बर वडालाई छोएको यो जग्गा डिपो स्थापनाका लागि कम्पनीले बिक्री गर्ने भनेपछि अहिले फेरि मुद्दा बल्झिएको हो । पुनर्वास– ५ का स्थानीय जयबहादुर सिंहले डिपो स्थापना गर्दा जोखिम हुने बताए । ‘आवास कम्पनीको जमिनबाट बस्ती नजिकै छ । बस्ती बाक्लो हुँदै गएको छ,’ सिंहले भने, ‘ठुलो जमिन भएकाले आयल निगमको डिपो बनाउनेभन्दा औद्योगिक क्षेत्र, कृषि क्याम्पसलगायत अन्य प्रयोजनका लागि उपयोग गरिनुपर्छ ।’
हुलाकी राजमार्गछेउकै आवास कम्पनीको २२ बिघा जग्गा किनेर डिपो स्थानान्तरण गर्ने आयल निगमको योजना, तर वरिपरि बस्ती रहेको जग्गामा डिपो राख्दा जोखिम बढ्ने तथा नयाँ परियोजना नआउने भन्दै जनप्रतिनिधि र स्थानीयको चिन्ता
पुनर्वास– ६ का वडाध्यक्ष मित्रसिंह लामाले पनि आफूहरूको सरोकार आवास कम्पनीसँग रहेको बताए । ‘आवास कम्पनीसँग धेरै जमिन छ, डिपो स्थापना भए बाँकी जमिनको उपभोग कसरी हुन्छ त्यसमा पनि ख्याल गर्नुपर्छ,’ उनले भने, ‘पालिकामा रहेका भूमिहीन, सुकुम्बासीको व्यवस्थापनको विषयलाई पनि सँगै लगेर जानुपर्नेछ ।’
कञ्चनपुर– २ बाट निर्वाचित सांसद तारा लामा तामाङले पनि गाउँको बिचमा आयल निगमको डिपो राख्दा भविष्यमा समस्या हुन सक्ने बताए । ‘बस्ती घना भएपछि धनगढीबाट डिपो सारिँदै छ, यहाँ पनि बस्तीनजिक डिपो राख्दा समस्या आउन सक्छ । डिपो स्थापना गरे बाँकी जमिनमा परियोजना आउँदैन,’ सोही क्षेत्रबाट निर्वाचित संघीय सांसद तामाङले भने, ‘यी सबै पक्षलाई ध्यान दिनुपर्छ ।’
आयल निगमको प्रादेशिक कार्यालय धनगढीका प्रमुख हरिदत्त जोशीले आवास कम्पनीको बाँकी जमिनको उपभोग र डिपो स्थापना गर्दा प्रदूषण हुन सक्ने विषयमा स्थानीयले चासो राखेका बताए । ‘जग्गा प्राप्तिका लागि पुनर्वासका स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग छलफलमै छौँ, टुंगो लागिसकेकोे छैन,’ जोशीले भने, ‘आवास कम्पनीको बाँकी जमिनको उपभोग कसरी गर्ने र डिपो स्थापना गर्दा धेरै गाडी आउने भएकाले प्रदूषण हुन्छ कि भन्ने स्थानीय बासिन्दा र जनप्रतिनिधिको चिन्ता छ ।’ निगमको टोलीले जग्गाको निरीक्षण गर्नुका साथै डिपो स्थापनाबारे स्थानीयसँग छलफलसमेत गरेको थियो ।
कार्यपालिका बैठकले निर्णय गर्न सकेन
डिपो स्थानान्तरणबारे पुनर्वास नगरपालिकाको कार्यपालिका बैठकमा पनि बिहीबार छलफल भएको थियो । तर, जनप्रतिनिधि दुई धारमा देखिएपछि निर्णय हुन सकेन । पुनर्वास– ३ का वडाध्यक्ष कृष्णबहादुर तामाङले डिपो स्थापनाबारे स्थानीय बासिन्दाजस्तै जनप्रतिनिधि पनि पक्ष–विपक्षमा रहेको बताए । ‘जनप्रतिनिधि पक्ष–विपक्षमा उभिएपछि डिपो स्थापनाका विषयमा कार्यपालिकामा केही निर्णय भएन,’ तामाङले भने, ‘डिपो स्थापना हुँदा आसपासको बस्तीलाई जोखिम र गाडीले प्रदूषण हुन्छ कि भन्ने चासो जनप्रतिनिधि र स्थानीयमा छ ।’
पुनर्वास नगरपालिकाका मेयर तोयाप्रसाद शर्माले निगमको डिपो स्थापनाको विषय छलफलमै रहेको बताए । आयल निगमले यस विषयमा सहजीकरण गरिदिन भनेपछि स्थानीयस्तरमा छलफल भइरहेको उनले बताए । ‘नागरिकमा दुई खालको मत छ । हामी आफू पनि छलफलमा छौँ,’ उनले भने, ‘यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेशका सांसदसँग समेत छलफल गरेर निर्णय लिन्छौँ ।’
पुनर्वास नगरपालिका– ५ का स्थानीय हिमेश थापा भने गाउँको विकास हुन्छ भने डिपो रोक्न नहुने धारणा राख्छन् । ‘डिपो स्थापना हुँदा विकास हुन्छ भने रोक्नुहुँदैन, जमिन बाँझो छ, उपयोग हुन्छ,’ उनले भने, ‘तैपनि माथिका नेताहरूले साोच्लान् ।’
२२ बिघामा डिपो बनाउने निगमको योजना
पुनर्वासमा आवास कम्पनीको नाममा करिब ७४ बिघा जमिन छ । त्यसमध्ये २२ बिघा जमिन किनेर आधुनिक डिपो स्थापना गर्ने निगमको योजना छ । धनगढीमा रहेको निगमको डिपो बस्तीले घेरिएको छ ।
बस्तीको बिचमा जोखिम हुनुका साथै सबै भण्डारण क्षमता विस्तारका लागि निगमले नयाँ डिपो स्थापना गर्न लागेको हो । धनगढी डिपोमा अहिले आठ सय ३० किलोलिटर पेट्रोल, एक हजार ५९० किलोलिटर डिजल र ७० किलोलिटर मट्टीतेल भण्डारण क्षमता छ । डिपोको पेट्रोल र डिजल भण्डारणले प्रदेशको पाँचदेखि सात दिनसम्मको माग धान्छ ।
भण्डारण क्षमता विस्तारका लागि पनि डिपो स्थानान्तरण गर्न लागिएको निगमको प्रादेशिक कार्यालय प्रमुख जोशीले बताए । डिपो स्थापनाका लागि गोदावरी नगरपालिकामा पनि निगमले जमिन हेरेको थियो । गोदावरी– ८ स्याउलेको शिवशक्ति महिला सामुदायिक वनको बुट्यान भएको क्षेत्रमा डिपो स्थापना गर्ने विकल्पमा पनि छलफल भइरहेको जोशीले बताए । डिपो स्थापनाका लागि सामुदायिक वन सहमत रहेको उनले बताए । ‘पुनर्वासलाई पहिलो प्राथमिकतामा राखेर छलफल गरिरहेका छौँ,’ विकल्पको रूपमा स्याउलेमा स्थापना गर्नेबारे पनि कुरा भइरहेको छ,’ जोशीले भने, ‘यो विषय केन्द्रले आफैँ हेरिरहेको छ ।’