पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्त सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच शनिबार त्रिवि क्रिकेट मैदानमा हुँदै छ । सहभागी आठ फ्रेन्चाइज टोलीमध्ये सुदूरपश्चिम सबैभन्दा उत्कृष्ट लयमा छ । पछिल्ला केही खेलमा जनकपुरले एकरूपताको प्रदर्शन गर्न सकेको छैन । एनपिएलको निर्णायक भिडन्तअगाडि दुवै टोलीले एक–आपसमा दुईपटक प्रतिस्पर्धा गरिसकेका छन् । लिग चरण र प्लेअफमा सुदूरपश्चिमले जनकपुरमाथि एकपक्षीय जित निकालेको थियो । अब तेस्रो भेटमा दुवै टोली गल्तीरहित प्रदर्शन गर्न चाहन्छन् ।
सुदूरपश्चिम र जनकपुरका खेलाडी, कप्तान, प्रशिक्षक र टिम मालिकलाई यति थाहा छ, एउटा सामान्य गल्तीले टोली पहिलो संस्करणको विजेता हुनबाट वञ्चित हुन सक्छ । फाइनल भिडन्तमा अघिल्ला गल्ती नदोहोर्याउने पक्षमा दुवै टोलीका योजना छन् । प्रतियोगिताको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराएर फाइनल स्थान पक्का गरेको थियो । पहिलो प्लेअफमा सुदूरपश्चिमले जनकपुरमाथि आठ विकेट जित निकाली अन्तिम दुई स्थान सुरुमा पक्का गरेको थियो । जनकपुरले लिग चरणका लगातार चार खेल जितेर उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको थियो ।
त्यसपछि जनकपुरको प्रदर्शन मिश्रित रह्यो । जनकपुरको जितको ‘जिंक’ तोडियो । जनकपुरले लिगमा तीनमध्ये दुई खेल गुमायो । अर्कोतिर सुदूरपश्चिमले सुरुका तीन खेल जित्यो । चौथो खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई नतिजा सुम्पिएको थियो । त्यसपछि सुदूरपश्चिमले कुनै पनि खेल नगुमाई फाइनल स्थान बनायो । ब्याटिङ, बलिङ र फिल्डिङमा सुदूरपश्चिमको प्रदर्शनमा कुनै कमी छैन । जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन संघर्षपूर्ण ब्याटिङ गर्यो ।
तीनवटै क्षेत्रमा सुदूरपश्चिमको अलराउन्ड प्रदर्शन
उपाधि भिडन्तमा आफूलाई उभ्याउन सुदूरपश्चिमको बलियो पक्ष नै तीनवटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन हो । लिग चरणका सातमध्ये ६ खेलमा जित निकाल्दा सुदूरपश्चिमले ब्याटिङ र बलिङको बलियो प्रस्तुति दियो । एककिसिमले सुदूरपश्चिमको प्रदर्शनलाई अलराउन्ड मान्न सकिन्छ । स्वदेशी तथा विदेशी खेलाडीले लिगदेखि प्लेअफसम्म सानदार प्रदर्शन गरेका थिए । सुदूरपश्चिम सहभागीमध्ये एक मात्र सन्तुलित टोली हो । शीर्ष, मिडलअर्डर र पुछारका ब्याट्सम्यानले पनि ब्याटिङ गर्न सक्छन् ।
कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङमा प्रेरणादायी प्रदर्शनबाट वाही–वाही बटुलेका छन् । उनीबाट प्रेरित स्वदेशी तथा विदेशी खेलाडीले प्रत्येक खेलमा जितका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विदेशी खेलाडीमा ब्रान्डन माकमुलेन र सेफ अली जैबले ब्याटिङ र बलिङमा स्तरीय प्रदर्शन गरेका छन् ।
स्कट कुग्लेइन र हर्मित सिंहले बलिङ आक्रमणलाई बलियो बनाएका छन् । स्वदेशी खेलाडीमा इसान पाण्डेले ब्याटिङ र बलिङमा योगदान दिएका छन् । उनलाई नरेन साउद र अविनाश बोहराले पनि राम्रो साथ दिइरहेका छन् ।
सुदूरपश्चिमको अर्को मजबुत पक्ष ओपनिङ हो । नेपाली राष्ट्रिय टोलीका अनुभवी ओपनर विनोद भण्डारी र सेफ अली जैबबिचको तालमेल गज्जबको छ । उनीहरूले पावर प्लेमा विपक्षी बलरलाई आफूमाथि दबाब दिएका छैनन् । विनोदले विकेटपछाडिबाट रनआउट र स्टम्पिङ गरी टोलीको मनोबल उच्च बनाएका छन् ।
बलिङमा न्युजिल्यान्डका बलर स्कटले नेतृत्व गरिरहेका छन् । उनले आठ खेलमा १६ विकेट हात पारेका छन् । ब्याटिङसँगै जैबले बलिङमा ११ विकेट लिएका छन् । पहिलो खेलमै प्रभावशाली बलिङ प्रदर्शन गरेका नरेनले ६ खेलमा ६ विकेट लिएका छन् । उनले काठमाडौंविरुद्ध एकै खेलमा पाँच विकेट लिएका थिए । अविनाश बोहराले आठ खेलमा ६ विकेट लिएका छन् । विदेशी खेलाडी हर्मित सिंहले पिन्च हिटिङको भूमिका निर्वाह गरेका छन् । उनले अहिलेसम्म चार खेलमा ८ विकेट लिएका छन् ।
बलिङमा बलियो, तर ब्याटिङमा संघर्षरत जनकपुर
लिगमा सातमध्ये पाँच खेल जित निकालेको जनकपुर १० अंकका साथ दोस्रो स्थानमा रही प्लेअफमा पुग्यो । लगातार चार खेलमा सानदार जित निकालेको जनकपुरको लय त्यसपछि गुमाउनुको प्रमुख कारण सुदूरपश्चिमसँग लिग चरणमा ७२ रनले पराजितलाई मानिन्छ । सुदूरपश्चिमविरुद्ध जनकपुर एनपिएलकै सबैभन्दा कम योगफलमा समेटिएको थियो । यसै खेलबाट जनकपुरले मिश्रित नतिजा निकाल्दै आइरहेको छ । जनकपुर दोस्रोपटकको प्रयासमा फाइनलमा पुगेको हो । प्लेअफमा सुदूरपश्चिमसँग आठ विकेटले पराजित भएको जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई दुई विकेटले हराउँदै अन्तिम दुई स्थान सुरक्षित गरेको हो ।
ओपनिङ, मध्यक्रम र बलिङमा सन्तुलित देखिए पनि जनकपुरको सुरुवाती चार खेलमा जस्तो प्रदर्शन गर्न सकेको छैन । प्रत्येक खेलमा जितका लागि संघर्ष गरिरहेको छ । फाइनलअघि जनकपुरको मुख्य चिन्ता नै ब्याटिङ हो । कप्तान अनिल शाह चोटग्रस्त हुनु पनि जनकपुरको ब्याटिङमा कमजोरी देखियो । कप्तान अनिल बाहिर रहँदा जनकपुरको ओपनिङ सोचेको जस्तो भइरहेको छैन । अनिलको अनुपस्थितिमा कप्तान बनेका आसिफ शेख र लाहिरू मिलान्थाको ब्याटिङ चल्न नसक्नु पनि जनकपुरलाई चिन्ताको विषय बनेको छ । टोलीको ब्याटिङ पूरै निर्भर न्युजिल्यान्डका जिमी निसममाथि छ । दोस्रो क्वालिफायरमा कर्णालीको हातबाट खेल खोस्न निसमले नै विस्फोटक ब्याटिङ गरेका थिए । उनले १७ बलमा ४५ रनको योगदान दिँदा जनकपुरले फाइनल यात्रा पक्का गरेको हो । निसमको प्रदर्शन छाडेर हेर्ने हो भने जनकपुरले कर्णालीविरुद्ध कमजोर ब्याटिङ गरेको थियो ।
विदेशी खेलाडी निसमले आठ खेलमा दुई सय ४३ रन र बलिङमा ६ विकेट लिएका छन् । बलिङ आक्रमणमा जनकपुरको प्रश्न लगाउने कुनै स्थान छैन । ललित राजवंशीले नौ खेलमा १६ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा सुदूरपश्चिमका स्कटसँगै शीर्ष स्थानमा छन् । हर्ष थाकर र किशोर महतोले समान ११ विकेट लिएका छन् । मोहमद मोहसिनले नौ विकेट लिएका छन् । पार्टटाइम बलर शेर मल्लले पनि सातै खेलमा सात विकेट हात पारेका छन् । बलिङमा बलियो जनकपुरको मुख्य समस्या ब्याटिङ हो । फाइनलमा जनकपुरका लागि निसम, ललित राजवंशी, लाहिरू, किशोर र शेख नै हुन सक्छन् । सुदूरपश्चिमलाई तेस्रो भेटमा निराश बनाउन जनकपुरको ब्याटिङ चल्नुपर्छ ।
के भन्छन् कप्तानहरू
जनकपुर सहज प्रतिद्वन्द्वी होइन : दीपेन्द्रसिंह ऐरी, सुदूरपश्चिम रोयल्स
हामीले यसअघिका खेलमा राम्रो प्रदर्शन गरेका थियौँ । जनकपुरलाई दुईपटक हराइसकेका छौँ । यद्यपि, फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई एक कठिन प्रतिद्वन्द्वीका रूपमा लिएको छ । जनकपुर बलियो र राम्रो छ । हामीले फाइनलका लागि दुई घण्टा अभ्यास गर्यौँ । सबै खेलाडी उपाधि भिडन्तमा तयार छन् । हामी अहिलेसम्म योजनाअनुसार बढिरहेका छौँ । फाइनललाई सहज रूपमा लिएर खेल्छौँ । सुदूरपश्चिमलाई धेरै समर्थन छ । हामीले फाइनलमा यस्तै धेरै समर्थकको आशा गरेका छौँ । उपाधि भिडन्त हामीले एउटा खेलका रूपमा लिएका छौँ । जित र हार आफ्नो ठाउँमा छ । एक टोलीले फाइनल जित्दा अर्को पराजित हुने स्वाभाविक हो । हामी सुदूरपश्चिम उपाधि लिएर घर फर्कन शतप्रतिशत दिनेछौँ । यही नै हाम्रो अबको अन्तिम लक्ष्य हो ।
हामी बदला नभएर नर्मल खेल खेल्छौँ : आसिफ शेख, जनकपुर बोल्ट्स
त्रिवि मैदानमा हामीले फरक–फरक पिचमा प्रतिस्पर्धा गरेका छौँ । कतिपय खेलमा हाइस्कोरिङ र लोस्कोरिङ भए । फाइनलको परिस्थिति फरक छ । यसलाई अवसर र सदुपयोगका रूपमा लिन्छौँ । फाइनलअगाडि सबै खेलाडी राम्रो लयमा छन् । अब एउटा अन्तिम खेल बाँकी छ । त्यसलाई राम्रोसँग सक्न चाहन्छौँ । सुदूरपश्चिमसँग लिग चरण र क्वालिफायरमा व्यहोरेको हारको बदला लिने उद्देश्यले प्रतिस्पर्धा हुनेछैन । हामी हाम्रोतर्फबाट नर्मल र राम्रो क्रिकेट खेल्ने प्रयास गर्छौँ । जनकपुरसँग जेजति क्षमता छ, त्यो फाइनलमा दिन्छौँ । अहिले नै नतिजाबारे सोच छैन । सुदूरपश्चिमविरुद्धको दुवै खेलमा हाम्रो ब्याटिङ राम्रो भएन । फाइनलमा हामी राम्रो ब्याटिङ गर्नेछौँ । हाम्रो लक्ष्य नै अन्तिम चार ओभरलाई सुधार गर्ने हो । सुदूरपश्चिम बलियो टोली हो । फाइनलमा बलियो माइन्डसेट र परिस्थितिअनुसार चल्न सक्नुपर्छ ।