काठमाडौंको मूलपानी पिपलबोटमा गोली लागेर दुईजना घाइते भएका छन्। शनिबार राति १० बजे खोटाङका साहिर शंकरले अर्जुन श्रेष्ठको घरमा गोली चलाएका हुन्।
गोली लागेर श्रेष्ठ र उनकी श्रीमती शान्तिदेवी घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानमा पारिवारिक तथा व्यक्तिगत विवादमा गोली चलेको खुलेको छ । पीडित परिवारले भने ती युवक चोरी गर्नसमेत आएको हुन सक्ने बताएका छन्।
पेस्तोल लिएर थर्काउँदै त्यहाँ पुगेका ती युवकलाई प्रतिकार गरेपछि उनले गोली चलाएका थिए। गोली चलाउने युवकलाई पनि स्थानीयले नियन्त्रणमा लिएका छन्। प्रतिकारमा कुटपिट हुँदा उनी पनि गम्भीर घाइते भएका छन्।
गोली लागेर घाइते भएका श्रेष्ठदम्पती तथा आरोपी युवक तीनैजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानमा आबद्ध एक प्रहरीका अनुसार श्रीमतीलाई गोली लागेको र श्रीमानलाई भने गोलीको छर्रा लागेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेका अनुसार गोली प्रहार गर्ने युवकलाई पेस्तोलसहित पक्राउ गरी अनुसन्धान भइरहेको छ।