गाजाको नागरिक सुरक्षा निकायले इजरायली सेनाले बुधबार जबालियाको एक घरलाई लक्षित गरी प्रहार गरेको हवाई आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ। ६ अक्टोबरदेखि इजरायली सेनाले उत्तरी गाजामा विशेष गरी जबालिया सहर र छेउछाउको शरणार्थी शिविरलाई लक्षित गर्दै भूमि र हवाई आक्रमण गरिरहेको छ।
आक्रमणबाट हमास लडाकुहरूलाई त्यहाँ पुनर्गठन हुनबाट रोक्ने प्रयास भएको सेनाले बताएको छ। यद्यपि, उद्धारकर्ताहरूले आक्रमणले पहिले नै हजारौँ नागरिकको ज्यान लिइसकेको बताएका छन्। ‘जबालिया सहरमा विस्थापित मानिस बसिरहेको घरमा मध्यरातपछि भएको नरसंहारमा १५ जना मारिए र २० जनाभन्दा बढी घाइते भए,’ नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने।
यस विषयमा इजरायली सेनाले रिपोर्ट गरिएको आक्रमणबारे अनुसन्धान गरिरहेको बताएको छ। बासलले घरमा बस्नेहरू बद्रा, अबु वर्दा र तरुस परिवारका सदस्यहरू रहेको बताए। उनीहरूले त्यहाँ शरण लिएका थिए।
जबालियाको आक्रमणमा मृत्यु भएका र घाइतेहरूलाई अल–ममदानी अस्पतालमा लगिएको उद्धारकर्ता मोहम्मदले जानकारी दिए। ‘उनीहरूलाई लक्षित घरको भग्नावशेषमुनिबाट बाहिर निकालिएको थियो,’ उनले भने। केही पीडितका आफन्तका अनुसार उद्धारकर्ताहरूले अझै पनि भग्नावशेषमुनि बाँचेका व्यक्तिहरूको खोजी गरिरहेका छन्।
गत वर्ष ६ अक्टोबरमा युद्ध सुरु भएदेखि गाजाका २४ लाख मानिसमध्ये अधिकांश कम्तीमा एकपटक विस्थापित भएका छन्।