दीक्षान्त समारोहमा स्नातक तहबाट नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिल तहका ६३ र विद्यावारिधि (पिएचडी)का १२२ विद्यार्थी सहभागी
त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा शनिबार विभिन्न तहका २२ विद्यार्थीले गोल्ड मेडल प्राप्त गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री केपी ओलीले ‘टपर’हरूलाई प्रमाणपत्र र मेडल प्रदान गरे ।
मेडलसहित प्रमाणपत्र प्राप्त गरेका टपरहरूले ठुलो शैक्षिक जनशक्ति बिदेसिने र उतै पलायन हुने अवस्थाप्रति चिन्ता जनाएका छन् । टपरमध्ये पनि कोही स्वदेशमै बस्ने र कोही विदेश पढ्न जाने योजनामा छन् । विदेशमा पढेर उक्त ज्ञान सदुपयोग गर्न स्वदेश फर्किने पनि कतिपयको चाहना छ ।
प्रतीकराज जोशी अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर टपर हुन् । उनले नेपालमै रहेर परराष्ट्र मन्त्रालयमा काम गर्ने योजना बनाएका छन् । ‘मैले पढेको विषय नेपालको कूटनीतिक तथा अन्तर्राष्ट्रिय नीतिसँग सम्बन्धित छ । विदेशमा गएर यसलाई पूरा गर्न सक्दिनँ । तर, विदेश जाने ट्रेन्ड बढिरहेको छ । यद्यपि, अवसर सिर्जना गरियो भने विदेश गएका पनि स्वदेश फर्किन सक्छन्,’ उनले भने, ‘गाउँमा युवा मानिस नै छैन । खेतबारी बाँझो हुन थालिसल्यो । यही हिसाबमा युवा विदेश जाने हो भने भविष्यमा राम्रो हुँदैन । युवा बाहिर जानुको मुख्य कारण आर्थिक अवसर र समाजिक कारण पनि होला ।’
चेतना कुँवर पत्रकारिता विभाग स्नातकोत्तर टपर हुन् । उनको योजना पनि नेपालमै बस्ने छ । ‘म यहीँ बस्ने र यहीँ काम गर्ने योजनामा छु । अहिले पनि नेपालमै मिडिया क्षेत्रमा काम गर्दै आएकाले विदेश जाने सोच बनाएकी छैन,’ उनले भनिन्, ‘नेपालमा पनि थुप्रै अवसर छन् । आफूले पढेका कुरा व्यवहारमा लागू गर्न सक्नुपर्छ ।’
कानुन संकायमा स्नातक तह (एलएलबी) टपर सिजन बोहरा अहिले पनि अधिवक्ताको हैसियतमा काम गर्दै छन् । उनी स्वदेशमै सरकारी सेवामा लाग्ने सोचमा छन् । ‘अधिवक्ताका रूपमा काम गर्दै छु । आगामी सोच पनि स्वदेशमै सरकारी सेवामा लाग्ने र यहीँ के गर्ने छ,’ उनले भने, ‘आफू जागरुक हुने हो भने नेपालमा पनि अवसर छन् । सिस्टम त बिस्तारै फेरिँदै जाने हो । मिहिनेतीहरू स्वदेशमै बसेर केही गरौँ भन्न चाहन्छु ।’
सिला क्षेत्रीले वनस्पतिशास्त्र केन्द्रीय विभागबाट स्नातकोत्तरमा गोल्ड मेडल प्राप्त गरिन् । पढ्दा धेरै मिहिनेत गर्दा नै नतिजा सोचेजस्तो आएको उनको अनुभव छ । थप अध्ययनका लागि विदेश जाने सोच रहे पनि फर्किएर स्वदेशमै केही गर्ने उनको चाहना छ । ‘मेरो भोलिको योजना रिसर्च र टिचिङ गर्ने छ । यसबाहेक एक्सपोजर लिन र हुन विदेश जानुपर्छ जस्तो लाग्छ । विदेश जाने र सिक्ने कुरा पनि सकारात्मक हो । तर, विदेशबाट फर्किएर यहीँ केही गर्नुपर्छ भन्ने सोच छ,’ उनले भनिन् ।
अर्थशास्त्र विभागमा स्नातकोत्तर टपर श्रीज्या काफ्ले पिएचडीका लागि विदेश जाने सोचमा छिन् । तर, विदेशमा सिकेको ज्ञान स्वदेशमै फर्किएर फैलाउने योजना छ । ‘पिएचडीका लागि विदेश जाने मेरो योजना छ । तर, म विदेशमै बस्ने होइन, पढेर स्वदेशमै फर्किन्छु,’ उनले भनिन्, ‘विदेशको शिक्षाको सिस्टम कस्तो छ भन्ने जान्न मन लागेको छ । देश र परिवारको मायाले पनि म विदेश बस्दिनँ ।’
मास्टर अफ बिजनेस स्टडिज (एमबिएस)को गोल्ड मेडल रेविका भण्डारीले हात पारिन् । उनी पनि नेपालमा भविष्य देखेकी एक सफल विद्यार्थी हुन् । ‘नेपालमै बस्छु, एमफिल गरेर पिएचडी गर्न मन छ । यस मेडलले मलाई गौरव प्रदान गरेको छ । पहिलेभन्दा नेपालको शिक्षा, व्यवसायलगायत क्षेत्रमा राम्रो भइसक्यो । केही कमीकमजोरी पनि होलान्, तर नेपालमै बसेर आफूलाई केही गर्न सक्ने बनाउन सक्छौँ । विदेश गएर पढे पनि नेपालमै आउनुपर्छ भन्ने मान्यता राख्छु । म अरूलाई पनि यही आग्रह गर्न चाहन्छु,’ उनले भनिन् ।
रसायन शास्त्रमा एमएस्सी टपर सुशील पोख्रेललाई पनि स्वदेशमै बस्न मन छ, तर यहाँको परिस्थितिले मन दोधार पारेको छ । क्षमताअनुसारको अवसर यहाँ नभएको उनको बुझाइ छ । सरकारले क्षमतावान् मानिसलाई देश छाडेर बाहिर जानुपर्ने बाध्यता नपारोस् भन्ने उनको सुझाव छ । ‘मेरो पनि मनस्थिति त नेपालमै बस्ने छ, तर यहाँको परिस्थिति त्यति सकारात्मक छैन । यहाँ क्षमताअनुसारको अवसर छैन । सरकारले टपरहरूलाई यहाँ टिकाउने वातावरण पनि गरेको खासै देख्दिनँ । आफ्नै देशमा क्षमताको कदर होस् र विदेश जान नपरोस् भन्ने त हरेक विद्यार्थी र युवाहरूमा हुन्छ, तर यहाँ सिस्टम अलि बसेको छैन । राजनीतिक पहुँच भएकाले बढी सुविधा पाउँछन्,’ उनले भने, ‘क्षमताअनुसारको सीप र अवसर पाउने हो भने धेरै युवा विदेश पलालयन हुने अवस्था रहँदैन । सरकारले क्षमतावान् मानिसलाई देश छाडेर बाहिर जानुपर्ने बाध्यता नल्याओस् ।’ गोल्ड मेडल प्राप्त गर्नेमा छात्रभन्दा छात्रा धेरै छन् । २२ मध्ये १७ छात्रा र पाँच मात्रै छात्र छन् । संकाय, विषय र विभागबाट उत्कृष्ट स्कोर ल्याउनेलाई मेडल प्रदान गरिएको हो ।
दीक्षान्त समारोहमा स्नातक तहबाट नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिल तहका ६३ र विद्यावारिधि (पिएचडी)का १२२ विद्यार्थी सहभागी थिए । यसपटक दीक्षित हुनयोग्य विद्यार्थी (उत्तीर्ण विद्यार्थी) ७४ हजारभन्दा बढी रहे पनि १४ हजार ३०७ विद्यार्थीले मात्र दीक्षान्त समारोहमा सहभागी हुन फारम भरेका थिए । गत वर्ष दशरथ रंगशालामै भएको समारोहमा १२ हजार विद्यार्थी दीक्षित भएका थिए । सहभागी विद्यार्थीले गाउन, टोपी, स्कार्फ लगाएर राखिएका रंगशालाका स्टलबाट सर्टिफिकेट लिए । तर, पिएचडी, एमफिल र संकाय तथा विभाग टपरलाई त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्रीले सर्टिफिकेट र मेडल प्रदान गरे ।
भिडियो
दीक्षितहरूलाई प्रधानमन्त्रीको आग्रह–प्राप्त ज्ञानलाई देशको समृद्धिका लागि प्रयोग गर्नुस्
प्रधानमन्त्री ओलीले त्रिविबाट दीक्षितहरूलाई आफूले प्राप्त गरेको ज्ञानको प्रयोग स्वदेशमै गर्न आग्रह गरे । उनले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान् हुँ भन्ने कुनै घमन्ड नगरी विनयशील हुन पनि आग्रह गरे ।
‘आफैँसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यावहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ ।’
समारोहमा प्रमुख अतिथि अर्थशास्त्री डा. रामप्रकाश यादवले जीवनमा संघर्ष र इमानदारितालाई पछ्याउन सकेमा सफलता हासिल हुने बताए । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालयका क्याम्पसहरू एकापसमा गाभ्ने नीति लिइएको बताउँदै त्रिविको शैक्षिक गुणस्तर थप सुधार गरिने बताए ।