निर्माणाधीन ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा स्थानीयहरू आन्दोलित भएका छन् । आफ्ना ११ बुँदे माग तत्काल पूरा गर्न अल्टिमेटम दिए पनि आयोजनाले बेवास्ता गरेको भन्दै उनीहरूले अडिट टुका सबै काम ठप्प पारेका हुन् ।
अडिट टु निर्माण गर्दा विगु गाउँपालिका वडा नम्बर २ मौरेका १० घरपरिवार जोखिममा परेका संघर्ष समितिका सहसंयोजकसमेत रहेका मौरेका स्थानीय अमृतकुमार आचार्यले बताए । उनले अडिट टुबाट आफ्नो बस्ती ५० मिटर भित्रै पर्दा पनि आयोजनाले बेवास्ता गरी निर्माणकार्य गरेकाले आन्दोलनमा उत्रिएको बताए ।
टनेलबाट गौरीशंकर गाउँपालिका– ८, खारेको मन्थली, तातोपानी, टाकापु र लाकुरसिंहका गरी झन्डै सय घरपरिवारसमेत आंशिक जोखिममा पर्ने भन्दै तत्काल समाधानको उचित निकाश नभई काम अघि बढ्न नदिने संघर्ष समितिको अडान छ ।
मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै आयोजनासँग पटक–पटक आग्रह गर्न पनि बेवास्ता गरेकाले माग पूरा नहुन्जेल अडिट टुका सम्पूर्ण काम सुचारु गर्न नदिने उल्लेख छ ।
तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका कम्पनी सचिव हरि भट्टराईले स्थानीयका जायज माग पूरा हुने बताएका छन् ।
उनले दुईवटा स्थानीय तहका ७ वटा वडा मुख्य प्रभावित क्षेत्र भएकाले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै सामाजिक विकासको बजेट खर्च गर्न छलफल भइरहेको बताए । आयोजनामा जायज मागबारे छलफल भइरँहदा स्थानीयले हतारो गरेको उनको भनाइ छ ।