नेपाल क्रिकेट संघ (क्यान)ले आगामी २१ पुसदेखि जय ट्रफी ‘एलिट कप’ डे क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । क्यानका संस्थापक पूर्वअध्यक्ष जयकुमार नाथ शाहको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । जय ट्रफी ३ माघसम्म जनकपुर र पर्सामा हुनेछ । क्यानले यस प्रतियोगितालाई घरेलु संरचना बलियो बनाउने आधारका रूपमा लिएको छ । घरेलु खेलाडीबिच हुने जय ट्रफीमा नाम चलेका क्रिकेटर सहभागी हुनेछैनन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाएका कप्तान अनिलकुमार साह, नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँगै आसिफ शेखले जय ट्रफीमा प्रतिस्पर्धा नगर्ने पक्का छ । क्यानले सन् २०२४ को फेब्रुअरीमा काठमाडौंमा भएको प्रधानमन्त्री कपको शीर्ष चारमा रहेका टोलीलाई जय ट्रफीमा सहभागी गराएको प्रवक्ता छुम्बी लामाले बताएका छन् ।
‘जय ट्रफीमा चार टोली सहभागी हुन्छन्, यसको आधार गत फेब्रुअरीमा काठमाडौंमा भएको प्रधानमन्त्री कपलाई मानेका छौँ, त्यसमा शीर्ष चार स्थान बनाएका टोलीबिच प्रतिस्पर्धा हुनेछ,’ लामाले भने । प्रधानमन्त्री कपमा १० टोलीले भाग लिएका थिए । नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, बागमती तथा मधेश प्रदेशले शीर्ष चारमा स्थान सुरक्षित गरेका थिए । रोहित र आसिफले प्रधानमन्त्री कपमा एपिएफबाट खेलेका थिए । एपिएफ शीर्ष चारमा पर्न नसक्दा अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका राम्रा खेलाडीले जय ट्रफी गुमाएका हुन् । एपिएफबाट प्रतिस्पर्धा गरेका लोकेश बम, सन्दीप जोरा तथा सुमित महर्जनले पनि प्रतियोगिता गुमाएका छन् ।
दीपेन्द्रसिंह टी–२० मा सहभागी हुँदै
पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टी–२० फर्म्याटमा दीपेन्द्रसिंहले अलराउन्ड प्रदर्शन गरिरहेका छन् । आइसिसीको टी–२० अलराउन्डर वरीयतामा उनी दोस्रो स्थानमा छन् । दीपेन्द्रसिंहकै अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको एनपिएलमा उपविजेता बनेको थियो । प्रतियोगितामा उनी नेपाली खेलाडीमध्ये उत्कृष्ट भएका थिए । उनले ६० लाखको कार पाए ।
प्रधानमन्त्री कपको विजेता नेपाल पुलिस क्लब हो । प्रतियोगिताका दौरान नै दीपेन्द्रसिंह युएईमा हुने अन्तर्राष्ट्रिय लिग टी–२० (आइएलटी) मा सहभागी हुनेछन् । आइटिएल गल्फ जायन्ट्सले उनलाई रिटेन गरेको हो । टी–२० आइएलटी खेल्नुपरेका कारण घरेलु क्रिकेटमा दमदार प्रदर्शन गरिरहेका दीपेन्द्रसिंहले जय ट्रफी गुमाउने भएका हुन् ।
पुलिसले उनी नहुँदा पनि राष्ट्रिय टोलीका कुशल भुर्तेल, आरिफ शेख, करण केसी र ललित राजवंशीको साथ पाउनेछ । एनपिएलमा ललित राजवंशी उत्कृष्ट बलर बनेका थिए । उनले प्रतियोगितामा १७ विकेट लिएका थिए । यसैगरी, करणले काठमाडौं गुर्खाजलाई एनपिएलमा पाँचौँ स्थान दिलाउन स्तरीय प्रदर्शन गरे । यद्यपि, भुर्तेलको प्रदर्शन भने टी–२० मा सन्तोषजनक छैन । ।
घाइते छन् एनपिएल च्याम्पियन अनिल
गत ६ पुसमा जनकपुरले एनपिएलको उपाधि जित्दा कप्तान थिए अनिलकुमार साह । एनपिएल दौरान अनिल चोटग्रस्त भएका थिए । जसकारण उनले एनपिएलको प्लेअफ तथा फाइनल खेलसमेत गुमाए । घाइते भएर मैदानबाहिर बस्नुअघि उनले जनकपुरलाई प्लेअफमा सहजै स्थान सुरक्षित गराए । उनी तत्काल मैदानमा आउन सक्ने अवस्था छैन । तत्कालै रिकभर हुने नदेखेपछि मधेश प्रदेशले अनिललाई बाहिर राख्दै टोली घोषणा गरेको छ । प्रधानमन्त्री कपमा मधेश प्रदेश १२ अंकका साथ चौथो भएको थियो । प्रधानमन्त्री कपमा अनिलले मधेशबाट ओपनिङ गरेका थिए । मधेशको कप्तानी हरिशंकर साह हुन् ।
मधेशलाई जय ट्रफीमा मायांक यादव, पवन सराफल तथा अभिषेक तिवारीको साथ रहनेछ । यसैगरी, प्रधानमन्त्री कपमा छैटौँ स्थानमा रहेको सुदूरपश्चिमका शेर मल्ल र नरेन साउदले पनि जय ट्रफी गुमाउनेछन् । शेर र नरेनले एनपिएलमा प्रभावशाली प्रदर्शन गरेका थिए । नरेनले एनपिएलमा आफ्नो पहिलो खेलमै पाँच विकेटको प्रदर्शन गरेका थिए । युवा खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा नरेन समावेश भएका थिए ।
बागमतीको टोली घोषणा
बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । बागमतीले गत साता प्रारम्भिक टोलीमा १८ खेलाडीलाई बोलाएको थियो । एक साताको प्रशिक्षणपछि बागमतीले टोली बनाएको हो । रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डलले स्थान बनाउन सकेनन् । सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापामगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन बिके, सूर्यांशु कोइराला, नन्दन यादव, प्रतीक श्रेष्ठ र तिलकराज भण्डारीले स्थान बनाएका छन् ।
कस्तो हो डे क्रिकेट
नेपालले लामो इनिङ्सको क्रिकेट खासै खेलेको छैन । नेपालले अन्तिमपटक डे क्रिकेट खेलेको सन् २०१९ मा थियो । त्रिवि क्रिकेट मैदानमा विश्वकै पुरानो मानिएको मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)सँग नेपालले प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल २०८ रनले पराजित भयो । त्यसयता नेपाली क्रिकेटरले डे क्रिकेट प्रतियोगिताको अनुभव लिएका छैनन् । क्यानले पहिलोपटक घरेलु क्रिकेटमा डे खेल आयोजना गर्न लागेको हो । यस किसिमको फर्म्याटमा फाइनल खेल तीनदिवसीय हुनेछ । उपाधि भिडन्तमा रहने दुई टोलीले लगातार तीन दिनसम्म प्रतिस्पर्धा गर्नेछन् । फाइनलबाहेक अन्य खेल दुईदिवसीय हुनेछ ।
जय ट्रफीमा नेपाल पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेशले भाग लिनेछन् । प्रतियोगितामा सबै टोलीले एक–अर्कासँग समान एक खेल खेल्नेछन् । त्यसपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको पहिलो खेल २१ पुसमा मधेश र बागमतीबिच जनकपुरमा हुनेछ ।