प्रविधिको इतिहासमा जुमसँग परिचित हुने पहिलो पुस्ताको उमेर समूहलाई जेन–जी भनेर ठम्याइएको छ । अत्यन्तै महत्वाकांक्षी, जुझारू, प्रगतिशील, जिज्ञासु अनि स्वतन्त्र विचारधाराजस्ता गुण विकास गरेका जेन–जी समूहका व्यक्तिहरू हरेक क्षेत्रका हरेक तह र तप्कामा विस्तारित छन् । सार्वजनिक प्रशासनमा छुट्ने कुरै भएन ।
सार्वजनिक प्रशासनले राष्ट्र र समाजको बृहत्तर पक्षलाई आफ्नो कार्यक्षेत्रमा समेट्छ । प्रशासन संयन्त्रमार्फत नै सरकारले आफ्नो राजकाज सञ्चालन गर्छ । करिअर स्थायित्व, सामाजिक प्रतिष्ठा, अवसर, शक्ति–अभ्यासजस्ता विशेषताका कारण पनि यसतर्फ आमआकर्षण हुने नै भयो । लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदनअनुसार गत आव ०८०/८१ मा कुल सिफारिस भएका दुई हजार ६८८ उम्मेदवारमा एक हजार ९०८ जना अर्थात् ७०.९८ प्रतिशत ३० वर्षमुनिका छन् । यो तथ्यांकले निजामती प्रशासनमा जेन–जीको बलियो उपस्थिति झल्काउँछ । निजामती सेवामा योग्य जनशक्ति सिफारिस गर्न लोकसेवा आयोगले लिने प्रतियोगितात्मक परीक्षाको नतिजामा कसले कम उमेरमा आफ्नो नाम कायम गर्न सफल हुने भन्ने बढ्दो होडबाजीबाट सार्वजनिक प्रशासनमा पनि यो समूहको आकर्षणको अड्कल काट्न सकिन्छ । अर्थात् सार्वजनिक प्रशासनमा जेन–जीको उपस्थिति र पहुँच उल्लेख्य र प्रगतिशील छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृतदेखि सिंहदरबारका मन्त्रालयमा शाखा–महाशाखासम्म, सार्वजनिक सेवाको राजस्व प्रशासन, आर्थिक प्रशासनदेखि नियामक निकायसम्म मात्र होइन, अन्तर्राष्ट्रिय मामिलाका क्षेत्रहरूसम्म यो समूहको पहुँच उत्साहजनक देखिन्छ ।
प्रशासनमा जेन–जीको कार्यशैली
जेन–जी प्रविधि युगमा जन्मिएका मानिसको समूह हो । प्रविधिमा पनि जुमजस्तो पछिल्लो उपजको साक्षी यसले कार्यशैलीमा समेत अत्याधुनिकताको खोजी गर्छ । ‘म्यानुअल’भन्दा पनि ‘कम्प्युटराइज्ड’ रूपमा कार्य गरी छिटो, छरितो र त्रुटिरहित सेवा दिन चाहनु यसको विशेषता नै हो । प्रक्रियागत ढिलासुस्तीलाई यथाशक्य कम गरी नागरिकलाई सक्दो छिटो र सहज रूपमा सेवा दिनुमा यसले सन्तुष्टि भेट्छ भने परम्परागत कार्यसंस्कृतिलाई केही न केही सुधार गर्नैपर्ने मानसिकता राख्छ ।
परिमाणात्मकभन्दा पनि गुणात्मक अनि ‘टु–डु–लिस्ट’भन्दा बढी प्रभावकारी ढंगले कार्य गर्नतर्फ जोड दिने हुँदा यसले कार्यालयमा आज मैले कति समय बिताएँ भन्दा पनि कार्यालयमा बिताएको समय कत्तिको उत्पादनमूलक भयो भन्नेतर्फ बढी चासो राख्छ । नागरिकलाई प्रत्यक्ष सेवा दिने कार्यालयहरूमा कार्यरत जेन–जीले उनीहरूलाई ग्राहकलाई जस्तो सम्मानजनक व्यवहार गर्न खोज्छ । नम्रता, स्वागतपूर्ण व्यवहार, सहजीकरण, स्पष्ट निर्देशन अनि हार्दिकता यसले सेवाग्राहीलाई अक्सर देखाउने र देखाउन चाहने व्यवहार हुन् । त्यस्तै, परम्पराकै रूपमा बसेको प्रक्रियामुखी प्रणालीलाई जेन–जीले झन्झटिलो रूपमा लिन्छ भने छोटो प्रक्रियाद्वारा नतिजामुखी अनि प्रभावकारी र मितव्ययी रूपले कसरी कार्य गर्न सकिन्छ भनेर खोजी गर्छ । प्रविधि र कम्प्युटरको सहायताले काम गर्न सके छरितो र सहज मात्र होइन, बढी विश्वासिलोसमेत हुने मान्यता राख्छ ।
नागरिक जागरुकता र सचेतना अनि मिडियाको प्रभावले लालफित्ताशाही कार्यप्रणालीमा धेरै सुधार भएको छ । त्यसभन्दा पनि अगाडि गएर जेन–जीले आजको काम (कामको प्रकृति हेरी) सम्पन्न गर्नलाई सकेसम्म भोलिसम्म पनि पर्खनुपर्ने वातावरण नहोस्, तत्काल समाधान या पूर्णता पाओस् भन्नेतर्फ जोड दिन्छ ।
कामको सिलसिलामा कार्यालयभित्रका कर्मचारी या कर्मचारी र सेवाग्राहीबिचको दोहोरो र स्पष्ट सञ्चारको अपेक्षा जेन–जीले राख्छ भने चाप्लुसी र नातावाद/कृपावाद नभई क्षमताको मूल्यांकन र कदर होस् भन्ने चाहन्छ । नेपालको राजनीतिक संयन्त्रले खोज्ने ‘एस म्यान’ नभई आफ्ना विचार राख्ने र त्यसको डिफेन्ससमेत गर्ने स्वभावको छ जेन–जी । विश्वमा प्रचलित अभ्यासहरूसँग सहजै परिचित हुन सक्ने साधन–स्रोतले सम्पन्न भएका कारण त्यस्तै अभ्यासहरू यहाँ पनि प्रयोग गर्नुपर्ने विषयमा जोड दिन्छ र कार्यवातावरणमा जनशक्ति व्यवस्थापन र सांगठनिक व्यवहारका नवीन सिद्धान्तहरूको खोजी गर्छ यो पुस्ताले ।
राज्य र नागरिकबिचको दूरी
सरकारप्रति नागरिकले पूर्ण भरोसा गर्न सकेको देखिँदैन । डरलाग्दो रूपमा देखिएको युवा पलायन यसैको सूचक हो । जेन–जीको एउटा जमात राज्यदेखि विश्वास मारेर देशबाटै भागिरहेछ भने अर्काे जमात राज्यप्रतिको विश्वास फिर्ता ल्याउने प्रयत्नमा छ । त्यही उद्देश्य पछ्याउँदै एउटा ठुलो हिस्साले सार्वजनिक प्रशासनलाई रोजेको छ, बाँकी अन्य विभिन्न क्षेत्रमा फैलिएर जुटिरहेका छन् ।
नम्रता, सेवाभाव, मिलनसार, नयाँपनको खोजी, सुधारजस्ता राष्ट्रसेवकमा अपेक्षित गुण जेन–जीमा देखिन्छ भने केही विशिष्ट गुणमा प्रशिक्षित गराउनु आवश्यक छ । उपयुक्त वातावरण, अवसर, साथ र मार्गदर्शन पाए नागरिकलाई सन्तुष्ट बनाउन सक्ने खुबी यो पुस्ताले राख्छ । राज्यले नागरिकका कार्यक्रम तयार पार्दा राज्यका हरेक कुना–काप्चा, क्षेत्र–तह, वर्ग, जाति, लिंग, धर्म, पेसा, संस्कृतिलगायतका समग्र पक्षलाई ध्यान दिनुपर्ने हुन्छ । त्यसका लागि जेन–जीको जागरुकता, अध्ययनशील, खोज–परायण विशेषताले कार्यक्रमलाई नागरिकमैत्री, समय–सान्दर्भिक र प्रविधिमैत्री बनाई नागरिक सन्तुष्टि प्रवद्र्धनमा ठुलो योगदान पु¥याउन सक्छ । सरकारले तयार गर्ने नीति तथा कार्यक्रममा नागरिकमैत्री उद्देश्य र आवश्यकतासँग तालमेल हुने गरी प्रक्रिया, समय, माध्यम, पहुँच आदिलाई सरलीकृत गरेर सेवा प्रवाह गर्नु आवश्यक छ ।
नागरिक र राज्यबिचको दूरीलाई घटाउन पुराना पुस्ताको ज्ञान र अनुभवमा जेन–जीको नयाँपन, प्रविधिसम्बन्धी ज्ञान र समसामयिक अभ्याससम्बन्धी अनुभवको सम्मिश्रण जरुरी छ।
सेवा दिन बसे पनि आफू ‘मालिक हुँ’ भन्ने भावको व्यवहार गर्ने परम्परागत सोचयुक्त रुढ चरित्रले नागरिकमा राज्यप्रतिको हीनताबोध पैदा गरेको छ । त्यसदेखि जेन–जी आफैँ निराश छ । यसलाई सुधार गरेर नागरिकमाझ राज्यप्रतिको अपनत्व विकास गर्न जेन–जीले ध्यान दिनु आवश्यक छ । यसप्रति ऊ सजग पनि देखिन्छ । परम्परागत कार्यशैलीको परिमार्जन, विश्वव्यापी असल अभ्यास र समयानुकूल सेवा प्रवाह आजको आवश्यकता बनेको छ । उदीयमान नवीनतम प्रविधि र विश्वव्यापी अभ्याससँग सचेत आजका नागरिक राज्यको सेवा प्रवाहलाई त्यसैसँग तुलना गरेर सोहीअनुरूपको सेवा प्रवाहको माग राख्छन् । त्यस्तो मागको पूर्ति गरी नागरिक र राज्यबिचको दूरीलाई घटाउन पुराना पुस्ताको ज्ञान र अनुभवमा जेन–जीको नयाँपन, प्रविधिसम्बन्धी ज्ञान र समसामयिक अभ्याससम्बन्धी अनुभवको सम्मिश्रण जरुरी छ ।
प्रणाली र नागरिक सेवाबिच सम्बन्ध–सेतु
सार्वजनिक प्रशासन नागरिक सेवालाई व्यवस्थित गर्न सिर्जित अवधारणा हो । यद्यपि, यसभित्रका प्रणाली तथा व्यवहारगत कमजोरीका कारण नागरिक सेवाले हालसम्म पनि परिपूर्णता प्राप्त गर्न सकेको छैन । प्रणाली एकातर्फ अनि नागरिक सेवाको विषय अर्काेतर्फ अल्झिरहेको अवस्थालाई चिरेर प्रणाली र नागरिक सेवालाई दुई अलग पाटो नभई एक–अर्काको परिपूरक बनाउनु आवश्यक छ । यसो गर्न प्रणालीगत सुधार गरी नागरिकको मानसपटलबाट गुमेको राज्य र प्रणालीप्रतिको विश्वास र अपनत्वलाई फिर्ता ल्याउनु जरुरी छ । यसका निम्ति जेन–जी योग्य मात्र होइन, उत्तिकै उत्सुक र लालायित पनि छ ।
सदाचार र नैतिकताजस्ता विषयलाई केवल शपथ र लेखनमा मात्र होइन, व्यवहार र दिनचर्यामा नै उतार्नु आवश्यक छ । सूचनाको हक र पारदर्शिताका विषयमा अझै पनि अघिल्लो पुस्ताले खुलेर कार्यान्वयनका लागि तत्परता देखाउन सकेको अवस्था छैन । जेन–जीले ती पक्षहरूलाई नागरिक सेवाको वाञ्छनीय अवयव मान्छ र तिनको खुलेर प्रयोगसमेत गर्ने योग्यता र इच्छा दुवै राख्छ । नागरिक समानता र समताका विषयले पनि वेलाबखत न्याय नपाइरहेको उदाहरण हामीले पाइरहेका छौँ । जुन नागरिकलाई प्रणालीबाट अलग गराउने महत्वपूर्ण तत्वको रूपमा रहेको छ । नागरिकका भावना, आकांक्षा र आवश्यकतालाई प्रणालीले हरेक परिस्थितिमा छुन नसक्नुले नै नागरिक सेवा प्रणालीबाट अलग देखिन गयो । यी पक्षहरूलाई समेटेर कार्यसञ्चालन गर्नु आवश्यक छ । यसप्रति जेन–जी सजग र तत्पर हुनुपर्छ । त्यसका लागि ऊ तयार पनि देखिन्छ ।
परम्परागत कार्यसंस्कृतिमा जेन–जी तथा निकट समूहको उपस्थितिले ठुलो प्रभाव पारेका खबर हामीले वेलाबखत सुन्ने र भेट्ने गरिरहेकै छौँ । त्यस्ता असरले स्थायी रूप पाए नागरिकहरूका निम्ति सेवा प्रणालीको सुदृढीकरणले फड्को अवश्य मार्न सक्छ । तर, ठुलो संगठन संरचना, पदसोपान र बृहत् सञ्जालले जेलिएको हुँदा यसभित्रका अनेकौँ उल्झनका कारण त्यस्ता सकारात्मक प्रयासले समेत दिगोपना पाउन नसकेको अवस्था छ । प्रणाली र नीतिगत स्पष्टता तथा हरेक तह र तप्काको व्यवहारगत प्रयासले मात्र यसलाई सुल्झाउन सक्छ ।
जेन–जी आफैँमा समन्वयात्मक, सिकाइको भोको, जिज्ञासु अनि मिलनसार छ जुन गुणहरूले यसलाई अन्य समूहबाट अलग रहन दिँदैन । अझ सार्वजनिक प्रशासनमा त सहकार्य र समूह–कार्य अनिवार्यप्रायः नै छ । यस्तो अवस्थामा एक पुस्ता र अर्काे पुस्ताबिचको सहकार्य र अन्तर्घुलन अकाट्य छ । जेन–जी यो सबै कुराप्रति जानकार मात्र होइन, अघिल्लो पुस्ताबाट सिक्न र पछिल्लो पुस्तालाई मार्गदर्शन दिनसमेत उत्तिकै सिपालु र उत्सुक देखिन्छ । जेन–जीमा रहेको नवीन विचार, जोस र जाँगरलाई पुराना व्यक्तित्वहरूका अनुभव र ज्ञानसँग अनुकूल सम्मिश्रण गर्न सके नागरिक र प्रणालीबिचका अनेकौँ उल्झन सुल्झिने मात्र नभई दिगो रूपमा दुवै पक्षलाई जोडेर राख्न सकिन्छ ।
जेन–जीले के गर्न सक्छ ?
नयाँ जोस–जाँगर, उत्सुकताले भरिएको जेन–जी सार्वजनिक प्रशासनमा सकारात्मक प्रभाव पार्ने योजनाहरूसमेत बोकेर हिँडेको छ । सकारात्मक परिवर्तनका निम्ति केही गर्ने हुटहुटी तथा ज्ञान र प्रविधिसँगको पहुँचका कारण गरेर देखाउन पनि सक्छ । तर, यसका लागि उसलाई भूमिका, जिम्मेवारी र कर्तव्यबोध गराउनु आवश्यक छ । जेन–जीका विचारमा सेवालाई अझ प्रभावकारी बनाउन नागरिकलाई प्रत्यक्ष सेवा दिने मालपोत, नापी, स्थानीय तह, राजस्व र कर कार्यालय आदिमा १०–५ को समयलाई लचिलो बनाउन दुई–तीन सिफ्टमा कार्य विभाजन गरी व्यवस्थापन गर्न सकिन्छ । अझ यस्ता कार्यालयमा सर्वसाधारण आफैँले धाइरहनुपर्नेभन्दा पनि प्रविधिको प्रयोगमार्फत व्यक्ति उपस्थित हुन नपर्ने गरी सेवा दिन र लिन सक्ने ‘फेसलेस’ सेवा प्रणालीको विकास गर्न सकिन्छ । अप्रत्यक्ष रूपमा सेवा प्रवाह गर्ने विभाग, मन्त्रालय, महालेखा नियन्त्रक, महालेखापरीक्षकलगायतका केन्द्रीय स्तरका कार्यालयहरूले विभिन्न सफ्टवेयरमार्फत कार्य गर्छन् । त्यस्ता कार्यालयमा सम्भव हुने कार्यहरूलाई कार्यालयमा उपस्थित नभईकन पनि गर्न सकिने ‘वर्क फ्रम होम’जस्ता व्यवस्थालाई नियमन र अनुगमनका साथ लागू गर्न सकिन्छ । यसो गर्दा अझ ऊर्जावान् र स्फूर्त रूपमा जेन–जीले आफ्नो क्षमतालाई पूर्ण रूपमा उत्पादनमूलक बनाई सार्वजनिक प्रशासनको बढोत्तरीमा ठुलो योगदान पु¥याउन सक्छ ।
नीति र कानुनमा फरक परिवेशका बाह्य विषय मात्र नभई आफ्नै देश–परिवेशका सन्दर्भलाई मौलिक हिसाबमा समेट्नुपर्छ । त्यस्तै, राजस्व, परराष्ट्र, प्राविधिक क्षेत्र आदिमा अन्तर्राष्ट्रिय अभ्यासहरूलाई माटोसुहाउँदो रूप दिएर लागू गर्न सके ती अभ्यासहरू दिगो र सफल भई सार्वजनिक प्रशासनको सुदृढीकरणमा मद्दत पुग्छ । कार्यक्रम तर्जुमा अझै पनि पूर्तिमा आधारित नभई मागमा आधारित छन् जसले समाज र नागरिकको जनजीवनमा वाञ्छित परिवर्तन ल्याउन सकेका छैनन् । तिनलाई नागरिकको माग, आवश्यकता र समयअनुकूल हुने गरी तर्जुमा गर्नुपर्छ । त्यस्तै, सञ्चालित कार्यक्रमहरूको सफलतामापनमा खर्चलाई आधार नबनाई केही सूचकहरू निर्माण गरेर तिनको परिपूर्तिको हिसाबमा कार्यक्रमको सफलता र विफलताको टुंगो लगाउनुपर्छ ।
जेन–जीका दुर्बल पक्ष
जेन–जी प्रविधिको उत्कर्षमा जन्मे–हुर्किएको समूह हो । यसले कोभिड– १९ को महामारी झेलेको मात्र होइन, त्यस्तो विषम परिस्थितिमा भित्रिएको जुमजस्तो प्रविधिले कसरी अनेकौँ समस्याको एउटै हलका रूपमा कार्य ग¥यो भन्ने कुराको प्रत्यक्ष दर्शन गरेको छ । यस्ता प्लाटफर्महरू कोभिडको महामारी साम्य भएपश्चात् समेत उत्तिकै लोकप्रिय छन् । यिनबाट प्रभावित भएको जेन–जी सार्वजनिक प्रशासनका हरेक क्षेत्रमा समेत एआई, अटोमेसनलगायतका प्रविधिको अपेक्षा राख्छ । यसले म्यानुअल कार्यशैलीलाई त्यति सहजै र मनदेखि स्वीकार गर्न नसकेको अवस्था छ । नेपालको सार्वजनिक प्रशासनमा प्रविधिको विकास कोभिडयता अलि दु्रत गतिमा भएको त देखिन्छ । यद्यपि, विश्वव्यापी अत्याधुनिक प्रविधिको साक्षी भएको जेन–जी भर्खर बामे सर्दै गरेको नेपालको सार्वजनिक प्रशासनका प्रविधिगत प्रणालीहरूबाट सन्तुष्ट हुन सकेको अवस्था भने छैन ।
टिकटक, रिल्स, युट्युब, भ्लगजस्ता लोकप्रियता बढाउने एप्लिकेसनहरूको प्रयोगको उत्कर्षमै हुर्किएको उमेर समूह भएकाले सार्वजनिक प्रशासनमा पनि दिगोपना र प्रभावकारिताको ख्याल नगरी लोकप्रियतामूलक कार्य र विचार अघि ल्याउन सक्ने जोखिम जेन–जीमा छ । अहिलेको अव्यवस्थित र अनियमित मिडियाबाजीको युगमा यो समूहको खरोपना र काँचो विवेकका कारण आफ्नै वृत्तिविकाससमेत जोखिममा रहेको छ भन्दा अत्युक्ति हुँदैन ।
सार्वजनिक प्रशासनमा यसको उपस्थिति र पहुँच जति उत्साहजनक छ त्यति नै जोखिमपूर्णसमेत छ । चुनौतीपूर्ण कार्यप्रतिको आकर्षणले सुनिश्चित भविष्य, सम्मानजनक जीवनयापन र सामाजिक प्रतिष्ठालगायत मीठा सपना सजाएर सार्वजनिक प्रशासनमा प्रवेश गर्ने सबै जेन–जी यसको प्रणाली, कार्यशैली, कार्यवातावरण, प्रविधि, नीतिगत व्यवस्था आदिमा घुलमिल हुन सकिरहेको अवस्था छैन । कतिपयले मानसिक तनावबाट गुज्रिएर अनौठा र अविश्वसनीय क्रियाकलापमा संलग्न रहेका समाचारहरू पनि वेलाबखत आउने गरेका छन् । कतिपय भने आफ्ना अन्यत्रका ठुला–ठुला अवसरलाई बेवास्ता गरी सार्वजनिक प्रशासनप्रति आकर्षित भएर प्रवेश गर्दा छोटो समयमै यसले दिने लाभहरूदेखि असन्तुष्ट भई सेवाबाटै बाहिरिने अवस्था पनि छ। यस्ता प्रवृत्तिले सार्वजनिक प्रशासनको आर्थिक, व्यवस्थापनजन्यलगायतका समग्र पक्षमा प्रभाव पारी अन्ततोगत्वा नागरिक सेवामा नै प्रतिकूल असर पार्छन् । जति मिलनसार र सिकाइको भोको छ त्यति नै खरो स्वभाव र आफूलाई एकदमै बौद्धिक ठान्ने प्रवृत्ति पनि जेन–जीमा रहेको छ।
निष्कर्ष, विश्वमानचित्रमा नागरिकका आवश्यकताभन्दा पनि कानुनको पालनामा मात्र रमाउने आरोप सार्वजनिक प्रशासनलाई लाग्ने गरेको छ । यद्यपि, नेपालको परिप्रेक्ष्यमा भने जेन–जी केही हदसम्म सार्वजनिक प्रशासनप्रति आशावादी र आकर्षित नै देखिन्छ । त्यसैले उपयुक्त कार्यशैली, कार्यवातावरण, क्षमता र नतिजाको कदर तथा मूल्यांकनलगायतका पक्षहरूलाई समेटेर जेन–जीका उदासीनतालाई ओझेलमा पारी सार्वजनिक प्रशासनतर्फ आकर्षित गर्नु चुनौतीपूर्ण छ । यद्यपि, नागरिक सेवाको स्तरवृद्धिमार्फत सकारात्मक सामाजिक परिवर्तनका निम्ति यो अत्यावश्यक छ । अन्यथा जेन–जीको प्रतिभा पलायनतर्फको हिस्सा नै भारी पर्न गई भविष्यमा सार्वजनिक प्रशासन सञ्चालनका निम्ति जनशक्तिकै अभाव खड्किने अवस्था नहोला भन्न पनि सकिँदैन।
(गौतम महालेखापरीक्षकको कार्यालयकी लेखापरीक्षण अधिकारी हुन्)