नेपाल वायुसेवा निगम (नेवानि)का दुईवटै ट्विनअटर विमान बिग्रिएर उडान ठप्प भएपछि आन्तरिकतर्फ कार्यरत पाइलट र इन्जिनियरसहित करिब डेढ सय कर्मचारी कामविहीन बनेका छन् । निगमका ट्विनअटर ९एन–एबिटी २३ जेठदेखि र ९एन–एबियू ७ पुसदेखि उडान आवर सकिएर ग्राउन्डेड गरिएका छन् ।
निगमले दुईवटा ट्विनअटर विमानबाट सातामा देशका १८ गन्तव्यमा उडान गर्दै आइरहेको थियो । उडान ठप्प भएपछि इन्जिनियर, पाइलट, प्राविधिकदेखि सेल्स र सपोर्ट स्टाफसम्म कामविहीन बनेका हुन् । निगममा आन्तरिकतर्फ १९ इन्जिनियर, करिब ५० प्राविधिक (टेक्निसियन र सपोर्ट स्टाफ), स्थायी र अस्थायी गरी १५–१६ जना पाइलट तथा एयरहोस्टेस र उपत्यकाबाहिर करिब ४० कर्मचारी कार्यरत रहेको स्रोतको भनाइ छ । ट्विनअटर उडाउनका लागि अस्थायी पाइलट पनि छन्, मासिक सातदेखि १० लाखसम्म तलब खाने पाइलट जहाज ग्राउन्डेड भएसँगै फुर्सदिला भएका छन् । निगममा पाइलटदेखि कर्मचारीसम्म कन्ट्र्याक्टमा काम गर्ने धेरै छन्, जसलाई मासिक करोडौँ तलब–भत्तामा खर्चिनुपर्छ ।
निगमले दुईवटा ट्विनअटर विमानबाट विराटनगर, नेपालगन्ज, डोल्पा, सिमिकोट, दाङ, सुर्खेत, मुगुको ताल्चा, जुम्ला, बाजुरा, रुकुम, थामखर्क, खानीडाँडा, भोजपुर, फाप्लु, ताप्लेजुङ, रेसुङ्गा, इलाम, रुम्जाटारलगायत विमानस्थलमा उडान गर्दै आइरहेको थियो । निगमले नेपालगन्जलाई बेस बनाएर पश्चिम क्षेत्रका सातवटा गन्तव्यमा उडान गर्न मात्रै ११ कर्मचारी कार्यरत छन् । स्रोतका अनुसार विराटनगरमा आठ वर्षदेखि उडान नभए पनि पाँचजना कर्मचारी कार्यरत छन् । विराटनगरबाट भोजपुरमा उडानतालिका राखिए पनि नियमित उडान भने नभएको स्रोत बताउँछ । सुकेटार, भोजपुर, रुकुम, ताल्चा, फाप्लु, खानीडाँडामा तीन–तीन, बाजुरा, सिमिकोट, जुम्लामा दुई–दुई र गुल्मीको रेसुंगामा एकजना कर्मचारी कार्यरत रहेको स्रोत बताउँछ ।
नेतृत्वको अक्षमताले आन्तरिक उडान ठप्प
निगममा ट्विनअटर विमानका लागि जगेडा इन्जिन नभएका होइनन् । तर, सबै इन्जिन बिग्रिएका र समयमै मर्मतमा चासो नदिइएको हुँदा फेरबदल गर्ने इन्जिन नभएर दुईवटै ट्विनअटर ग्राउन्डेड गर्नुपरेको हो । यदि निगम नेतृत्व नियमित उडानमा प्रतिबद्ध हुन्थ्यो भने बिग्रिएका इन्जिन पहिल्यै मर्मत वा सट्टापट्टा गरेर जगेडा राखिनुपर्ने निगमका एक कर्मचारीले बताए ।
निगम व्यवस्थापनले पहिलो जहाज ९एन–एबिटी ग्राउन्डेड भएको साढे ६ महिनापछि बल्ल इन्जिन सट्टापट्टा र मर्मतका लागि मेन्टेनेन्स, ओभरहल अर्गनाइजेसन (एमआरओ) नियुक्त गरेको छ । इजरायलको एमआरओ कम्पनी बेट सेमेस इन्जिन लिमिटेडसँग ४५ दिनभित्र ओभरअल इन्जिन दिने र निगमका इन्जिन मर्मतका लागि लैजाने सहमति भएको बताइन्छ । तर, निगम नेतृत्वको कार्यशैलीका कारण अझै डेढ–दुई महिना ग्राउन्डेड जहाज नियमित उडानमा फर्किने सम्भावना नरहेको स्रोतको दाबी छ । निगमसँग भएका ६ थान इन्जिन वर्षौँदेखि मर्मत गरेर नराखेकै कारण जगेडा इन्जिन अभावले आन्तरिक उडान ठप्प भएको हो ।
निगमले पहिलोपटक बोलपत्र आह्वान गर्दा अन्तिम दिन २ सेप्टेम्बर २०२४ सम्म बेट सेमेस र मेटर ट्रेडिङ कम्पनीले प्रस्ताव पेस गरेका थिए । बेट सेमेस नेपाल नागरिक उड्डयन प्राधिकरण, इसा, अमेरिकन उड्डयनबाट मान्यताप्राप्त विमान र इन्जिन मर्मत गर्ने संस्था हो । इजरायली कम्पनी बेट सेमेससँग निगमले विगतमा पनि विभिन्न समयमा इन्जिन सट्टापट्टा गरिसकेको छ । मेटर कम्पनी ८ साउन ०७५ मा आयात–निर्यातको उद्देश्यले स्थापना भएको नेपाली कम्पनी हो, जोसँग इन्जिन मर्मतको अनुभव छैन । यसले सेटिङ मिलाएर निगमसँग मात्र कारोबार गर्दै आएको छ । पहिलोपटकको टेन्डरमा सेमेस बाहिरिएपछि निगम व्यवस्थापनले टेन्डर नै रद्द गरेको बताइन्छ । दोस्रोपटकको टेन्डरमा पुरानै बेट सेमेसले मात्र प्रस्तावसहित ठेक्कामा सामेल भयो । मेटर ट्रेडिङलाई ठेक्का दिने प्रपञ्च असफल भएपछि दुई–तीन दिनमा सक्नुपर्ने प्रस्ताव मूल्यांकनको कामलाई दुई महिना लगाइएको स्रोत बताउँछ । निगम व्यवस्थापन सेटिङमा लागेपछि समयमै एमआरओ छनोट हुन नसकेको र जहाज अनिश्चितकालीन ग्राउन्डेड भएका छन् ।
ग्राउन्डेड विमानको कथा
९एन–एबिटी २३ जेठमा काठमाडौंबाट गुल्मीको रेसुंगा विमानस्थल उडानका क्रममा इन्जिनमा समस्या आएर ग्राउन्डेड गरिएको थियो । ९एन–एबिटीको अन्तिम उडान नेपालगन्जबाट काठमाडौं गरेको थियो । मौसमका कारण जहाज पोखरा डाइभर्ट गरी काठमाडौं ल्याइएको थियो । जहाजको इन्जिनको आन्तरिक मर्मत गर्दा इन्जिन सिज भएको देखियो । निगमसँग मौज्दात इन्जिन नहुँदा जहाज अहिलेसम्म ग्राउन्डेड अवस्थामै छ । स्रोतका अनुसार सो जहाजका इन्जिन तथा पार्टपुर्जाहरू झिकेर अर्को जहाज ९एन–एबियूमा राखिएको छ ।
निगमले एउटा जहाज ग्राउन्डेड भएपछि अर्को जहाज जेठदेखि नै उडान आवर सेभिङ रणनीतिमा उडान गरिरहेको थियो । त्यो पनि उडान आवर सकिएर ७ पुसदेखि ग्राउन्डेड अवस्थामा छ । यो जहाजको दायाँतर्फको इन्जिनको फ्लाइट आवर समाप्त भएर ग्राउन्डेड गरिएको हो । २१ डिसेम्बरमा ९एन–एबियूमा जेठमा ग्राउन्डेड भएको जहाजको इन्जिन राखेर उडान गर्ने कोसिस भएको थियो । निगम नेतृत्वको दबाबका कारण प्राविधिक टोलीले फिट टु फ्लाइट दिएको थियो । तर, जहाज रनअप गरेर हेर्दा फेरफार गरेको इन्जिनमा मेटालिक चिप्स देखिएपछि ९एन–एबियूले उडान गर्न सकेन । बिग्रेको इन्जिन जडान गरेर जहाजलाई फिट टु फ्लाइट दिनु हवाई सुरक्षाका हिसाबले गम्भीर लापरबाही हो ।
निगममा हवाई सुरक्षामा खेलाँची भएको यो पहिलोपटक भने होइन । यसअघि ट्विनअटरकै अधिकतम ३६ सय घण्टासम्म उडाउन सकिने पिटी६–२७ नामक इन्जिनलाई निगमले चार सय घण्टा थपेर चार हजार घण्टासम्म उडाएको स्रोतको भनाइ छ । निगमको उडानतालिकाअनुसार चार सय घण्टा समय थप गर्दा करिब अढाई महिनाभन्दा बढी उडान गर्न सकिन्छ । युरोपियन युनियन (इयू)ले हवाई सुरक्षामा कैफियत देखाउँदै वर्षौँदेखि कालोसूचीमा राखिरहेका वेलामा यस्ता गतिविधिले थप असर पर्ने देखिन्छ । निगम व्यवस्थापनले सेटिङमा मेटर ट्रेडिङलाई इन्जिन मर्मत तथा सट्टापट्टाको जिम्मेवारी दिने मनसायकै कारण एमआरओ छनोटमा ढिलाइ भएको स्रोतको दाबी छ । यो कम्पनीले अरू कम्पनीसँग डिल गरेर जहाजको इन्जिनको सप्लाई गर्ने उद्देश्य राखेको थियो । स्रोतका अनुसार हालै मात्र निगम व्यवस्थापनले एक ब्याच सिनियर कर्मचारी हुँदा–हुँदै जुनियर सन्तोष पाण्डेलाई कस्टोमर सर्भिस डाइरेक्टर बनाएको छ ।