एन्फा महिला राष्ट्रिय लिगको अन्तिम चरणका खेल बिहीबारदेखि सातदोबाटोको एन्फा कम्प्लेक्समा सुरु भएको छ । अन्तिम चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सर्लाहीको बागमती युथ क्लबलाई २–० ले हरायो । आर्मीको जितमा विमला चौधरीले दुई गोल गरेकी थिइन् । उनले पहिलो तथा दोस्रो हाफमा समान एक गोल गरेकी हुन् । खेलको २६औँ मिनेटमा विमलाले आर्मीलाई १–० को अग्रता दिलाइन् । विमलाले खेलको ६३औँ मिनेटमा आर्मीलाई २–० को अग्रता दिलाइन् । खेलमा थप गोल नहुँदा विमलाकै दुई गोलको सहयोगमा आर्मी विजयी भयो ।
विमलाले पहिलो गोल गर्दा विमला विकको लामो पास सदुपयोग गरेकी थिइन् । बागमतीकी गोलरक्षक सुजाता तामाङ अगाडि बढेको फाइदा लिँदै विमलाले उत्कृष्ट फिनिसिङ गरिन् । उनले दोस्रो गोल डिबक्सभित्रबाट हेडिङका रूपमा गरिन् । प्रतिस्पर्धामा बागमतीका गोलरक्षक र डिफेन्डरले आर्मीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । बागमतीको आक्रामण कमजोर हुँदा आर्मीले त्यसको फाइदा लिएको थियो । बागमतीका डिफेन्डरले आर्मीको राम्रा गोल प्रयासलाई विफल पारे ।
प्रतिस्पर्धामा बागमतीले आर्मीविरुद्ध गतिलो पोस्ट चार्ज गर्न सकेन । बागमतीको फिनिसिङ पक्षमा कमजोरी देखिएको थियो । खेलमा बागमतीकी कप्तान दिव्या स्माइली मगर खेलको ७९औँ मिनेटमा घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन् । उनलाई तत्काल अस्पताल लगिएको थियो । कप्तान नै घाइते हुँदा बागमतीलाई आगामी खेलमा समस्या पर्न सक्छ । आर्मीले भने कमजोर प्रतिद्वन्द्वी बागमतीविरुद्ध महत्वपूर्ण खेलाडी दीपा शाही र अमिशा कार्कीविना खेलेको थियो । महिला राष्ट्रिय लिगको पहिलो चरणमा आर्मीले बागमतीलाई ३–० ले हराएको थियो ।
अहिले अन्तिम चरणमा पाँच टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । कोशी प्रदेशले आर्थिक कारण देखाउँदै अन्तिम चरणको लिगमा सहभागी नहुने निर्णय गरेपछि बागमतीले मौका पाएको हो । पहिलो चरणमा बागमती छैटौँ स्थानमा थियो । दोस्रो चरणमा कुल २४ खेल हुनेछन् । २० खेलपछि चार टोलीले प्लेअफका लागि स्थान बनाउनेछन् । १६ माघसम्म चल्ने अन्तिम चरणमा नेपाल पुलिस, साबिक विजेता एपिएफ, आर्मी, वालिङ नगरपालिका र बागमती छन् ।
पुनमको पुनरागमन
बागमतीविरुद्ध आर्मीकी पुनम जर्घामगरले पनि कमब्याक गरेकी छिन् । उनले बागमतीविरुद्ध आर्मीको कप्तानीसमेत गरिन् । चोट र शान्ति मिसनका कारण पुनम लामो समय मैदानबाहिर रहिन् । बागमतीविरुद्धको खेलमा पुनमले राम्रो प्रदर्शन गरेको प्रशिक्षक कृष्णसिंह ठगुन्नाले बताए । ‘पुनम अहिले लयमा रहेको र पहिलेभन्दा राम्रो खेलिरहेको आभास भएको छ,’ ठगुन्नाले भने । पुनमले पछिल्लोपटक सन् २०२२ को दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप खेलेकी थिइन् ।
म्याच एक्सपोजर नहुँदा खेलमा असर पर्यो : कृष्णसिंह ठगुन्ना, प्रशिक्षक, आर्मी
पहिलो चरणको लिग सकेपछि खासै खेल भएन । यद्यपि, हामीले दैनिक दुईपटक प्रशिक्षण गर्यौँ । म्याच एक्सपोजर नहुँदा खेलमा केही असर परेको देखिन्छ । दोस्रो चरणको खेल सुरु हुनुअगाडि खेलाडीहरूले थप खेल पाउँदा अझ योभन्दा राम्रो नतिजा आउने थियो । तर, खेलाडीले बिस्तारै आफ्नो लय समाप्ते विश्वास छ । पहिलो खेल अलि गाह्रै भयो । अहिले सहभागी टोली हेर्दा हामी नै उपाधि दाबेदार हौँ ।
कम गोल खाने योजना सफल भयो : सुनीलकुमार श्रेष्ठ, प्रशिक्षक, बागमती
हामीले सकेसम्म कम गोल खाने योजना बनाएका थियौँ । यो योजना सफल भएको छ । सुरुदेखि नै विपक्षीलाई रोक्ने र कम गोल खाने रणनीति थियो । लिगका लागि जम्मा १५ दिनको तयारी थियो । आर्मीसँग राम्रो खेल्यौँ । खेलको नतिजाबाट खुसी छु । लिगमा विदेशी खेलाडी राख्दैनौँ । सकेसम्म घरेलु खेलाडीलाई पहिलो प्राथमिकतामा राख्छौँ ।