मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ पौष २१ आइतबार ११:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार ११:o९:oo

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।  

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशको पूर्वी भू–भागमा साधारणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधारणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहनेछ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

‘तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ,’ उनले भनिन्, ‘बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।’

पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मंगलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।     
     
काठमाडौंको न्यूनतम तापक्रम बढ्यो  

शनिबारको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम केही वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन भएको छ ।

शनिबार ५.९ डिग्री सेल्सियस मापन भएको थियो । राति काठमाडौंको आकाशमा बादल लागेको हुनाले न्यूनतम तापक्रम थोरै बढेको मौसमविद् महर्जनले बताइन् ।

न्यूनतम तापक्रम बढेकाले काठमाडौंमा आज तुलनात्मक रूपमा बिहान कम चिसो महसुस भएको छ । गत मंसिर २९ गते काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस पुगेको थियो ।