एक अध्यापकलाई भिक्षु चु लाईको शिक्षामा पटक्कै विश्वास थिएन । त्यसैले, उनले एक दिन चुको अपमान गरे । तर, तिनै अध्यापककी पत्नी भने चुकी भक्त थिइन् । उनले जब आफ्ना पतिले चुको अपमान गरेको सुनिन्, उनी निकै दुःखी भइन् । साथै, उनलाई आफ्ना पतिदेखि रिस पनि उठ्यो । उनले आफ्ना अध्यापक पतिलाई सम्झाइन् र हप्काइन् पनि । अवस्था बिग्रँदै गएपछि पतिले सोधे– त्यसो भए अब के गर्नु ठिक होला त ? उनको जिज्ञासा सुनेपछि पत्नीले चु लाईकहाँ गएर माफी माग्ने सल्लाह दिइन् ।
अध्यापक माफी माग्न त चाहँदैनथे, तर पत्नीको गनगन सुन्नुभन्दा भिक्षुसित माफी माग्नु नै ठिक ठानेर उनी मन्दिरमा पुगे र चु लाईसित मात्र दुई शब्दमा भने– माफ पाऊँ ! तर, चुले भने– म तिमीलाई माफ गर्न सक्दिनँ, जाऊ आफ्नो काम गर । चुले माफी नदिएपछि के गर्दा ठिक होला भनेर अध्यापकले निर्णय गर्न सकेनन् । घर फर्केर उनले यही कुरा पत्नीलाई बताए । पतिको कुरा सुनेपछि पत्नी स्वयं चुको आश्रममा पुगिन् र गुनासो गर्दै भनिन्– मेरा पति आफ्नो गल्तीमा निकै लज्जित हुनुहुन्थ्यो । उहाँ यहाँ हजुरसित माफी माग्न आउनु पनि भएको थियो । तर, हजुरले अलिकति पनि दया देखाउन सक्नुभएन, किन ?
चु लाईले भने– मेरो मनमा तिम्रो पतिप्रति कुनै प्रकारको क्रोध कहिल्यै थिएन, अहिले पनि छैन र भोलि पनि रहनेछैन । तर, तिम्रा पति साँच्चै लज्जित थिएनन् भन्ने मलाई थाहा थियो । यस्तोमा उनलाई मप्रति रिसाइरहन दिनु नै ठिक हुन्छ । उनको क्षमायाचना स्विकार्दा हामीबिचको सम्बन्धमा झुटो मिठास त आउने थियो । तर, यसले तिम्रा पतिको क्रोधलाई झनै बढाउने थियो ।