कानुनले पेट्रोलियम पदार्थको ढुवानी र आपूर्तिमा हडताल निषेध गरेको छ । तर, पेट्रोलियम ट्यांकरचालकहरूले आफ्नो सुविधा वृद्धिको निजी स्वार्थ पूरा गर्न आयल निगमलाई दबाब दिँदै इन्धन ढुवानीमा अवरोध गर्ने प्रयास गरेका छन् ।
आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा भारतको बरौनीबाट पेट्रोल ओसार्ने र अमलेखगन्ज डिपोबाट पेट्रोलपम्पसम्म तेल लैजाने ट्यांकरचालकहरूले निजी सुविधा वृद्धिको माग राख्दै बुधबार बिहानबाट ढुवानीमा अवरोधको प्रयास गरेका छन् । तर, स्थिति नियन्त्रण गर्न स्थानीय प्रशाशनले प्रहरी परिचालन गरिसकेको छ ।
१६ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले पनि आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेशलाई सक्रिय बनाइसकेको छ । जसकारण पेट्रोलियम पदार्थको आपूर्ति र वितरणमा कुनै पनि पक्षले अवरोध गर्न पाइँदैन ।
निगमको मधेश प्रादेशिक कार्यालय प्रमुख प्रलंकर आचार्यले ट्यांकरचालकलाई २ माघमा समस्या समाधानका लागि वार्तामा बोलाइसकेको र दिउँसोदेखि अवरोध हटाउने सहमति भएको जानकारी दिए । ‘हामीले वार्ताबाट समस्या समाधन गर्न खोजेका छौँ । चालकहरू पनि सहमत भएका छन्,’ उनले भने ।
अमलेखगन्ज डिपोमा पाइपलाइनबाट सबै पेट्रोलियम पदार्थ आयात हुने भएपछि बरौनीदेखि पेट्रोल ढुवानी गरिरहेका १०४ वटा ट्यांकर विस्थापनको जोखिममा छन् । ती ट्यांकरका सञ्चालक र चालकहरूले अन्य रुटमा काम गर्ने गरी ट्यांकरलाई व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका छन् ।
यता, पेट्रोलियम ट्यांकर व्यवसायी र पेट्रोलपम्प सञ्चालकहरूले समेत आयल निगमको केन्द्रीय कार्यालय पुगेर भाडादर र कमिसनदर वृद्धिको माग राखेका छन् । उनीहरूले माघ महिनाभित्र आफ्नो सुविधा वृद्धि नगरे १ फागुनबाट निगमका कार्यालय घेराउ गर्ने र कर्मचारीलाई कार्यालय प्रवेश गर्न नदिएर काममा समेत अवरोध गर्ने धम्की दिएका छन् ।