मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष २४ बुधबार o५:५९:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तिब्बततर्फको सगरमाथा प्रवेशद्वारमा शक्तिशाली भूकम्प : कम्तीमा १२६ को मृत्यु, १८८ भन्दा धेरै घाइते

पूर्वी र मध्यनेपालमा पनि ठुलो झड्का महसुस, १३ जना घाइते

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार o५:५९:oo

चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर कम्तीमा १२६ को मृत्यु भएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पमा १८८ भन्दा बढी घाइते भएका छन् । तिब्बतको सिगात्सेस्थित डिंग्री काउन्टीअन्तर्गत सोगो सहरलाई केन्द्र बनाएर गएको भूकम्पमा स्थानीय एक हजारभन्दा धेरै घर भत्किएका छन् । 

चाइना अर्थक्वेक नेटवक्र्स सेन्टर (सिएएनसी)ले भूकम्पको गहिराइ जमिनको सतहबाट १० किलोमिटरमुनि र शक्ति ६.८ म्याग्निच्युड मापन गरेको छ । युएस जियोलोजिकल सर्भेले भने ७.१ मापन गरेको थियो । स्थानीय चिनियाँ समय (नेपाली समयअनुसार बिहान ६ः५० बजे) अनुसार बिहान ९ः०५ बजे भूकम्प गएको थियो ।

चीनको विपत् प्रतिकार्य एकाइले उद्धार, राहत तथा पुनस्र्थापनाको कामलाई तीव्रता दिइसकेको छ । चिनियाँ जनमुक्ति सेनाले प्रभावित क्षेत्रमा २२ हजार थान राहत सामग्री पठाइएको छ भने एक हजार पाँच सयभन्दा धेरै स्थानीय अग्निनियन्त्रकसहित ठुलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको सिन्ह्वाले जनाएको छ । करिब ६२ हजार मानिसको आवादी रहेको डिंग्री सहर चीनतर्फबाट सगरमाथाको प्रवेशद्वार पनि हो ।

सिन्ह्वाका अनुसार त्यहाँ रहेको पन्चेन लामाको टासीहुन्पो गुम्बामा भने क्षति भएन । भूकम्प गएलगत्तै उद्धार तथा खोजी कार्यमा सक्रिय हुन सेनासहित सबै अधिकारीलाई राष्ट्रपति सी जिनपिङले निर्देशन दिएका थिए । केन्द्र सरकारले उपप्रधानमन्त्री झाङ गुओछिङलाई तिब्बत पठाउने निर्णय गरेको सिन्ह्वाले जनाएको छ ।

हाल भूकम्पीय क्षेत्रमा ३४ सय उद्धार टोली तथा ३४० जनाको मेडिकल टिमले काम गरिरहेको छ । खोज तथा उद्धार कार्य मंगलबार रातिसम्म जारी थियो । सिन्ह्वाका अनुसार भूकम्पलगत्तै चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैन्य कमान्डले दुई हेलिकोप्टर पठाएर खोज र उद्धार सुरु गरेको थियो । त्यसलगत्तै, चिनियाँ सशस्त्र जनप्रहरीको टोली तथा जनमुक्ति सेनाको पश्चिम थिएटर कमान्डको फरवार्ड कमान्ड पोस्टको टोली वाई २० सैन्य जहाज लिएर खोज र उद्धार अपरेसनमा दिनभर खटिएको थियो ।

तिब्बतमा गएको भूकम्पले नेपालमा पनि भौतिक क्षति गरेको छ । १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार सोलुखुम्बु र ओखलढुंगामा एउटा–एउटा घरमा पूर्ण क्षति पुगेको छ । त्यसबाहेक ओखलढुंगा,  सोलुखुम्बु, ताप्लेजुङ, सिन्धुपाल्चोक, रामेछाप र खोटाङमा १८ घरमा आंशिक र सामान्य क्षति पुगेको छ । काठमाडौं, बारा र काभ्रेमा १३ जना घाइते भएका छन् । बिहान भूकम्प जाँदा पूर्वी  र मध्य नेपालमा ठुलो झड्का महसुस भएको थियो । त्यसक्रममा घाइते भएकालाई प्रहरीले उद्धार गरेको हो ।

नेपालको ताप्लेजुङ र संखुवासभा जिल्लाको सीमा जोडिएको तिब्बत जिल्ला (काउन्टी) डिंग्रीमा गएको भूकम्प र जनधनको क्षतिप्रति नेपालले दुःख व्यक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रालयले भूकम्प प्रभावित तिब्बत क्षेत्रका चिनियाँ जनता र चीन सरकारप्रति सहानुभूति जनाएका छन् । 

एउटै भूकम्पको म्याग्निच्युड फरक किन ? भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीको विश्लेषण

नेपाली समयअनुसार मंगलबार बिहान ६:५० बजे तिब्बतको सिगात्सेस्थित डिंग्री काउन्टीअन्तर्गत सोगो सहरमा केन्द्रविन्दु भएर भूकम्प गयो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७, अमेरिकाको युनाइटेड स्टेट्स जियोलोजिकल सोसाइटीले ७.१ र चीनको चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले ६.८ म्याग्निच्युड भनेका छन् ।

किन फरक पर्‍यो भने भूकम्पको शक्ति विभिन्न प्रकारले मापन हुन्छ । पहिलो हो, भूकम्पको उद्गम विन्दुबाट उत्पन्न भएका तरंगहरू, जुन पृथ्वीभित्रबाट सतहसम्म आउँछन् । जस्तै, पी वेभ र एस वेभ जसलाई बडिवेभ म्याग्निच्युड भनिन्छ । यी तरंग पनि भूकम्पको केन्द्रविन्दुबाट रेकर्ड भएका भूकम्प मापन स्टेसनसम्मको दूरीमा निर्भर हुन्छन् । यदि भूकम्पको केन्द्रविन्दु नजिक रहेका स्टेसनमा रेकर्ड भएका तरंगबाट मापन गरिएको म्याग्निच्युडलाई लोकल म्याग्निच्युड (एमएल) भनिन्छ । दोस्रो,  भूकम्पपछि पृथ्वीको सतहमा उत्पन्न भई पृथ्वीको सतहबाट यात्रा गरी भूकम्प मापन स्टेसनमा रेकर्ड हुने । जसलाई सर्फेस वेभ भनिन्छ र यसको आधारमा मापन गरिनेलाई सर्फेस वेभ म्याग्निच्युड भनिन्छ ।

भूकम्प गएको स्थानबाट नजिकै (ताप्लेजुङ, सोलुखुम्बु, धनकुटा आदि) मा हाम्रा स्टेसन छन्, तीलगायतका स्टेसनहरूको डाटाबाट मापन भएको हो । हामीले रेकर्ड गरेको म्याग्निच्युड पनि लोकल म्याग्निच्युड हो, तर हाम्रो भूकम्प मापन सञ्जाल भूकम्पको केन्द्रविन्दुबाट एकातर्फ मात्र भएकाले केन्द्रविन्दु तथा म्याग्निच्युड त्यहाँको तुलनामा फरक आउनु स्वाभाविक हो । 

तेस्रो, भूकम्प जाँदा भूकम्पले दरार सरेको दूरी र यसरी चट्टानहरू सर्न लागेको बलको आधारमा मापन गरिएको म्याग्निच्युड जसलाई मोमेन्ट म्याग्निच्युड (एमडब्लु) भनिन्छ । यो सबैभन्दा रुचाइएको वा प्रयोग हुने म्याग्निच्युड पनि हो । यसैगरी, भूकम्पले कम्पन गराएको समयको आधारमा पनि म्याग्निच्युड मापन गर्ने गरिन्छ, जसलाई ड्युरेसन म्याग्निच्युड भनिन्छ ।

भूकम्पको केन्द्रविन्दु स्टेसन टाढा हुँदा भूकम्पका प्यारामिटरमा इरर बढी हुन्छ, म्यानुल्ली प्रोसेसिङ गरेकोभन्दा अटोमेटिक प्रोसेसिङको प्रयोग हुँदा पनि गुणस्तरमा फरक पर्दछ । नेपाललाई हल्लाएको भएर हामीले म्याग्निच्युड निकालेका हौँ । ०७२ को भूकम्पमा पनि यस्तै भएको थियो, हामीले ७.६, अमेरिकाले ७.८ र चीनले ८.१ म्याग्निच्युड भनेका थिए ।

अहिलेको भूकम्प चीनमा केन्द्रविन्दु भएर गएकाले चीनले भनेको आधिकारिक हो, तर अरू म्याग्निच्युड पनि सही हुन् । म्याग्निच्युड स्केल फरक हुन् । भूकम्पले कहाँ कति हल्लायो भन्नुको अर्थ म्याग्निच्युड फरक हुने होइन । भूकम्पले कति शक्ति निकाल्यो त्यही म्याग्निच्युड हो । म्याग्निच्युड ठाउँपिच्छे फरक हुँदैन । 

भूकम्पको भविष्यवाणी गर्न सकिँदैन । ठुलो भूकम्पपछि अझ ठुलो जान्छ वा ससानो भूकम्पपछि ठुलो भूकम्प जान्छ भन्ने पनि होइन । चीनमा ठुलो भूकम्प जानुअघि ३.३ म्याग्निच्युडको धक्का गएको थियो, जसलाई पूर्वकम्प भनिन्छ । तर, ०७२ को गोरखा भूकम्पअघि पूर्वकम्प गएनन् । ठुलो भूकम्प गइसकेपछि परकम्प भने गइरहन्छन् । चीनमा गएको भूकम्पपछि ४ म्याग्निच्युडमाथिका १० वटाभन्दा बढी परकम्प गइसकेका छन् ।