भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजना व्यवस्थापनमा ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिएका छन्। अलपत्र र रुग्ण आयोजनाका कारण विकास निर्माण रोकिन नहुने भन्दै उनले जुनसुकै कारणले रोकिएका भए पनि त्यस्ता आयोजनाहरूको व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएका हुन्।
सडक विभागमार्फत बुधबार मोरङको विराटचोकमा आयोजित आयोजना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी गाेष्ठीलाई सम्बोधन गर्दै मन्त्री दाहालले रुग्ण आयोजना व्यवस्थापन एवं बेरुजु फर्स्योटलाई समेत ध्यान दिन निर्देशन दिए। मन्त्री दाहालले भने, ‘कुनै ऐन, कानुनले समस्या पारेको छ भने हामीलाई भन्नुहोला, त्यसलाई समाधान गर्न मन्त्रालय लाग्छ। सरकारले काम गर्छ, तर अब योजना अवरुद्ध पार्ने कार्य मान्य हुँदैन।’ कतिपय सरकारी निकायहरूबिच नै समन्वय नहुँदा काममा ढिलाइ हुने गरेको उल्लेख गर्दै सडक, विद्युत्, खानेपानी, वनलगायत निकायबिच समन्वय गरी निर्माण कार्यलाई गति दिन उनले निर्देशन दिए।
मन्त्रालयका सचिव केशवकुमार शर्माले असल नियत राखेर दृढतापूर्वक कार्यसम्पादन गर्न भन्दै राम्रो नियतले काम गर्दा समस्या भए मन्त्रालयले सहजीकरण गर्ने बताए।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सडक संरचनाहरू निर्माण गर्दा सुरक्षा र दिगोपनालाई प्राथमिकता दिएको र सोही ढंगबाट काम गर्न निर्देशन दिए। मन्त्रालयले दिएको १७ बुँदे निर्देशन सार्वजनिक गर्दै उनले सो निर्देशनको पालना र कार्यान्वयनका आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने पनि जनाए।
कार्यक्रममा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख विनोदकुमार मौवारले मातहतका कार्यालयहरूमार्फत भएका कार्यसम्पादनबारे जानकारी दिँदै लक्ष्य हासिल गर्ने गरी कार्यसम्पादन भइरहेको बताए।