मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Wednesday, 08 January, 2025
भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी
मुख्य समाचार प्रिन्ट संस्करण

एउटै भूकम्पको म्याग्निच्युड फरक किन ?

 भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीको विश्लेषण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार o६:१o:oo

नेपाली समयअनुसार मंगलबार बिहान ६:५० बजे तिब्बतको सिगात्सेस्थित डिंग्री काउन्टीअन्तर्गत सोगो सहरमा केन्द्रविन्दु भएर भूकम्प गयो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७, अमेरिकाको युनाइटेड स्टेट्स जियोलोजिकल सोसाइटीले ७.१ र चीनको चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले ६.८ म्याग्निच्युड भनेका छन् ।

किन फरक पर्‍यो भने भूकम्पको शक्ति विभिन्न प्रकारले मापन हुन्छ । पहिलो हो, भूकम्पको उद्गम विन्दुबाट उत्पन्न भएका तरंगहरू, जुन पृथ्वीभित्रबाट सतहसम्म आउँछन् । जस्तै, पी वेभ र एस वेभ जसलाई बडिवेभ म्याग्निच्युड भनिन्छ । यी तरंग पनि भूकम्पको केन्द्रविन्दुबाट रेकर्ड भएका भूकम्प मापन स्टेसनसम्मको दूरीमा निर्भर हुन्छन् ।

यदि भूकम्पको केन्द्रविन्दु नजिक रहेका स्टेसनमा रेकर्ड भएका तरंगबाट मापन गरिएको म्याग्निच्युडलाई लोकल म्याग्निच्युड (एमएल) भनिन्छ । दोस्रो,  भूकम्पपछि पृथ्वीको सतहमा उत्पन्न भई पृथ्वीको सतहबाट यात्रा गरी भूकम्प मापन स्टेसनमा रेकर्ड हुने । जसलाई सर्फेस वेभ भनिन्छ र यसको आधारमा मापन गरिनेलाई सर्फेस वेभ म्याग्निच्युड भनिन्छ ।

भूकम्प गएको स्थानबाट नजिकै (ताप्लेजुङ, सोलुखुम्बु, धनकुटा आदि) मा हाम्रा स्टेसन छन्, तीलगायतका स्टेसनहरूको डाटाबाट मापन भएको हो । हामीले रेकर्ड गरेको म्याग्निच्युड पनि लोकल म्याग्निच्युड हो, तर हाम्रो भूकम्प मापन सञ्जाल भूकम्पको केन्द्रविन्दुबाट एकातर्फ मात्र भएकाले केन्द्रविन्दु तथा म्याग्निच्युड त्यहाँको तुलनामा फरक आउनु स्वाभाविक हो । 

तेस्रो, भूकम्प जाँदा भूकम्पले दरार सरेको दूरी र यसरी चट्टानहरू सर्न लागेको बलको आधारमा मापन गरिएको म्याग्निच्युड जसलाई मोमेन्ट म्याग्निच्युड (एमडब्लु) भनिन्छ । यो सबैभन्दा रुचाइएको वा प्रयोग हुने म्याग्निच्युड पनि हो । यसैगरी, भूकम्पले कम्पन गराएको समयको आधारमा पनि म्याग्निच्युड मापन गर्ने गरिन्छ, जसलाई ड्युरेसन म्याग्निच्युड भनिन्छ ।

भूकम्पको केन्द्रविन्दु स्टेसन टाढा हुँदा भूकम्पका प्यारामिटरमा इरर बढी हुन्छ, म्यानुल्ली प्रोसेसिङ गरेकोभन्दा अटोमेटिक प्रोसेसिङको प्रयोग हुँदा पनि गुणस्तरमा फरक पर्दछ । नेपाललाई हल्लाएको भएर हामीले म्याग्निच्युड निकालेका हौँ । ०७२ को भूकम्पमा पनि यस्तै भएको थियो, हामीले ७.६, अमेरिकाले ७.८ र चीनले ८.१ म्याग्निच्युड भनेका थिए ।

अहिलेको भूकम्प चीनमा केन्द्रविन्दु भएर गएकाले चीनले भनेको आधिकारिक हो, तर अरू म्याग्निच्युड पनि सही हुन् । म्याग्निच्युड स्केल फरक हुन् । भूकम्पले कहाँ कति हल्लायो भन्नुको अर्थ म्याग्निच्युड फरक हुने होइन । भूकम्पले कति शक्ति निकाल्यो त्यही म्याग्निच्युड हो । म्याग्निच्युड ठाउँपिच्छे फरक हुँदैन । 

भूकम्पको भविष्यवाणी गर्न सकिँदैन । ठुलो भूकम्पपछि अझ ठुलो जान्छ वा ससानो भूकम्पपछि ठुलो भूकम्प जान्छ भन्ने पनि होइन । चीनमा ठुलो भूकम्प जानुअघि ३.३ म्याग्निच्युडको धक्का गएको थियो, जसलाई पूर्वकम्प भनिन्छ । तर, ०७२ को गोरखा भूकम्पअघि पूर्वकम्प गएनन् । ठुलो भूकम्प गइसकेपछि परकम्प भने गइरहन्छन् । चीनमा गएको भूकम्पपछि ४ म्याग्निच्युडमाथिका १० वटाभन्दा बढी परकम्प गइसकेका छन् ।