बाक्लो हुस्सु र शीतलहरका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका- ४ खुर्सानी खोलामा बाक्लो हुस्सु लागेको र शीतलहर पनि चलेकाले बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहराले जानकारी दिए ।
राति साढे १ बजेदेखि बाटो दुईतर्फी नै अवरुद्ध हुँदा २५० भन्दा बढी सवारीसाधन जाममा परेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । चिप्लो बाटोका कारण ठुला र मालवाहक सवारीसाधान सञ्चालनमा निकै कठिनाइ भएको प्रहरीले जनाएको छ ।
सवारीसाधनको सहज आवागमनका लागि प्रयास भइरहेको भए पनि कठिनाइ भएको बोहराले बताए । पुस लागेदेखि नै तराईका जिल्लाहरूमा बिहान अबेरसम्म नै बाक्लो हुस्सु र शीतलहर चल्ने गरेको छ । यसको असर वृद्धवृद्धा, बालबालिकादेखि यातायातमा पनि परेको छ ।