बंगलादेशका ३३.९%, भुटानका ४२% र श्रीलंकाका ३८.३% पर्यटक बढे, भारतीय ०.७% घटे
भारतीय पर्यटक घट्नुका कारण
- भारतीय नागरिक सवार दुईवटा बस दुर्घटनामा २७ जनाको मृत्यु हुनु
- दुई साताको अन्तरमा एउटा जहाज र एउटा हेलिकोप्टर दुर्घटना हुनु
- अविरल वर्षाका कारण देशभरि बाढीपहिरो जाँदा आवागमन नै ठप्प हुनु
- पर्यटन बोर्ड महिनौँ सिइओविहीन हुनु, बोर्डले भारतमा प्रवर्द्धनात्मक कार्यक्रम गर्न नसक्नु
नेपाल घुम्न आउने भारतीय पर्यटक घटेका छन् । सन् २०२४ मा कुल पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढ्दा भारतीय पर्यटकको आगमन भने ०.७ प्रतिशतले घटेको हो । सन् २०२४ मा सार्क देशहरूबाट नेपालमा पर्यटक आगमन ५.९ प्रतिशतले वृद्धि भएको छ । सार्क क्षेत्रबाट एक वर्षमा चार लाख १७ हजार आठ सय ४५ भित्रिएका थिए । जसमा बंगलादेश, भुटान र श्रीलंकाबाट क्रमशः ३३.९ प्रतिशत, ४२ प्रतिशत र ३८.३ प्रतिशतको बढोत्तरी देखिएको छ । तर, भारतबाट आउने पर्यटक संख्यामा सन् २०२३ को भन्दा ०.७ प्रतिशतले कमी आएको पर्यटन बोर्डको तथ्यांक छ ।
सन् २०२३ मा तीन लाख २० हजारभन्दा बढी भारतीयले नेपाल भ्रमण गरेकोमा सन् २०२४ मा तीन लाख १७ हजार सात सय ७२ भारतीय घुम्न आएको पर्यटन बोर्डले जनाएको छ । बंगलादेश, चीन, अमेरिका र युरोपलगायत देशबाट पर्यटक बढ्दा भारतीयको आगमन घटेको पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । नेपाली पर्यटनको मुख्य सोर्स बजारबाटै कम पर्यटक घुम्न आएको उनको भनाइ छ ।
सन् २०२४ मा विभिन्न देशबाट ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक भित्रिएका छन् । यो संख्या अघिल्लो वर्ष सन् २०२३ को तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ पर्यटक भित्रिएका थिए । कुल पर्यटक आगमन सन्तोषजनक रहे पनि भारतीय र चिनियाँ पर्यटक आगमन अपेक्षित भएन । सन् २०१९ (कोभिड सुरु नहुँदै)को तुलनामा गएको वर्ष पर्यटक आगमन ९६ प्रतिशतले रिकभरी भएको पर्यटन बोर्डले जनाएको छ ।
नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने देशमा भारत र चीन जहिल्यै अग्रस्थानमा रहँदै आएका छन् । कोभिडयता भने चिनियाँ पर्यटक आगमन बढ्न सकेको छैन । चिनियाँलाई अमेरिकी पर्यटकले पछाडि पार्न थालेका छन् । अहिले भारतीयपछि सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट भित्रिएको तथ्यांक छ । गएको वर्ष भारतीय पर्यटक आगमन अकस्मात् घट्नुमा ठुला सडक दुर्घटना र बाढिपहिरो मुख्य कारण रहेको बोर्डका कार्यकारी प्रमुख जोशीको भनाइ छ । ‘सन् २०२४ मा विदेशी पर्यटक आगमन उत्साहजनक रहेको छ, पर्यटक आगमनमा पनि ९६ प्रतिशत रिकभरी भएको छ,’ उनले भने, ‘तर, यसैबिच भारतीय पर्यटक घटेका छन्, यदि भारतीय पर्यटक अपेक्षित मात्रामा भित्रिएको भए पर्यटक आगमन शतप्रतिशत रिकभरी हुने रहेछ ।’
यस्तै, सन् २०२४ मा चीनबाट एक लाख एक हजार आठ सय ७९ नेपाल भ्रमणमा आएका छन् । यो संख्या २०२३ को तुलनामा ६७.३ प्रतिशतले बढी हो । यस्तै, थाइल्यान्ड, जापान र दक्षिण कोरियाबाट क्रमशः १९.७ प्रतिशत, ३८ प्रतिशत, र १४ प्रतिशतले पर्यटक आगमन बढेको छ ।
भदौमा भारतको गोरखपुरबाट लुम्बिनी, पोखरा हुँदै काठमाडौं आइरहेको भारतीय नम्बर प्लेटको बस (तीर्थयात्री पर्यटक सवार) तनहुँको मस्र्याङ्दीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भए । असोजमा भारतीय तीर्थयात्री बोकेको भारतकै बस नवलपुरमा पल्टिँदा २३ जना घाइते भए । साउनमा दुई साताको बिचमा सौर्य एयरको जहाज र एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा धेरै धनजनको क्षति भयो । यस्तै, असोज दोस्रो साता परेको अविरल वर्षाका कारण देशभरि बाढिपहिरो जाँदा सडक यातायात नै ठप्प भएको थियो । जसले गर्दा धेरै पर्यटकीय गन्तव्यको आवतजावत पूर्ण रूपमा ठप्प भयो ।
युरोपियन पर्यटकमा वृद्धि
युरोपेली देशहरूबाट आउने पर्यटकको संख्या पनि बढेको छ । बेलायतबाट ५७ हजार पाँच सय ५४, जर्मनीबाट २९ हजार आठ सय एक, फ्रान्सबाट २५ हजार एक सय २६, इटालीबाट १४ हजार चार सय ७४, स्पेनबाट १३ हजार नौ सय ६८ र नेदरल्यान्ड्सबाट ११ हजार तीन सय ९३ पर्यटक भित्रिएका छन्, यो संख्या सन् २०२३ को तुलनामा क्रमशः ८.९ प्रतिशत, १०.५ प्रतिशत, ८.५ प्रतिशत, ११.८ प्रतिशत, १२.७ प्रतिशत र ६.३ प्रतिशतले वृद्धि भएको हो । युरोपबाट कुल पर्यटक संख्या दुई लाख ६ हजार आठ सय ४१ पुगेका छन्, जुन १०.४ प्रतिशत बढोत्तरी हो ।
अमेरिका र क्यानडाबाट पनि वृद्धि
२०२४ मा अमेरिकाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या एक लाख ११ हजार दुई सय १६ पुगेको छ, जुन १०.८ प्रतिशतको वृद्धि हो । क्यानडाबाट ९.४ प्रतिशतले बढेर १६ हजार ७४ पर्यटक भित्रिएका छन् । अस्ट्रेलियाबाट ४३ हजार नौ सय ८० र न्युजिल्यान्डबाट चार हजार दुई सय ३१ पर्यटक आए, जुन क्रमशः १३.४ प्रतिशत र १८.४ प्रतिशतको बढोत्तरी हो ।