गौशाला पिंगलास्थानस्थित गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन्। सँगै बसेका युवक भने फरार छन्।
शरीरमा चोटपटक नभेटिएको र मुखबाट फिँज निस्किएको देखिएपछि युवतीको मृत्यु विषसेवनबाट हुन सक्ने प्रहरीको भनाइ छ।
गौशाला पिंगलास्थानस्थित होटेल बागमतीको कोठा नं. ३०८ मा कागेश्वरी मनोहराकी २२ वर्षीया सुस्मिता खड्का बिहीबार बिहान मृत अवस्था फेला परेकी थिइन्। त्यसलगत्तै शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको थियो। नमुना संकलनपछि उनको बिहीबार नै अन्तिम दाहसंस्कार भइसकेको छ। विष आफैँ सेवन गरेकाे या अरू कसैले सेवन गराएको सम्बन्धमा भने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले पोस्टमार्टम रिपोर्ट नआई केही भन्न नसकिने बताए। उनले भने, ‘युवतीको शरीरमा चोट, पटक देखिएको छैन। मुखबाट फिँज निस्किएको हो कि जस्तो देखिन्छ। शवको पोस्टमार्टम रिपोर्ट नआई यसै भन्न सकिने अवस्था छैन।’
मृतक खड्का मंगलबारदेखि उक्त होटेलमा एक युवासँगै बस्दै आएकी थिइन्। घटनालगत्तै युवा फरार भएका छन्। उनी केही दिनअघि मात्रै जापानबाट फर्किएका थिए। प्रहरीले उनको खोजी गरिरहेको कार्यालयका एसपी जिसीले बताए।
उनले भने, ‘उनीसँगै एक युवा बसेको देखिन्छ। उनी अहिले सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको छ। उनलाई पक्राउ गरेपछि मात्रै कारण खुल्ला।’